बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा

सुनसरी । जिल्लास्थित बराहक्षेत्र नगरपालिका-१ स्थित रहेको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र बस्ती बाढीको उच्च जोखिममा परेको छ । हिन्दू धर्मशास्त्र र किरात मुन्दुमले समेत मानव सभ्यताको सुरुआत भएको आदिम तीर्थस्थलका रूपमा रहेको सप्तकोशी नदी किनारस्थित बराहक्षेत्र मन्दिर बाढीको उच्च जोखिममा परेको भन्दै स्थानीय चिन्तित बनेका हुन् ।

गत असोजमा आएको बाढीले जिल्लाको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र आसपासका बस्ती उच्च जोखिममा परेको भन्दै स्थानीय रविनकुमार श्रेष्ठले चिन्ता व्यक्त गरे । उनले भने,“आउँदो बर्खामा मन्दिर र वरपरका बस्ती रहने हो कि नरहने हो थाहा छैन ।”

गत असोजमा आएको बाढीले मन्दिर परिसरका बराह श्राद्धस्थल, शनि मन्दिर, गणेश मन्दिर, अमरनाथ मन्दिर, साकेला पार्कलगायत शौचालयमा क्षति पु¥याएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।

“क्षति पुगेका केही शौचालय र मन्दिरलाई मर्मतसम्भार गरिए पनि दिगो तटबन्ध हुन नसक्दा बस्ती उच्च जोखिममा छ । धार्मिक तीर्थाटनलाई अभिवृद्धि गर्न बलियो तटबन्ध निर्माण गरेर धार्मिक पर्यटनसँग जोड्नेमा स्थानीय सरकारले पहल गरिरहेको छ”, उनले भने ।

बाढी आएर कटान गरेकाले बराहक्षेत्र मन्दिर परिसरका ५५ भन्दा बढी परिवार उच्च जोखिममा परेका नगरप्रमुख कार्कीले जानकारी दिए । कोशीमा आउने पानीको बहावले भेट्ने ठाउँ बढी भएकाले कम बजेटले तटबन्ध लगाउन नसकिने भन्दै उहाँले प्रदेश र सङ्घीय सरकारसँग सहयोगका लागि अनुरोध गरिएको बताए ।

तीन पुस्तादेखि बसोबास गर्दै आइएको बराहक्षेत्र मन्दिर परिसरको बस्ती स्थानान्तरण गरी विकास गर्ने विषयमा सरोकार भएका निकायले ध्यान दिनुपर्ने आवश्यकता रहेको बराहक्षेत्र खानेपानी उपभोक्ता समितिका अध्यक्षकुमार श्रेष्ठले बताए । उनले भने,“अहिले विकास भन्दा पनि कसरी संरक्षण गर्ने भन्ने महत्वपूर्ण विषय हो । सबै राजनीतिक दल, स्थानीय प्रतिनिधि, सरोकार भएका निकायले सहकार्य र समन्वय गरी यो पुण्यभूमि बचाउनतिर लाग्नुपर्छ ।”

नदी किनारमा रहेको मन्दिर परिसरमा चेकड्याम (तटबन्ध) निर्माण गरी सुरक्षा गर्न मन्दिर गुठी व्यवस्थापन समितिले रु ६ लाख खर्च गरेर गुरूयोजना बनाएको छ । गुरूयोजनामा तटबन्ध निर्माणदेखि पार्क, गौशाला र स्नान घाटलगायत योजना समावेश गरिएको समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *