भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षमा निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री तथा अर्थशास्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री र त्यसअघि अर्थमन्त्री रहेका सिंह भारतमा उदारीकरण र आर्थिक सुधारहरूका योजनाकार मानिन्छन् । मनमोहन सिंह लामो समयदेखि बिरामी थिए । बिहीबार साँझ स्वास्थ्य समस्या गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

सिंहको जन्म सन् १९३२ सेप्टेम्बर २६ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एक गाउँमा भएको थियो । साधारण किसान परिवारमा जन्मिएका सिंहले अर्थशास्त्र र राजनीतिमा असाधारण उपलब्धि हासिल गरे । उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका थिए ।

मनमोहन सिंहले सन् १९९१ मा भारतीय अर्थतन्त्रलाई उदारीकरणको बाटोमा डोर्‍याएर ऐतिहासिक आर्थिक सुधार कार्यक्रम लागू गरे । त्यसबेला भारत आर्थिक संकटमा फसेको थियो, जसबाट देशलाई बाहिर ल्याउन सिंहको नेतृत्व निर्णायक साबित भयो । भारतको अहिलेको आर्थिक प्रगतिको श्रेय सिंहको त्यो सुधार कार्यक्रमलाई दिइन्छ ।

सिंहले आफ्नो सरकारी यात्रा सन् १९७१ मा वाणिज्य मन्त्रालयको आर्थिक सल्लाहकारका रूपमा सुरु गरेका थिए । त्यसपछि उनी अर्थ मन्त्रालयका मुख्य आर्थिक सल्लाहकार, सचिव, योजना आयोगका उपाध्यक्ष, भारतीय रिजर्भ बैंकका गभर्नर, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार र विश्वविद्यालय अनुदान आयोगको अध्यक्षलगायत उच्च पदमा रहे ।

सिंह सन् १९९१ देखि १९९६ सम्म भारतका अर्थमन्त्री रहे । सन् १९९१ मा उनले राज्यसभा सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरे । सन् १९९८ देखि २००४ सम्म भारतीय जनता पार्टीको सरकार हुँदा उनी राज्यसभाका विपक्षी नेता थिए । सिंह सन् २००४ को आमनिर्वाचनपछि भारतको प्रधानमन्त्री बने । त्यसपछि सन् २००९ मा दोस्रोपटक प्रधानमन्त्री बन्न सफल भए र सन् २०१४ सम्म पदमा रहे ।

मनमोहन सिंहलाई सन् १९८७ मा भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्म विभूषणबाट सम्मान गरिएको थियो । सिंहको योगदान भारतलाई आर्थिक उदारीकरणतर्फ डोर्‍याउनुका साथै विश्व अर्थतन्त्रमा भारतलाई एक महत्वपूर्ण स्थान दिलाउनुमा छ । मनमोहन सिंहको निधनले भारतले एक कुशल अर्थशास्त्री र दूरदृष्टि सम्पन्न नेतालाई गुमाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *