भीम रावललाई निकालिएको होइन, आफै निस्कनु भएको हो : शंकर पोखरेल

चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका पूर्व उपाध्यक्ष भीम रावल पार्टीबाट आफैँ बाहिरिएको दाबी गरेका छन् । शुक्रबार चितवनमा आयोजित प्रेस चौतारीको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले रावललाई पार्टीले ननिकालेको तर उनले पार्टीको नीति र अनुशासनविपरीत काम गरेपछि स्वतः बाहिरिएको बताएका हुन् ।

‘पार्टीका निर्णय र नीतिका विरुद्ध अभियान चलाउँदै हिँड्नेले आफूलाई पार्टी सदस्य भनिरहन मिल्दैन,’ पोखरेलले भने, ‘रावलजीलाई हामीले निकाल्ने अवस्था आएको होइन, उहाँले आफैँ पार्टीको परिधि छोड्नुभएको हो ।’

पोखरेलले एमालेको विधान र अनुशासनभित्र बस्न असमर्थ भए पार्टी सदस्यताको औचित्य हराउने बताए । ‘पार्टी कार्यकर्ता हुनु भनेको मूल्य मान्यता पालना गर्नु हो । नागरिकको हैसियतले उहाँलाई कारबाहीको विषय होइन, तर कार्यकर्ताको रूपमा अनुशासन पालना नगरेपछि सदस्यता स्वतः खारेजजस्तै हुन्छ,’ उनले भने ।

महासचिव पोखरेलले दशौँ महाधिवेशनका बेला रावललाई उपाध्यक्षको जिम्मेवारी लिन आग्रह गरिएको तर उनले मानेनन् भन्ने खुलासा गरे । महाधिवेशनमा पराजित कुनै नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन नगर्ने पार्टीको नीति रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *