विधिको शासन र सरकारको कामबारे सत्यतथ्य समाचार सम्प्रेषण गर्न मुख्यमन्त्रीको आग्रह
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले निर्माण गरेका विकासबारे नागरिकलाई सुसूचित गराउनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिद्वारा बिहीबार आयोजित महासङ्घ कोशी समिति सम्मान तथा नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण समारोहमा उनले विधिको शासन र सरकारको कामबारे सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे ।
उनले सङ्घीय लोकतान्त्रिक शासन प्रणालीको पक्षमा एक ढिक्का भएर कमल चलाउन सञ्चारकर्मीलाई सुझाव दिए । मुख्यमन्त्री कार्कीले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा ४८ परियोजना रु १० करोड देखि रु १० अर्ब सम्मको राख्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिए । उनले प्रदेशका पहाडी क्षेत्रमा विसं २०८५ सम्म निर्माण सम्पन्न हुने चार पदमार्गवाट चार लाख रोजगारी र पहाडबाट पलायन हुने अवस्था नियन्त्रण हुने विश्वास व्यक्त गरे ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले ल्याउने प्रेस सम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा दर्ता हुने क्रममा रहेको जानकारी दिए । उनले विधेयकमा पत्रकार कल्याणकारी कोष स्थापनालगायत बहुआयामिक उपयोगका विषय समेटिएको जानकारी दिए । सो अवसरमा मुख्यमन्त्री कार्कीले नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए ।