जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा समृद्धि ल्याउनका लागि दुई ठूला राजनीतिक दलहरूको सरकार बनेको बताएकी छन् ।

कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिवार शिलान्यास गर्दै उनले यस्तो बताएकी हुन् । देउवाले लम्की चुहा नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शिलान्यास गरिन् । उनले जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकास निर्माणको ढोका खुल्ने विश्वास व्यक्त गरिन् ।

उनले पिछडिएका क्षेत्रहरूको विकासका लागि सरकारले आवश्यक कानुनहरू परिमार्जन गर्ने र नयाँ निर्माण गर्ने काम गरिरहेको बताइन् । उनले राजनीतिले मात्रै पेट नभरिने भन्दै रोजगारी, आय आर्जन गर्ने वातावरण बन्नुपर्ने बताइन् । उनले देश विकासका लागि बाधक बनेका कानुनहरू हटाउन र नयाँ कानुन निर्माण गर्न एउटा संयन्त्र बनाइ काम गरिरहेको पनि बताइन् ।

केबलकारको निर्माणसँगै सुदूरपश्चिममा लगानी, रोजगारीको वातावरण बन्ने बताइन् । जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भुमिका खेल्ने बताइन् ।

उनले भनिन् ‘हामी दुई वटा ठूला पार्टीका अध्यक्षज्युहरुले देशमा समृद्धि ल्याउनका लागि एकै ठाउँमा उभिएर काम अघि बढाउनुपर्छ भनेर लाग्नुभएको हो । राजनीतिले मात्रै मान्छेको पेट भर्दैन भनेर नेताजीहरू र हामी सबै नेताहरूलाई थाहा छ । रोजगारी चाहिन्छ, एउटा आय आर्जन गर्ने वातावरण बन्नुपर्छ अनि मात्रै देशको समृद्धि हुन्छ । मान्छेहरूको सपना पूरा हुनसक्छ । जुन हाम्रो एउटा परिकल्पना छ, हाम्रो यस्तो किसिमको देश बनोस्, यस्तो किसिमको जीविका होस् भन्ने कुरा गरेर नै अहिले दुई वटा पार्टीले सरकार बनाएका छन् । विकासको ठूलो बाधक बनेर आएका क्षेत्रहरूको नियम कानुनमा फेरबदल गर्नुपर्छ भनेर हामी अघि बढेका छौँ । एउटा टिम गठन गरेर यो निजी क्षत्रेमा हुनुपर्ने केके हो, बिजनेस र लगानीको सम्भावना बढाउन कुनकुन नियम परिवर्तन गर्नुपर्छ भनेर एउटा टास्कफोर्स बनेको छ ।’

परराष्ट्रमन्त्री राणाले प्रचुर सम्भावना हुँदाहुँदै पनि कानुन बाधक बन्दा आवश्यकताअनुसार विकास हुन नसकेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *