खबर दिनभर : यी हुन् आजका शीर्ष समाचार

मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताउनुभएको छ । बिहीवार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताउनु भयो ।

उहाँले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भएपनि अहिले नेपालमा ३ सय भन्दा बढी बाघ रहेको बताउनु भयो । अरुले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अरुले ३० प्रतिशत जंगल राख्छ, हामीले भोकै बसेर ४७ राख्या छौँ, रेस्पेक्ट हुनुपर्दैन हाम्रो कन्ससनेसप्रति । त्यसमा कन्बिन्सेसन दिनुपर्दैन । हामीले भनिदिनुपर्छ दुनियाँलाई होइन भने हामी पनि ३० प्रतिशत राख्छौँ । बाँकी धान, गहुँ फलाउँछौँ, मज्जाले खाएर बस्छौँ । हामीलाई ३० प्रतिशत जंगलले श्वास फेर्न पुग्छ, अरुले हाम्रो चिन्ता नगर्ने हामीले मात्रै अरुको चिन्ता गर्नुपर्ने ? भनिदिनुपर्छ । हामी २००९ मा कोपनेगेन की कहाँ थियो बाघ सम्मेलन, त्यहाँ गयौँ । हामीसँग बाघ थिए ११० वटा की कति थिए । डबल गर्ने भनेर हामीले १० वर्षमा डबल गर्ने भन्यौँ । २०१९, २०२० तिर पुग्दा डबल बाघ चाहिन्थ्यो, २०१८ मा हामीसँग अढाइ सय भन्दा बढी बाघ भइसके । अहिले साढे ३ सय भन्दा बढी बाघ छन् । जंगलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ की भनेर हिँड्नुपर्छ । हामीले पनि चाहिने खालका काम गर्नुपर्छ । बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ । उपहार दिऔँ, हाम्रा मित्रहरुलाई । कोही बाज, कोही मयुर पालेका हुन्छन्, त्यस्ता जाबो चरा के पाल्नु, बाघ पाल्ने नि ढ्याप्प । विभिन्न देशलाई उपहार दिऔँ बाद्ध, खोर समेतै दिनुपर्छ भनेनि दिऔँ । तर जति भन्यो त्यति बाघ बढाउने भन्ने हुँदैन, कति लिमिट हो हाम्रो, हाम्रो वनको क्षमता त्यही अनुसार जानुपर्छ । मान्छे ख्वाएर बाघ पाल्न सकिँदैन । त्यो गल्ती गर्नु हुँदैन । मान्छे ख्वाएर बाघ पाल्ने ? अलिअलि खान्छ नि बाघ भएपछि भन्ने त्यस्तो हुँदैन । आफूलाई खायो भने के हुन्छ ? त्यो हेर्नुपर्‍यो नि ।’

प्रधानमन्त्री ओलीले नेपाललाई ३० प्रतिशत मात्रै जंगल भए पुग्ने उल्लेख गर्दै नेपालले गरेका कामको सही मूल्यांकन र सम्मान हुन नसके अरु देशका लागि जंगलको संरक्षण गर्न नसक्ने बताउनु भयो । उहाँले नेपाललाई ४७ प्रतिशत जंगल राखेको सम्मान र कदर नगरे ३० प्रतिशत मात्रै जंगल राख्ने र बाँकी भूभागमा अन्न उब्जाएर खाने बताउनु भयो । नेपालको अरुले चिन्ता नगर्ने तर नेपालले अरुको चिन्ता गरिरहनुपर्छ भन्ने नरहेको उहाँको भनाइ थियो ।

स्थानीय तहका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै मिलेर विपद् जोखिम न्युनिकरणका लागि पहल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भुगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरुलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौँ । हाम्रो भुगोल पनि विपद्को जोखिमकै स्थितिमा छ, भुगोलका कारणले पनि । कतिपय प्राकृतिक जोखिम छन्, कतिपय मानव निर्मित जोखिम छन् । धेरै ज्यादा जोखिमको अवस्थामा हामी रहेका छौँ । त्यसो भएको हुनाले यसलाई न्युनिकरण गर्नका निमित्त हामी सबै मिलेर मात्रै सम्भव छ । हामी सबै मिलेर अघि बढ्यौँ भने पूर्वानुमान, सूचनाको कुरामा, तत्काल उद्धार गर्ने विषय होस्, पुनःनिर्माण, पुनःस्थापनाका लागि हामी सबै मिलेर अघि बढ्न जरुरी छ । हामीसँग प्राधिकरण छ, प्राधिकरणलाई पनि बलियो बनाउन जरुरी छ । जनशक्तिका रुपले, आर्थिक रुपले, सूचना प्रणालीदेखि सबै विषयमा सक्षम बनाउन जरुरी छ । कानूनी रुपले संरचना निर्माण गरेका छौँ तर अब ति संरचनालाई सबै किसिमले बलियो बनाउन जरुरी छ । विपद् जोखिमलाई न्युनिकरण गर्नका निमित्त जति पनि संरचना हामीसँग छन्, तिनलाई बलियो र सक्षम बनाउन जरुरी छ ।’

गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्युनिकरण गर्न नसकिने बताउनु भयो । उहाँले समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्युनिकरणका लागि सहयोगी हुने बताउनु भयो ।

सवारी तथा यातायात व्यवस्था (दशौँ सशोधन) नियमावली, २०८१ स्वीकृत

सरकारले पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । पुस ९ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार सरकारले सम्पती शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचिको क्रमसङ्ख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपच नलिई क्यासिनो सञ्चालनलाई संवद्ध कसूर तोक्ने, नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतका निकायको स्वीकृत दरबन्दीबाटै जनशक्ति व्यवस्थापन गर्ने गरी पर्सा जिल्लाको पोखरिया, जुम्ला जिल्लाको सिंजा, नराकोट र कपिलवस्तु जिल्लाको बोडगाँउमा मालपोत तथा नापी कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस् : खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विद्यार्थीमा अहिले मोबाइल चलाउने प्रवृत्ति बढिरहेको भन्दै विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लगाउन अभिभावकहरुसँग आग्रह गर्नुभएको हो ।

उहाँले खेलकुदे शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नुका साथै खराब संगत गर्नबाट जोगाउने बताउनु भयो । उहाँले खालि समयमा विद्यार्थीलाई खेलकुदका गतिविधिहरुमा संलग्न गराउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजकालका विद्यार्थीमा धेरै माबाइल चलाउने प्रवृत्ति विकास भएको छ । अभिभावकहरुमा पनि धेरै मोबालाइल चलाउने प्रवृत्ति विकास भएको छ । अभिभावकले त चलाए चलाए, सन्तान पनि बढी मोबाइल चलाउने भए । तपाईंका छोराछोरीहरु साँच्चै सुधार्न चाहनुहुन्छ भने, राम्रो बनाउन चाहनुहुन्छ भने हप्ताको दुई घण्टा, तीन घण्टा खेलकुदमा लगाउन आग्रह गर्दछु । शारीरिक र मानसिक रुपमा राम्रो हुन्छ नै पढाइको स्तर बढ्न सक्छ । खराब संगतमा जानसक्दैन । स्कुलपछिको दुई घण्टा खेलकुदमा लगाउनुस् ।’

मन्त्री चौधरीले बालबालिकालाई उनीहरुले चाहेको खेलकुदका विभिन्न विधामा खेलाउन आग्रह गर्नुभयो ।

विदेशी मुलुकसँगको संसदीय सम्बन्ध बलियो बनाउन ४४ देशका लागि संसदीय मैत्री समूह गठन

सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गर्नुभएको छ ।

बिहीवार सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरुसँगको छलफलका क्रममा उहाँले संसदीय मैत्री समूहका संयोजकहरुसँग यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले नेपालको संसदले विभिन्न ४१ देशका संसदसँग सम्बन्ध बिस्तारका लागि संसदीय मैत्री समूह बनाइ संयोजकसमेत तोकिसकेको र बाँकी ३ वटा संसदीय मैत्री समूहको संयोजक छिटै तोक्ने जानकारी दिनुभयो ।

उहाँले नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ, नेपाल र साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा, नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाल–अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेपाल–कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ, नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा चन्दा कार्की र नेपाल–भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरीलाई तोकिएको बताउनु भयो ।

त्यस्तै नेपाल—संयुत्तः राज्य अमेरिका संसदीइ मैत्री समूहको संयोजकमा डा. प्रकाशशरण महत, नेपाल—अस्टे«लिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा, नेपाल—बेलायत संसदीय मैत्री समूहको संयोजकमा विराजभक्त श्रेष्ठ, नेपाल—जापान संसदीय मैत्री समूहको संयोजकमा डा.नारायण खड्का, नेपाल—चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ हुनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ हुनुहुन्छ, जो नेपाली काँग्रेसको प्रतिनिधित्व गर्नुहुन्छ । नेपाल र साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा,नेपाली काँग्रेसकै दलबाट प्रतिनिधित्व गर्नुहुन्छ । नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाली काँग्रेस । नेपाल–अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेकपा एमाले । नेपाल–कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ, नेकपा एमाले । नेपाल–जर्मनी ससदीय मैत्री समूह कृष्णगोपाल श्रेष्ठ, नेकपा एमाले । नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा चन्दा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी । नेपाल–भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरी, नेकपा ( माओवादी केन्द्र) । नेपाल–इण्डोनेसियन संसदीय मैत्री समूह रामप्रकाश चौधरी गरेर ४१ समूहका संयोजकहरु सकिएको छ । बाँकी तीन समूह बनाइसकेका छौँ । संयोजकमा केही मिलाउन बाँकी छ । सकेसम्म चाँडो मिलाउनेछौँ ।’

सभामुख घिमिरेले संसदीय मैत्री समूहले आफ्नो तोकिएको मुलुकसँगको सम्बन्ध विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

देशभित्रका समस्या समाधानका लागि दुई ठूला राजनीतिक दल मिलेका हौँ : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देशमा सुशासन स्थापित गर्न दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री देउवाले सरकारले नागरिकका मुद्दाहरुमा काम गरिरहेको बताउनुभएको हो ।

उहाँले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउँदा धेरैले आलोचना गरेपनि अहिले सरकारले गरेका कामहरुबाट खुशी भएको उल्लेख गर्नुभयो । उहाँले नागरिकका समस्यासँग अहिलेको सरकार राम्रोसँग जानकार रहेको र समाधानको काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले देशमा आएका संकटहरुको समाधानका लागि काँग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनु भयो । उहाँले वर्तमान सरकारले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि पनि उल्लेख्य काम गरिरहेको बताउनु भयो । जलवायु परिवर्तनसँग सम्बन्धित लस एण्ड ड्यामेज फण्ड र क्लाइमेट फाइनान्सको प्राप्तिका लागि कर्मचारीतन्त्रबाट बढी सक्रियतापूर्वक काम हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, हाम्रो दुई वटा दल मिलेर सरकार बनाउँदा धेरै मान्छेहरु अलिकति सक्ड नै भएका थिए । सबैभन्दा धेरै प्रतिष्पर्धामा हुने पार्टीहरुले किन सरकार बनायो होला त ? ठिक यस्तै कुराहरुलाई एड्रेस गर्न । धेरै ठाउँमा हामीलाई इस्युज थाहा छ, रेस्पोन्स पनि थाहा छ तर हामी त्यहाँ पुग्नै सक्दैनौँ । अहिले पनि जुन फण्डहरुको कुराहरु गरिरहेका छौँ । जुन क्लाइमेट फाइनान्सको कुरा गरिरहेका छौँ । लस एण्ड ड्यामेज फण्डका कुराहरु गरिरहेका छौँ, त्यसमा हामी कसरी पुग्ने त ? त्यसको लागि हामी पोल्टिकल मान्छेहरुको छोटो लाइफ हुन्छ, तर इन्टेन्सन जहिले पनि सही हुनुपर्छ । पर्मानेन्ट सरकारले मात्रै कार्यान्वयन गर्नसक्छ ।’

परराष्ट्रमन्त्री राणाले भविष्यको लागि सोचेर रणनीति बनाउनुपर्ने बताउनु भयो । उहाँले देशको आवश्यकता हेरेर एक्शनमा जानुपर्ने बताउनु भयो ।

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ । बिहीवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकले उक्त विधेयकलाई सर्वसहमितले पारित गरेको हो ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको छ । समिति बैठकमा बोल्दै अर्थसमिति सभापति सन्तोष चालिसेले विधेयकका विषयमा विज्ञ,अर्थ मन्त्रालय र कानून मन्त्रालय,संशोधनकर्ता सांसदहरु र सांसदहरुबीच विधेयकका विषयमा दफाबार समेत गरी लामो छलफल पश्चात समितिले विधेयकलाई पास गरेको बताउनु भयो ।

उहाँले सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी,बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पास भएको बताउनु भयो । उहाँले ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरुलाई सहज र फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेश गर्ने तयारी गरिने बताउनु भयो । उहाँले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुईवटा विधेयक समितिबाट पास गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार सम्बन्धि विधेयक हो । यो विधेयकका विषयमा समितिमा लामो समय विज्ञ तथा संशोधनकर्ता सांसदहरुको संशोधनका विषयमा छलफल ग¥यौं । त्यति मात्रै नभएर विधेयकका विषयमा दफाबार छलफल गरी बिहीवार बसेको समिति बैठकले सर्वसहमतिले पास गरौं । सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी,बाख्रा किनबेच देखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पास भएको छ । ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरुलाई सहज र फाइदा पुग्नेछ । ऐन लागू भएपनि सुरक्षित कारोबार रेकर्ड राख्ने स्थानीय तहमा कार्यालय बन्ने र त्यहीबाट काम हुनेछ । अब बस्ने संसदमा पेश गर्ने तयारी गर्छौं ।’

समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा चल सम्पती धितो राखि गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गरी चल सम्पती भन्ने शब्द राखेको छ ।

विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटी भएपनि भन्ने शब्दहरुको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटी भएपनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ ।

नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले यस्तो बताउनुभएको हो ।

कम्युनिष्ट पार्टीमा एकता गर्ने नेतृत्वको समस्या,कमजोरी र नेतृत्वमा सत्ता स्वार्थ तथा खिचातानीको कारणले एकता कायम रहन नसकेको उहाँको भनाई छ । उहाँले अहिले पनि कम्युनिष्टहरु फुट,गुटका कारण चिराचिरा भएको भन्दै अब कम्युनिष्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा पुनर्गठनसहित अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले पुनर्गठन गरी दलाल पुँजीपति वर्गले वर्चश्व कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसको लागि विभिन्न खेमामा रहेर बसेको कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनको अवस्था न हाँसको चाल न बकुल्लाको चाल भने जस्तो भइरहेको टिप्पणी गर्नुभयो । उहाँले कम्युनिष्टहरु अहिले सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको भन्दै जनताका समस्या र जनजीविकाका विषयमा जानकार हुन छोडेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ अहिले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता छ । जुन पुनर गठन २०६४ मा गर्न खोजिएको थियो । तर २०६४ मा सिङ्गो वाम शक्तिलाई एकतावद्ध गर्ने उदेद्यले चुनावी तालमेल र २०६५मा एकता गरेर जाने प्रक्रिया शुरु भएको हो । त्यो बेलाको कम्युनिष्ट एकता नीतिगत रुपमा नराम्रो थिएन । कम्युनिष्ट पार्टी एकता गर्ने नेतृत्वको समस्या,कमजोरी,गलत नेतृत्व र नेतृत्वमा सत्ता स्वार्थ खिचातानीको कारणका कारणले त्यो सफल हुन सकेन । आजका दिनमा कम्युनिष्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा दलाल पुँजीपति वर्गले बर्चसो कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्दै पुनर्गठन सहित अगाडि बढ्नुपर्ने आवश्यकता छ । विभिन्न खेमामा रहेर बसेको कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बेला आएको छ । आज कम्युनिष्ट आन्दोलनको अवस्था न हाँसको चाल न बकुलाको चाल भने जस्तो भएको छ । हामी अगाडि बढ्ने कसरी हो । वर्तमान सत्ता स्वार्थमा लागि रहने हो । जनजीविकाका यावत समस्या समाधान गर्दै अघि बढ्ने हो । कम्युनिष्टहरुले उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेतृत्व गर्नुपर्छ । पार्टीभित्रका बहसलाई नकारात्मक चिन्तनको रुपमा लिने प्रवृति हावी हुँदै गएको छ । कम्युनिष्ट नेताहरुमा जनताका दुख बुझ्न जाने भन्दा पनि सम्पती आर्जन र सुख सुविधामा तल्लिन हुन कम्युनिष्ट विचलनका आयामहरु देखिएका छन् ।’

उहाँले कम्युनिष्टहरुले उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेतृत्व गर्नुपर्ने समय आएको बताउनु भयो । उहाँले पार्टीभित्रका बहसलाई नकारात्मक चिन्तनको रुपमा लिने प्रवृत्ति हावी हुँदै गएको पनि बताउनु भयो ।

माओवादी फुटेर कहाँ पुग्ने हो निश्चित छैन : महासचिव चन्द

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले माओवादी फुट्ने क्रम नरोकिने बताउनुभएको छ । बिहीवार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै चन्दले यस्तो बताउनुभएको हो । उहाँले माओवादी फुटेर साउने भेलजस्तो भएको उल्लेख गर्दै माओवादी नभएको कुनै ठाउँ नरहेको जिकिर गर्नुभयो । माओवादी फुटेर १९ वटा भइसकेको उहाँको भनाइ छ । उहाँले माओवादी नेताहरुको मन शान्त र दिमाग स्थिर नभएको टिप्पणी गर्दै माओवादीहरुले मुलुकमा तरंग ल्याउने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माओवादी लड्दालड्दै धेरै बढेपनि अटाएन । छल्कियो, यताउता पोखियो भनेपनि हुन्छ । साउनको भलेजस्तो कुलातिर पनि पस्या छ, झारीतिर पनि पस्या छ । बाटोमा पनि हिँड्या छ । कहाँ पुगेन माओवादी आज ? सबैतिर छ । माओवादी नभएको ठाउँ देख्नुहुन्न । फुट्न पनि हामी जति को फ्ट्या होला र ? एउटा साथिले डायरिमा लेख्नुभएछ । माओवादी १९ वटा पुगेछ । अर्को पनि थप्नुस् । २० हुन्छ । फुटेर कहाँ पुग्ने हो निश्चित छैन । फुट्दाफुट्दै जब यो सकिन्छ नि त्यसपछि सायद केन्द्रित पनि हुन्छ होला । कति फुट्यो ? सकियो कि सकिएन ? हिसाव हुँदैछ । यो साँचो कुरा हो । माओवादीका सबै घटकहरुमा यो बहसहरु चलिरहन्छन् नि त । विभिन्न तरंगहरु छन् किनभने माओवादीको मन शान्त छैन । मन शान्त नभएर दिमाग स्थिर छैन । समाजमा हाम्रोबारेमा अनेकौं खालका तर्कहरु छन् । माओवादीहरु शान्त भएर बस्ने मान्छेहरु पनि होइनौं नि त ।’

उहाँले माओवादी फुट्ने क्रम जारी रहेको उल्लेख गर्दै यो क्रम सकिएसँगै केन्द्रिकृत हुँदै जाने दाबी गर्नुभयो ।

इजरायलले युद्धविराम सम्झौतामा ढिलाइ गर्‍यो : हमास

इजरायलले गाजाबाट आफ्नो फिर्ता, युद्धविराम, बन्दी–बन्धक आदानप्रदान र विस्थापित प्यालेस्टिनीहरूको फिर्ता सम्बन्धी नयाँ शर्तहरू राखेको छ ।

जसले उपलब्ध भएको सम्झौतामा पुग्न ढिलाइ गरेको हमासले जनाएको छ । युद्धविराम र कैदी आदानप्रदान वार्ता दोहामा कतारी र इजिप्टको मध्यस्थतामा गम्भीर रूपमा अगाडि बढिरहेको छ ।

कतारी, इजिप्टियन र अमेरिकी मध्यस्थकर्ताहरूको नेतृत्वमा प्रयासहरूले प्रगति देखाएको बताइएको छ । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ ।

जसमा करिव १ हजार २ सय मानिस मारिएका थिए । २५० जनालाई बन्धक बनाइएको थियो । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ४५ हजार ३६१ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *