ओलीको एकल चाहनाले चलेको एमाले, फरक मत राख्नेलाई छैन स्थान !

ठूला नेतालाई ‘साइज’मा राख्न कारबाहीको ‘डण्डा’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रिय सचिवालय बैठक बुधवार (पुष १० गते) बस्यो । बैठकले लामो समयदेखी पार्टीमा महत्वपूर्ण योगदान दिएका डा.भीम रावललाई पार्टीको संगठित सदस्यताबाटै हटाउने निर्णय गर्‍यो ।

पार्टी हितविपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै हिँडेपछि रावललाई संगठित सदस्यताबाटै निष्काशित गरिएको नेकपा एमालेले जनाएको छ ।

सचिवालय बैठकले स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटि सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि भूमिकाबिहीन बनायो । बैठकले उनीहरुलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गर्‍यो ।

कीर्तिपुर स्थित एमाले पार्टी कार्यालय निर्माणका लागि विवादित व्यवसायी मिन बहादुर गुरुङबाट जग्गा दान लिन नहुने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि पार्टीले निलम्बन गर्ने निर्णय गरेको हो । यस विषयमा डा.रावलले पनि असन्तुष्टि भने जननाउँदै आएका थिए ।

गत असोजमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादु गुरुङले दिएको जग्गामा केन्द्रीय कार्यालय निर्माणका लागि शिलान्यास गरिएपछि स्थायी कमिटि सदस्य पाण्डेले आपत्ति जनाएकी थिइन् ।

त्यसबेला उनले व्यापारीबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिनु गलत भएको बताएकी थिइन् । उनले भनेकी थिइन्,“साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ,” ।

सचिवालय बैठकमा उनीहरुविरुद्ध कारबाही गर्ने निर्णयबारेको प्रस्तावमा केही नेताहरुले बैठकमै असहमति जनाएका थिए । अहिले कारबाही गर्दा बाहिर राम्रो सन्देश नजाने भन्दै नेताहरुले असहमति जनाएपनि ओलीको चाहनाका अगाडि कसैको केही पनि सीप चलेन ।

एमालेका पूर्व उपाध्यक्ष समेत रहेका डा.रावल पहिलेदेखी नै नेतृत्वसंग असहमति राख्दै आएका थिए । चितवनमा सम्पन्न दशौँ महाधिबेशमा रावल केपी शर्मा ओलीसंग अध्यक्षमा लडेका थिए ।

तर उनी ओलीसंग पराजित भए । एमालेले ओलीसंग अध्यक्षमा नलड्न सुझाउँदै उपाध्यक्षमा लड्न आग्रह गरेको थियो । तर,रावल अध्यक्षमै भिडेका थिए ।

ओलीको चाहनापछि उनीहरुमाथि कारबाही भएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ । नेतृत्वको कार्यशैलीप्रति कतिपय नेताका साथै कार्यकताहरु रुष्ट बनेका छन् ।  यस्ता निर्णयहरुकै कारण  पार्टी कमजोर बन्दै गइरहेको एमालेकै नेताहरु बताउँछन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमका कारण पार्टी कमजोर बन्दै गइरहेको राजनीतिक विश्लेषक बताउँछन् ।

डा.रावलले आफुलाई पार्टी सदस्यबाट हटाउने केपी शर्मा ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश,स्वेच्छाचारी र तानाशाही प्रवृत्ति रहेको बताए ।

‘नेकपा एमालेको निर्माण र विस्तारका साथै राष्ट्रियता,स्वाधिनता,समृद्धि,जनाधिकार,न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश,जनता,सुशासन,विधि,पद्धती,सदाचार,सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश,स्वेच्छाचारी र तानाशाही निर्णय हो,’डा.रावलले फेसबुकमा लेखेका छन् ।

सबै देशभक्त न्यायप्रेमी,सुशासन,सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिवद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा विश्वस्त रहेको उनले बताए ।

उनले भ्रष्ट,अनैतिक,फौजदारी मुद्धा लागेका,राष्ट्रिय एकता,अखण्डता,संस्कृति र एमाले विरोधी एवं विचौलिया र दलालहरुलाई काखी च्याप्नेले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा आश्चर्य नलागेको समेत डा.रावलले बताए ।

पार्टीले निलम्बन गरेपछि स्थायी कमिटि सदस्य विन्दा पाण्डेले व्यंग्यात्मक शैलीमा ६ महिनाका लागि पार्टीले छुट्टी दिएको बताइन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘हामी त पार्टी काममै थियौँ,नेताले ६ महिनाका लागि छुट्टी दिएको खबर सुनियो । यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नुपर्नेछ । यहाँहरुको सुझाव पाउ ल !’

यस्तै केन्द्रिय कमिटि सदस्य उषाकिरण तिम्सेनाले प१चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल गरेको बताइन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘तल्लो तहका आम कार्यकर्ता,तिनको लगाब,मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायत विरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।’

यता नेकपा एमालेले भने पार्टी हितविपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै हिँडेपछि रावललाई संगठित सदस्यताबाट निष्काशन गरिएको बताएको छ ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीलाई कमजोर बनाउने गरी भीम रावल अगाडि बढेपछि पार्टीले संगठित सदस्यताबाटै हटाएको हो ।

‘महाधिबेसनमा अध्यक्षमा उम्मेदवार हुनुभयो,उपाध्यक्षमा आग्रह गरिएको कुरालाई उहाँले मान्नुभएन । त्यसपछि केन्द्रीयष् सदस्यमा पनि नआएपछि हाम्रो बैधानिक व्यवस्था अनुसार सल्लाहकारमा रहनुभयो । त्यो सल्लाहकारको भूमिका पनि उहाँले पुरा गर्नुभएन,उपमहासचिव ज्ञवालीले भने,‘अभिव्यक्तिहरु पनि पार्टीलाई बलियो बनाउने भन्दा पनि कमजोर बनाउने हिसाबले आएको हुनाले उहाँलाई पार्टीको संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय गरिएको हो ।’

सचिवालय बैठकले स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटि सदीय उषाकिरण तिम्सेनाको जिम्मेवारी समेत खोसेको छ । डा.रावललाई पार्टीबाटै निष्काशन गरेको एमालेले पार्टीको भवन निर्माणको सन्दर्भमा विधानभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै पाण्डे र तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।

‘पार्टी स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटि सदस्य उषाकिरण तिम्सेनालाई हामीले स्पष्टीकरण सोधेका थियौँ । तर उहाँहरुले गल्ती स्विकारको नदेखिएपछि ६ महिनासम्मका लागि निलम्बन गरिएको हो,’उपमहासचिव ज्ञवालीले भने ।

राजनीतिक विश्लेषकहरुले एमालेले गरेको कारबाही बोल्ने स्वतन्त्रतामाथिको धक्का भएको बताएका छन् । एक राजनीतिक विश्लेषकले मकालुखबरसंग भने,‘नेकपा एमालेले तीन नेता (भीम रावल,विन्दा पाण्डे र उषाकिरण तिम्सेना) लाई गरेको कारबाही स्वतन्त्रतामाथिको धक्को हो जस्तो मलाई लाग्छ ।’

नेकपा एमालेभित्र आन्तरिक प्रजातन्त्र संगै वाक स्वतन्त्रा पनि हराएर गएको ती विश्लेषकले बताए । ‘नेकपा एमालेभित्र आन्तरिक प्रजातन्त्र हराएर गएको छ,उनले भने,वाक स्वतन्त्रता पनि हराएर गएको छ ।’

ओलीको दम्भ,निरंकुशता र स्वेच्छाचारीताका कारण पार्टी कमजोर बन्दै गइरहरेको ती राजनीतिक विश्लेषकले बताए । ती विश्लेषकका अनुसार पार्टी नेतृत्वको विरुद्धमा बोलेमा भीम रावल,विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जस्तै अवस्था आउने भन्दै कतिपय नेताहरु पार्टीभित्रै पनि ‘त्यै चुप मै चुप’को अवस्थामा रहेका छन् ।

राजनीतिक विश्लेषकले भने,‘भीम रावललाई त पार्टीले भित्तामै पुर्‍याएको छ । पाखा लगाइएका मान्छे हुन् उनी चाहीँ । सामान्य पात्र (नेता) लाई कारबाही गरेर पार्टीभित्रका ठूला पात्र (नेता) लाई चेतावनी दिएको हो अहिलेको कारबाहीले,ओलीको यही रबैया रहिरह्यो भने पार्टी धेरै नै कमजोर बन्दै जान्छ ।’

पार्टी हितकै लागि बोल्दा एमालेले कारबाही गरेको उनी बताउँछन् । जुनसुकै पार्टीभित्र पनि आन्तरिक प्रजातन्त्र,लोकतन्त्र बाँच्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *