नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिले नागरिकता पाउँछन् : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई नागरिकता दिने बताएका छन् ।

शुक्रवार मन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिले बुझाएको अध्ययन प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रतिवेदनको गहन अध्ययन र समीक्षा हुने बताए । उनले प्रतिवेदनमा औँल्याइएका समस्या र समाधानका उपयाहरुबारे सरकारले अध्ययन गरेर काम अघि बढाए ।

उनले नागरिकता निकै संवेदनशील विषय भएको उल्लेख गर्दै नागरिकताका विषयमा संवेदनशील, गम्भीर र जिम्मेवार बन्नुपर्ने बताए । ‘यो प्रतिवेदन प्राप्त भइसकेपछि यसको गम्भीरतापूर्वक अध्ययन गर्नेछौँ । कहाँ के समस्या औँल्याउनुभएको छ,समाधानका के उपाय सुझाउनुभएको छ । यसको निष्कर्ष के दिनुभएको छ, त्यो कुरा अध्ययन गर्नेछौँ । साथै यो विषयमा थप गर्नुपर्ने आवश्यक काम गर्नेछौँ । नागरिकता निकै संवेदनशील विषय हो,’उनले भने ‘यो विषयलाई निकै संवेदनशील, गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्छ । नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिले नागरिकता प्राप्त गर्नुपर्छ, कुनैपनि नेपाली नागरिक जसले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो, संविधान र कानुन बमोजिम उसले नागरिकता प्राप्त गर्नैपर्छ । तर नागरिकता प्राप्त गर्न नहुने मानिसले नागरिकता प्राप्त गर्ने स्थिति बन्नु हुँदैन । यी दुई कुरामा स्पष्ट छौँ ।’

गृहमन्त्री लेखकले नागरिकता प्राप्त गर्न नहुने मानिसले नागरिकता प्राप्त गर्ने स्थिति बन्नु नहुनेमा सरकार स्पष्ट रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *