अभियोगपत्रमा भनेजस्तो कसुरमा संलग्न नरहेको रविको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आज पनि बयान हुने भएको छ । सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेको बयान बिहीबारबाट सुरु भएको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान करिब ३ घण्टासम्म चलेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उनका अनुसार लामिछानेको बाँकी बयान आज पनि हुनेछ ।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा रविले बयान दिने क्रममा उनले अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसुरमा संलग्न नरहेको दाबी गरेका छन् ।
कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।
सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । रवि पक्राउ परेको ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।