पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न गण्डकी पर्यटनमन्त्री बस्यालको आह्वान

काठमाडौँ । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले अन्तर्राष्ट्रिय उडान भर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूलाई पोखरा विमानस्थलबाट नियमित उडान गर्न आह्वान गरेको छ ।

बिहीबार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्यालले पोखरा विमानस्थल उडानका लागि प्राविधिक रुपमा योग्य रहेको उल्लेख गर्दै यस्तो आह्वान गरेका हुन् ।

चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु—पोखरामा आज चार्टर उडान गरेको थियो । विहिवार बिहान वायुसेवाले छेन्दुबाट १२९ जना यात्रु लिएर पोखरामा अवतरण गरेको हो । साथै विमान बिहान साढे ११ बजे काठमाडौं हुँदै छेन्दु फर्किएको छ । वायुसेवाले छेन्दु—पोखरा—काठमाडौं नियमित उडान गर्ने बताइएको छ ।

उनले विमानस्थल प्राविधिक रुपमा ठिक र हवाई उडानका लागि योग्य प्रमाणित भइसकेको बताए । चीनको सिचुआन एयरलाइन्सको विमानले सफल अवतरण गरेसँगै विमानस्थल हरेक हिसाबले उडानका लागि योग्य प्रमाणित भएको उनले बताए ।

उनले भने ‘पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको दुई वर्ष भयो । तर अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । हुँदै नभएको पनि होइन । तर नियमित रुपमा उडान हुन सकेको अवस्था थिएन । यसरी विमानस्थल नचलेको अवस्थामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ठिक छैन, डाउन भएको छ लगायतका चर्चा परिचर्चा भइरहने गर्दथे । के हो त भने हामीले आजै सिचुआनबाट आएको अन्तर्राष्ट्रिय उडान त्यही पोखरामा अवतरण गरेर हामी सुरक्षित साथ फेरि काठमाडौं अवतरण गरेका छौं । आज प्रयोग गरेर प्रष्ट भएर देखियो । अब यहाँ कुनै दुबिधा रहेन । विमानस्थल एकदम ठिक र चलाउनका लागि पनि योग्य छ । विभिन्न कारणले हामीले अहिलेसम्म चलाउन सकेका थिएनौँ । आजको उडानबाट चलाउन ठिक भन्ने कुरा प्रमाणित भएको हुनाले म यहाँहरू सबैलाई मेरो मन्त्रालयको तर्फबाट धन्यावाद तथा बधाई दिन चाहन्छौ । र अन्तर्राष्ट्रिय उडानका लागि सक्षम र योग्य हवाई कम्पनीहरूलाई पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्न ठिक छ भन्नेकुरा प्रमाणित भएको हुनाले सबै कम्पनीहरूलाई आह्वान गर्न चाहन्छु ।’

कार्यक्रममा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरूको व्यापार बन्द भएको बताए । उनले अब पोखरा विमानस्थलबाट उडान सुरु गरेर अर्को व्यापारको थालनी गर्न जरुरी रहेको बताए । उनले दुई वर्षअघि नै निर्माण सम्पन्न भइसकेको विमानस्थल सञ्चालन गर्ने सवालमा कमीमजोरीहरु भएको स्वीकार गरे ।

उनले विमानस्थलको बारेमा अनेकन भ्रम र टिकाटिप्पणीहरुलाई चिर्न आवश्यक रहकोमा अन्तर्राष्ट्रिय उडान सफल भएसँगै सबै विवादहरू स्वतः खारेज भएको बताए ।

उनले भने ‘प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेको व्यापार बन्द भयो । अब हामीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेर अर्को व्यापार सुरु गर्नुपर्ने भयो । पोखरा विमानस्थल खासगरि २०३२ सालदेखि जग्गा अधिग्रहण गरेर राखिएको थियो । ४० वर्षसम्म पनि बन्न सकेको अवस्था थिएन । त्यसका लागि सरकार ४० वर्षपछि थप जग्गा अधिग्रहण ग¥यो । चीन सरकारको ऋण सहयोगमा विमानस्थल बन्यो । २०२३ जनवरी १ मा यो विमानस्थल विधिवत् रुपमा सञ्चालनमा पनि आयो । तर हामीले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्न नसकेको कुरो साचो हो । यसमा अनेक टीकाटिप्पणीहरू पनि भए । यस भ्रमलाई हामीले चिर्न आवश्यक थियो । अहिले अन्तर्राष्ट्रिय उडानहरू सफल ढंगले सम्पन्न भएपछि सबै विवादहरू खारेज भएको अवस्था छ ।’

कार्यक्रम आयोजक नाट्टाले अन्नपूर्ण, धौलागिरि लगायत विश्व विख्यात पदयात्रा मार्गहरूको प्रवेशद्वार पोखरा नै भएको उल्लेख गर्दै नियमित उडान सञ्चालन गर्नसके पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *