खबर दिनभर : ओलीलाई नेतृत्व छोड्न घनश्यामको सुझावलगायत यी हुन् आजका शीर्ष समाचार
विश्वविद्यालय शिक्षाको मन्दिर हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । शनिवार त्रिभूवन विश्वविद्यालयद्वारा दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमाअघि बढाउनुपर्ने र आदरणीय, प्राचनिय थलोको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले मन्दिरमा जाँदा सकारात्मक भाव पैदा भएझैँ विश्वविद्यालयमा जाँदा पनि सकारात्मक भावका साथ जानुपर्ने बताउनु भयो । उहाँले नेपाली समाज सभ्य समाज रहेको उल्लेख गर्दै त्रिभूवन विश्वविद्यालयमा कमी, कमजोरीहरुलाई सुधार गर्दै जाने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘त्रिभूवन विश्वविद्यालयमा कमी, कमजोरीहरु होलान्, भौतिक पूर्वाधारका कमी होलान्, अरु कुराहरुका कमी होलान्, पर्याप्त भयो भन्ने दिन कहिल्यै हुँदैन, कमी त भइरहन्छन्, आर्थिक अवस्था कमजोर होला, त्यसलाई हामी सच्याउँदै जानेछौँ । त्रिभूवन विश्वविद्यालयलाई धन्यवाद भन्न चाहन्छु, त्रिभूवन विश्वविद्यालयले स्थापना कालदेखि जुन योगदान गर्नुभएको छ यसका लागि धेरै धन्यवाद भन्न चाहन्छु । एउटा कुरामा हामीले ध्यान दिनुपर्छ । आजको शैक्षिक जगत शैक्षिक जगत जस्तो नदेखिएर कहिले कहिले अन्यथा प्रकारका प्रवृत्तिहरु पनि देखिन थालेका छन्, यस कुरामा हामी सजग हुनुपर्छ । हामीले शिक्षाको मन्दिरलाई शिक्षाको मन्दिरको रुपमा विश्वविद्यालयलाई आदरणीय, प्राचनिय थलोको रुपमा जसरी हामी मन्दिरमा जाँदा एउटा भाव प्रकट गर्दछौँ, विद्यालय, विश्वविद्यालय, महाविद्यालयमा पुग्दा त्यो भाव हुनुपर्छ । हाम्रो समाज सभ्य समाज हो ।’
प्रधानमन्त्री ओलीले सकारात्मक सोचका साथ नेपाली विद्यार्थीले देशमा काम गर्नुपर्ने बताउनु भयो । नयाँ सोच र विज्ञतालाई अध्ययन र अनुसन्धानबाट विद्यार्थी स्थापित हुनुपर्ने बताउनु भयो ।
जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्यो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा समृद्धि ल्याउनका लागि दुई ठूला राजनीतिक दलहरुको सरकार बनेको बताउनुभएको छ । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिवार शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
देउवाले लम्की चुहा नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शिलान्यास गर्नुभयो । उहाँले जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकास निर्माणको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पिछडिएका क्षेत्रहरुको विकासका लागि सरकारले आवश्यक कानूनहरु परिमार्जन गर्ने र नयाँ निर्माण गर्ने काम गरिरहेको बताउनु भयो ।
उहाँले राजनीतिले मात्रै पेट नभरिने भन्दै रोजगारी, आय आर्जन गर्ने वातावरण बन्नुपर्ने बताउनु भयो । उहाँले देश विकासका लागि बाधक बनेका कानूनहरु हटाउन र नयाँ कानून निर्माण गर्न एउटा संयन्त्र बनाइ काम गरिरहेको पनि बताउनु भयो । केबलकारको निर्माणसँगै सुदूरपश्चिममा लगानी, रोजगारीको वातावरण बन्ने बताउनु भयो । जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भुमिका खेल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी दुई वटा ठूला पार्टीका अध्यक्षज्युहरुले देशमा समृद्धि ल्याउनका लागि एकै ठाउँमा उभिएर काम अघि बढाउनुपर्छ भनेर लाग्नुभएको हो । राजनीतिले मात्रै मान्छेको पेट भर्दैन भनेर नेताजीहरु र हामी सबै नेताहरुलाई थाहा छ । रोजगारी चाहिन्छ, एउटा आय आर्जन गर्ने वातावरण बन्नुपर्छ अनिमात्रै देशको समृद्धि हुन्छ । मान्छेहरुको सपना पूरा हुनसक्छ । जुन हाम्रो एउटा परिकल्पना छ, हाम्रो यस्तो किसिमको देश बनोस्, यस्तो किसिमको जीविका होस् भन्ने कुरा गरेर नै अहिले दुई वटा पार्टीले सरकार बनाएका छन् । विकासको ठूलो बाधक बनेर आएका क्षेत्रहरुको नियम कानूनमा फेरबदल गर्नुपर्छ भनेर हामी अघि बढेका छौँ । एउटा टिम गठन गरेर यो निजी क्षत्रेमा हुनुपर्ने केके हो, बिजनेस र लगानीको सम्भावना बढाउन कुनकुन नियम परिवर्तन गर्नुपर्छ भनेर एउटा टास्कफोर्स बनेको छ ।’
परराष्ट्रमन्त्री राणाले प्रचुर सम्भावना हुँदाहुँदै पनि कानून बाधक बन्दा आवश्यकताअनुसार विकास हुन नसकेको बताउनु भयो ।
ओलीलाई घनश्यामको सुझाव : पार्टी नेतृत्वमा तपाईंका नीति असफल भइसके, नेतृत्व छोड्नुस्
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ ।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको महोल शान्त हुने बताउनुभएको हो ।
उहाँले नेता भीम रावललाई पार्टीले निष्कासन गरेको विषयमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले यसबारेमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भएपनि त्यसबेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको बताउनु भयो । उहाँले ओलीले एमाले नेतृत्व नछोडे नेताहरुको उकुसमुकुस अझै बढ्ने बताउनु भयो । ओलीले पार्टीको नेतृत्वमा रहेर गर्नुभएका निर्णय, निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा लिनुभएका निर्णयहरु असफल भइसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो । नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ । त्यतिखेर व्यक्तिगत बिरोध, प्रतिशोधका रुपमा लिइयो । कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । जसले चाकरी गर्दैन । त्यो शत्रु होइन, शत्रु होइन भने त्यसले चाकरी गर्छ । उहाँको आम रुपमा संसारलाई हेर्ने दृष्टिकोण त्यस्तो छ । भीम रावलले चाकरी गरेनन्, यद्यपी त्यहाँ बसेका सबैले चाकरी गर्दछन्, यस्तो पनि नठान्नुस् । नेकपा एमाले हामीले लडेर आफैँ बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरु छन् । अहिले उकुसमुकुसमा छन् । भनेका छैनन् । यो घटना जसरी घट्दैछ । यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ । कमरेड ओलीको यो प्रयोग असफल भइसकेको छ । उहाँको प्रयोग असफल भएको छ । निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भयो । उहाँले त्यहाँ छोड्नु उहाँका लागि र हाम्रो लोकतन्त्रका लागि सबैभन्दा राम्रो कुरा हुन्थ्यो । भीम रावलजीको कुरा रह्यो । उहाँले के गर्नुहुन्छ भन्न सक्दिन । नेपाल पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो । म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु ।’
उहाँले नेता भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभयो ।
पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छ : देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँका महानगरपालिकाका पूर्वमेयर पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताएका छन् ।
शनिवार काठमाडौंमा पि.एल सिंहको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पि.एल सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने व्यक्ति रहेको बताए । स्व. सिंहले काठमाडौँवासीको सेवा महत्वका साथ समर्पित भएर गरेको बताए ।
उनले जनताप्रति उत्तरदायी भएकाले नै स्व. सिंह आँखामा नबिझाउने व्यक्ति रहेको बताए । उनले स्व. सिंहले देखाएको बाटोमा हिँड्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्ने बताए ।
उनले भने ‘उहाँ कहिल्यै नथाक्ने, अत्यन्तै क्रियाशील र सक्रिय व्यक्तिको रुपमा मैले लिएको छ । उहाँले गणेशमानजीको बलिदानलाई मात्रै होइन, काठमाडौंवासीहरुको सेवा पनि उहाँले महत्वका साथ समर्पित भएर गर्नुभयो । उहाँ मेहनती, लोकप्रिय, नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको मेयरमा उहाँमात्रै जित्नुयो । अहिलेसम्म हामीले अरुले जितेको छैन । जनताकाप्रति उत्तरदायी भएकाले उहाँ लोकप्रिय हुनुभएको हो । उहाँको जति बखान गरेपनि कम हुन्छ । उहाँ आँखामा नबिझाउने व्यक्ति हुनुहुन्थ्यो । पार्टीका लागि अपूरणीय क्षति भएको छ । राष्ट्रका लागि नै अपूरणीय क्षति भएको छ । त्यसको क्षतिपूर्ति हामी गर्न सक्दैनौँ । तर पनि उहाँले देखाएको बाटोमा हिँड्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । उहाँको बाटोमा हिँड्दा पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्नेछ ।’
श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरलाई यत्तिको बनाउन स्व. सिंहले खेलेको भुमिका अविस्मरणीय रहेको बताए । उनले स्व. सिंह नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने व्यक्ति रहेको पनि बताए । कन्भिन्सिङ पावर मोडलको रुपमा स्व.सिंहलाई लिन सकिने बताए ।
उनले भने ‘उहाँप्रति सबैले फ्लाइङ मेयर भनेर चिन्दथे । काठमाडौं महानगरलाई प्रोग्राम ल्याउन, फाइनान्सिलय सपोर्ट गर्न धेरै काम गर्नुभयो । उहाँ मेयर हुँदा भारतीय प्रधानमन्त्रीलाई गर्नुभएको स्वागतले नेपाल भारत सम्बन्धका लागि पिएल सिंह जस्तो हुनुपर्छ भन्नुभएको थियो । उहाँको कन्भिन्सिङ पावर मोडलको रुपमा हामी सबैले सिक्नुपर्छ । उहाँ नेताहरूको धेरै लोकप्रिय हुनुहुन्थ्यो । उहाँले पाएको अवसरलाई पूर्ण रुपमा सफल गर्नुभयो ।’
कार्यक्रममा बोल्दै काँग्रेस सांसद एवं स्वास्थ्य तथा जनासंख्यामन्त्री प्रदीप पौडेलले राजनीतिमा प्राप्त उपलब्धिलाई स्व. सिंहले राम्रोसँग नेतृत्व गरेको भन्दै उनको स्मरण गरे । उनले प्राप्त अवसरलाई कसरी सदुपयोग गर्ने र सफलतापूर्वक निर्वाह गर्ने भन्नेकुरा स्व. सिंहको जीवनीबाट सिक्न सकिने बताए ।
उनले भने ‘अब राजनीतिमा कति प्राप्त हुन्छ त्यो एउटा विषय हो । प्राप्त भएको अवसरलाई कति सफलतापूर्वक निर्वाह गरिन्छ, त्यो सफलता हो भन्ने लाग्छ । त्यसबाट हेर्दा बेदाग पिएल दाइले प्राप्त अवसरलाई राम्रोसँग नेतृत्व गरेर जानुभयो । त्यसअर्थमा पिएल दाइ आफैँमा एउटा स्वच्छ छवि भएको इमानदार र निष्ठावान् हुनुहुन्थ्यो ।’
मन्त्री पौडेलले पिएल सिंहले नेपाली काँग्रेसको सिद्धान्त, विचारलाई अनुशासित रुपमा ग्रहण गरेको व्यक्तिका रुपमा चिनेको बताए ।
आइएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले दियो १ करोड
विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोलकी रोकायलाई शनिवार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गर्नुभयो । चेक बुझेपछि प्रमिलाले आइएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुबा आमाका लागि घर बनाइदिने योजना बनाएको बताउनु भयो ।
गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाण्डौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल हुनुभएको थियो ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो । आइएमईले एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम–आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।
आइएमई गरी आइएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी थिए । आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो ।
अहिलेको सरकारलाई झुकाएरै छोड्छौँ : मेटमणि चौधरी
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा बनेको आरोप लगाउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले दलाल पुँजीपतिहरुको लागि बनेको सरकारले श्रमीकहरुको पक्षमा निर्णय लिन नसक्ने जिकिर गर्नुभयो ।
श्रमीकहरुको पक्षमा आफ्नो पार्टीले संसद र सडकमा साथ दिने भन्दै उहाँले अहिलेको सरकारलाई कुनैपनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरुको पक्षमा काम गर्न नदिने बताउनु भयो । वर्तमान सरकारलाई श्रमीकको पक्षमा झुकाएरै छोड्ने उहाँको दाबी छ । अनौपाचारिक क्षेत्रमा रहनुभएका श्रमीकलाई औपचारिक क्षेत्रमा ल्याउन आफ्नो पार्टी सदैव तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एक त यो सरकार त्यसै पनि दलाल पुँजीपतिहरुको लागि बनेको सरार हो । तपाईंहरु फिल्डमा आन्दोलन गर्नुस्, प्रेसर गर्नुस् । हामी संसदमा गर्छौं, बोल्छौँ, सरकारलाई दबाब दिन्छौँ, तपाईंहरुको पावरको कारणले हामीले पनि त्यो खालको शक्ति संसदभित्र प्राप्त हुनेछ । सरकारलाई कुनैपनि हालतमा दलालको पक्षमा, उद्योगीहरुको पक्षमा, पुँजीपतिहको पक्षमा बनेको सरकारले कुनैपनि हालतमा हामीले झुकाउनुपर्छ । यसको लागि हाम्रो पार्टी तयार छ । इन्फरमल च्यानलमा रहनुभएका श्रमीकलाई फर्मल च्यानलमा ल्याउन हाम्रो पार्टी तयार छ ।’
उहाँले श्रमीकको पक्षमा ध्यान दिन सरकारले नसकेको जिकिर गर्नुभयो । श्रमीकहरुले आफ्नो ठाउँबाट आन्दोलनको शुरुवात गर्न आह्वान गर्नुभयो । श्रमीकको आन्दोलनलाई अझ सशक्त बनाउन जरुरी रहेको बताउनु भयो ।
‘विद्यार्थी जीवनमै भूमिगत,शान्ति प्रक्रियापश्चात स्नातकोत्तर गरेर सांसद भएपछि दीक्षित’
प्रतिनिधि सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता मावध सापकोटा दीक्षान्त समारोहमा दीक्षित भएका छन् ।
सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सापकोटा त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा शनिवार दीक्षित भएका हुन् । उनले आफु दीक्षित भएको कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् ।
सिन्धुपाल्चोकको कुविण्डेमा जन्मिएका सांसद सापकोटाले प्रारम्भिक शिक्षा सेतीदेवी पञ्चकन्या मावि कुविण्डेबाट हाँसिल गरेका थिए । विद्यार्थी जीवनमै भूमिगत राजनीतिमा होमिएपछि उनको औपचारिक अध्ययन टुटेको थियो । शान्ति प्रक्रियापश्चात उनी फेरी अध्यननमा जोडिएका थिए ।
उनले लेखेका छन्,‘आज त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेपछि दीक्षान्त समारोहमा सहभागी भएँ। कुविण्डेको श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा पढ्दै गर्दा दमनकारी शासनको सामना गर्नुपर्यो। विद्यार्थी जीवनमै भूमिगत राजनीतिमा होमिए पछि टुटेको औपचारिक अध्ययन शान्ति प्रकृया पश्चात जोडेको थिए ।’
त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा सापकोटासंगै १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन् ।
भीम रावललाई निष्कासन गरेपछि थापाको कडा टिप्पणी-देश आवेगमा बन्दैन, ठण्डा दिमागले सोचौँ
नेकपा एमालेका नेता कर्ण बहादुर थापाले नेतृत्वलाई ठण्डा दिमागले सोच्न अनुरोध गरेका छन् । एमालेका पूर्वउपाध्यक्ष तथा पूर्व गृहमन्त्री समेत रहेका डा. भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेका हुन् ।
उनले असल नियतका साथ साधारण छलफलबाट समाधान गर्न सकिने विषयलाई झनै जटिल बनाउने व्यवहारले संसारै बदल्ने कुरा गर्दा अपत्यारिलो हुन्छ कि भन्दै प्रश्न गरे ।
उनले भनेका छन्, ‘ठण्डा दिमागले सोचौँ । देश आवेग, उत्तेजना,निराशा र असन्तुष्टि वा विरोधले बन्दैन है । सबैका अनुभव र योग्यतालाई मिलाएर एकलयमा काम गर्दा मात्रै सही परिणाम निकाल्न सकिन्छ । सही ढंगले सोचौँ, त्यही अनुसार कदम चालौँ । नकारात्मक काममा एक सेकेन्ड समय पनि खेर नफालौँ ।’
सीमा क्षेत्रमा आतंकवाद विरोधी अभियान शुरु गरेको पाकिस्तानको दाबी
पाकिस्तानी विदेश मन्त्रालयले देशको सुरक्षा बलहरूले अफगानिस्तानसँगको सीमा क्षेत्रमा आफ्ना जनतालाई तेहरिक–ए–तालिबान पाकिस्तान ९टीटीपी० लगायतका आतंककारी समूहहरूबाट जोगाउन आतंकवाद विरोधी कारवाही गरेको बताएको छ ।
पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले आक्रमणको बारेमा जानकारी दिँदै कारबाहीहरू सावधानीपूर्वक योजनावद्ध रहेको बताउनु भयो । अफगानिस्तानको सार्वभौमसत्ताको लागि पाकिस्तानको सम्मान दोहो¥याउँदै बलोचले लगातार आतंकवादी खतराहरूलाई सम्बोधन गर्न वार्ता र सहयोगको लागि देशको प्राथमिकतालाई उजागर गर्नुभयो ।
अफगानिस्तानले पाकिस्तान विरुद्ध आतंकवादी हमलाहरूका लागि आफ्नो भूमिको प्रयोग रोक्नको लागि उपायहरू लिने आशा लिनुभयो । अफगान कार्यवाहक सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानले पाक्टिका प्रान्तको बर्मल जिल्लाका चार स्थानमा मंगलबार राति बमबारी गरेको र त्यसमा ४६ जनाको ज्यान गएको बताउनु भयो ।
जसमध्ये अधिकांश महिला र बालबालिका थिए । अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रातले हवाइ हमलामा कम्तीमा ५१ जनाको मृत्यु भएको पुष्टि गरे ।