जाडो मौसममा मर्निङ वाक गर्न नहुने भन्ने होइन : डा. यादव (कुराकानी)
काठमाडौं । अहिलेको समय जाडो मौसमको हो । जाडोमा धेरै मानिसहरूलाई विभिन्न किसिमको रोगहरू लाग्ने जोखिम हुन्छ । यस्तो बेला स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक हुन्छ । चिसो मौसममा धेरै मानिसहरूमा ज्वरो आउने, रुघाखोकी लाग्ने, हृदय घात हुने, दम बढ्ने जस्ता समस्याहरू हुने गर्दछन् । यस्तै दिर्घरोगीहरुलाई पनि थप समस्या सिर्जना हुन्छ । जाडोमा देखिने समस्या र उक्त समस्या समाधान लगायतका विषयमा काठमाडौं मेडिकल कलेजका चिकित्सक डा.सुमित कुमार यादवसँग मकालुखबरकर्मी विष्णुमाया श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश…
अहिले जाडो बढेको छ । जाडो महिनामा कस्ता रोगहरू बढी लाग्न सक्छन् ?
जाडो महिनामा धेरै जसो लाग्ने भनेको रुघाखोकी हो । चिसोमा बाहिर निस्कँदा वा मर्निङ वाक जाँदा रुघाखोकी लाग्ने, दमको समस्या बढ्ने, फोक्सोको इन्फेक्सनहरू बढ्दै जाने, सिओपिडी बढ्ने जोखिम हुन्छ । चिसोमा फोक्सो सम्बन्धी रोगहरू पनि बढ्ने हुन्छ । त्यसैगरी छाला सम्बन्धी रोगहरू पनि धेरै देखिन्छ । छालाहरू सुख्खा हुने, छालाहरू धेरै चिलाउने जस्ता कारणहरूले गर्दा छाला सम्बन्धी रोगहरू पनि बढी लाग्ने गर्दछ । चिसो मौसममा प्रेसरका बिरामीहरूलाई पनि बढी जोखिम हुने गर्छ । प्रेसरको औषधी खाने हुनुहुन्छ भने उहाँहरूलाई नर्मल भन्दा अलि बढी प्रेसर बढ्ने हुन्छ । चिसोमा बाथ रोग सम्बन्धी समस्याहरू पनि उत्तिकै देखिन्छ । चिसोमा हात खुट्टाको जोर्नीहरू दुख्ने जस्ता समस्याको जोखिम हुन्छ ।
यस्ता रोगहरूबाट कसरी बच्न सकिन्छ ?
बिहानको समय एकदमै चिसो हुने गर्छ, त्यसैले बाहिर निस्किँदा टाउको छोपिने गरि नाक मुख छोपिने गरि लुगाहरू लगाउने र टोपी अनिवार्य लगाउनुपर्छ । न्यानो बाक्लो लुगाहरू, टोपीहरू लगाएर मात्र बाहिर घरबाहिर निस्किने गर्नुपर्छ । सकेसम्म चिसोमा बाहिर ननिस्किने यदि निस्किनै परे आफ्नो शरीरलाई छोपिने गरि लुगा लगाउनु पर्दछ । छालामा पनि भ्यास्लिङहरु, लोसन, नरिवलको तेलहरू लगाउनुपर्छ । घाम लागेको बेला घाममा बस्ने गर्नुपर्दछ, यसो गरेका विभिन्न रोगहरूबाट बाँच्न सकिन्छ । यस मध्य अरु दीर्घकालीन रोगहरू पनि हुन सक्छ, जस्तै दम सम्बन्धी समस्याहरू, प्रेसर हुन्छ यी रोगहरू भएकाहरूले बेला बेला जँचाउन पर्छ, डाक्टरहरूले दिनुभएका औषधीहरू समयमा खानुपर्छ । खानेकुराहरूमा झोलिलो खानेकुराहरू अलि बढी मात्रामा खानुपर्छ । घरमा पकाएका खानेकुराहरू पनि तातो र झोलिलो खाने कुराहरू खानाले चिसोमा लाग्ने अधिकांश रोगबाट छुटकारा पाउन सकिन्छ ।
जाडो मौसममा मर्निङ वाक गर्न कति उपयुक्त मानिन्छ ? कुन समयमा मर्निङ वाक गर्ने त ?
जाडो मौसममा मर्निङ वाक गर्न नहुने भन्ने होइन । तर आफ्नो स्वास्थ्यलाई मध्य नजर गर्दै धेरै चिसोमा बाहिर निस्कन हुँदैन, यदि निस्कने हो भने चिसो कम भए पछि निस्कनुपर्छ । चिसोमा बाहिर निस्कँदा टोपी, पन्जा लगाउने, न्यानो लुगाहरू लगाएर मात्र निस्कने गर्नुपर्छ ।
जाडोमा कस्ता खालका खानेकुराहरू शरीरलाई उपयुक्त हुन्छ ?
जाडो मौसममा झोलिलो खानेकुराहरू तातो खाने कुराहरू खानुपर्छ । घरमा गेडागुडीको झोल, मासुको सुपहरू बनाएर पनि खाने गर्नुपर्छ । घरमा पाइने अदुवा, लसुन, मरीचहरू, खानेकुराहरूमा राखेर बनाएको खानाहरू खानुपर्छ । मह र अदुवा तातो पानीमा राखेर खानाले रुघाखोकी लगायत जाडो मौसममा शरीरलाई राम्रो गर्दछ ।
जाडोमा हृदयाघातको जोखिम बढ्छ भनिन्छ । यसबारे बताइ दिनुस् न !
जाडो महिनामा बढी हृदयाघातको जोखिम बढ्छ । यसको कारण के हो भने यो मौसममा प्रेसर बढ्ने हुन्छ । हाम्रो शरीरमा बोसोको मात्रा हुन्छ, शरीरमा गर्मी महिना भन्दा जाडोमा ब्लडफ्लो अल बिस्तारै हुने गर्छ । यसले गर्दा हाम्रो शरीरमा पहिले नै जाडोको कारण प्रेसर पनि बढेको हुन्छ र कोलेस्ट्रोल पनि गर्मीको तुलनामा भन्दा जाडोमा बढ्ने हुन्छ । यो सबैले गर्दा कोलेस्ट्रोल पनि बढ्ने, ब्लडफ्लो पनि कम हुने, प्रेसर पनि बढ्ने हुनाले हृदय घात हुने जोखिम बढी हुने गर्दछ ।
हृदयाघातबाट बच्न के गर्नुपर्छ ?
यसबाट बच्नको लागि पहिला देखि नै प्रेसरको अथवा कोलेस्ट्रोलको औषधि खादै हुनुहुन्छ भने दिनहुँ जस्तो चेकअप गर्नु प¥यो । डाक्टरले दिएको औषधीहरू नियमित सेवन गर्नुपर्छ । गर्मी महिनामा दिनहुँ व्यायाम गर्नुहुने हरुले पनि जाडो समयमा पनि आफूले सक्ने गरि निरन्तरता दिने गर्नुपर्छ । त्यसको साथै दिनहुँ औषधी सेवन गर्नु हुन्छ भने औषधीको पनि सेवन गर्ने गर्नुपर्छ । ब्लड टेस्ट गर्ने, खानपानमा पनि ध्यान दिनुपर्छ । खानेकुराहरूमा ध्यान दिनु पर्दा जाडो मौसममा सुपहरू खाँदा धेरै नुन मसलाहरू हालेर खानु हुँदैन । ठिक्क मात्रामा खानेकुराहरूको सेवन गर्नाले पनि हृदयाघातबाट बच्न सकिन्छ ।
कस्ता र कति उमेरको व्यक्तिहरूलाई हृदय घात हुन्छ ?
धेरै जसो हृदय घात हुने उमेर भनेको ६० वर्ष कटे पछि हुन्छ भन्ने गरिन्थ्यो तर अहिलेको समयमा भने हृदय घात युवाहरूमा पनि हुने गरेको छ । जस्तै २५ वर्ष कै उमेरबाट पनि हृदय घात हुने गरेको छ । अहिले जति सुकै उमेरका व्यक्तिहरूमा पनि हृदय घात हुने गरेको पाइन्छ । हृदय घात हुनुको कारण भनेको पहिले पहिले हृदय घात, कोलेस्ट्रोलले हुन्छ भन्ने गरिन्थ्यो । अहिले भने प्रेसर, सुगर कोलेस्ट्रोल त छदै छ त्यस सँगै धेरै कुराहरू पनि हुने गर्छ, जस्तै मानसिक तनावका कारण पनि हृदय घात हुन्छ । कसैलाई कामको प्रेसर बढ्ने हुन्छ, कसैलाई फिजीकल्ली तनाव हुन्छ, कसैलाई भने मानसिक तनाव हुने गर्छ । स्ट्रेस पनि हृदय घात बढाउने मुख्य कारण हो । धेरै जसो मानिसलाई थाहा हुँदैन तर हृदय घात बढाउने मुख्य कारण स्ट्रेस पनि हुन्छ । हामीले स्वास्थ्यको कुरा गर्दा पनि शारीरिक स्वास्थ्य बारे मात्र कुरा गर्ने गर्छौं, मानसिक कुरा बारे हामी ध्यान नै दिएका हुँदैनौँ । तर हामी शारीरिक साथै मानसिक रुपमा पनि स्वास्थ्य हुनुपर्छ । यदि कुनै मान्छे मानसिक रूपले स्वास्थ्य छैन, मानसिक रूपले कार्यहरू राम्रोसँग गर्न सकिरहेको छैन भने मानसिक रोग बढ्दै जान्छ र हृदय घात हुने सम्भावना धेरै हुने गर्दछ । त्यसैले ५०–६० वर्ष नाघेपछि मात्र हृदय घात हुन्छ भन्ने होइन, मान्छेको जीवनशैलीमा, मानसिक रुपमा, काम गराइको शैलीमा र मान्छेको खानपिनको शैलीमा पनि हृदय घात हुने जोखिम हुन्छ । आज भोलि २५–३० वर्ष उमेरका व्यक्तिहरूलाई पनि हृदय घात हुने सम्भावना बढी रहेको छ ।
जाडोमा दमका बिरामी पनि बढ्छन् भन्ने सुनिन्छ । दम बढ्नुको कारण के हो ?
अस्थमा र सिओपीडि गरी दम दुई प्रकारको हुन्छ । अस्थमा भनेको एलर्जी हुने हुन्छ जस्तै चिसोको एलर्जी, खानपिनको एलर्जी, धुँवाधुलोको एलर्जी जस्ता कारणले दम बढ्ने हुन्छ । जाडो मौसममा श्वास प्रश्वास लिइरहँदा चिसोको कारणले श्वासमा समस्या आएर दम बढ्छ । अर्को सिओपीडि दम, यसमा पनि चिसो हुने बित्तिकै एलर्जी बढ्छ र हामीले श्वास लिँदा जहाँबाट हावा जुन पर्ने हो, त्यो पार्ट खुम्चिन्छ त्यसपछि हावा कम जाने र कम निस्किने हुन्छ । त्यस कारणले गर्दा मान्छेको स्वास्थ्यमा समस्या आउने हुन्छ ।
दीर्घ रोग भएका मानिसले यस्तो बेला कसरी स्वास्थ्यको ख्याल गर्ने ?
जाडोबाट बच्ने खालको लुगाहरू लगाएर बस्नु पर्छ । सकिन्छ भने खाने कुराहरूमा झनै बढी ध्यान दिनुपर्छ । पोसिलो खानेकुरा, झोलिलो खाने कुरा अलि बढी मात्रामा खानुपर्छ । घरमा भएका अदुवा, लसुन, टिमुरहरू राखेर सुपहरू बनाएर खानुपर्छ । चिसो खानेकुराहरू बाट आफू र बालबालिकाहरूलाई बचाउनुपर्छ । चिसो खानेकुरा लगायत कोल ड्रिङ्सहरु नखाने र नियमित औषधि सेवन गर्नुहुन्छ भने न छुटाई सेवन गर्ने र बेलाबेला चेकअप गर्दै गर्नुपर्छ ।
अन्तिममा के सुझाव सल्लाह दिन चाहनुहुन्छ ?
जाडो मौसममा विभिन्न रोगहरूबाट बच्नको लागि आफूले जे सकिन्छ गर्नुपर्छ । जस्तै काम गर्न बिहान बेलुका एक दमै धेरै चिसोमा ननिस्कने, दिउसो तिर समय मिलाएर बाहिर घाममा बस्नुपर्छ । पोसिलो खाने कुराहरू खाने र औषधि नियमित सेवन गर्ने जस्ता सल्लाह सुझाव दिन चाहन्छु ।