अहिलेको सरकार स्थायित्व, सुशासन र विकासका लागि बनेको हो : शेखर कोइराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् । आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोईरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लागि बनेको बताएका हुन् ।
उनले सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको बताए । नेता कोईरालाले संविधानमा केही सुधारहरू गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता काँग्रेस र एमालेबीच सक्रियतापूर्वक काम भइरहेको बताए । संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूसँग समन्वय गरेर संशोधन गरिने उनको भनाई छ ।
नेता कोइरालाले भने, ‘दुई ठूला दल एक ठाउँमा उभिएर हामी निर्वाचनमुखी भएर अघि बढिरहेका छौँ । ०८४ को निर्वाचनका लागि हामी अघि बढेका छौँ । अलिकति तपाईंहरुलाई अचम्म पनि लाग्छ, यो के गरेको दुई वटा ठूला दल मिलेर सरकार बनाएका छन् भनेर रु तर नेपालको इतिहास हेर्नुभयो भने ०४६ सालको जनआन्दोलनपछि किसुनजी प्राइममिनिस्टर हुनुभयो । त्यसमा एमालेका साथीहरू पनि हुनुहुन्थ्यो । त्यसपछि पनि ०५६ को आम निर्वाचन हुनुभन्दा पहिला नेपाली काँग्रेसको गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुनुभयो । नेपाली काँग्रेस र एमाले मिलेर हामीले चुनाव पनि गराएका थियौँ । अहिले जसरी सरकार दुई, दुई महिना, तीन, तीन महिनामा परिवर्तन भइरहेको देखिरहनुभएको छ । तपाईंहरुलाई दिक्क लागिसकेको थियो । राजनीतिक स्थायित्वका निम्ति हामीले यो नेपाली काँग्रेस र एमालेको गठबन्धन गरेर चुनावमा हामी जाने भन्ने हो । केका लागि राजनीतिक स्थायित्व भन्दा पटक पटक सरकार बदलिने र यसले विकासका कामहरु भइरहेको छैन । सुशासनका कुराहरू पनि भइरहेका छैनन् । भ्रष्टाचारका कुराहरू पनि हामीले नियन्त्रण गर्न सकिरहेका छैन । सँगसँगै संविधानमा केही सुधारहरू ल्याउनुपर्छ भन्ने कुराहरू नेपाली काँग्रेस र एमालेमा भयो । त्यही भएर हामी सरकारमा गएको । नेपाली काँग्रेस र नेकपा एमालेको सरकार छ । अहिले एमालेको नेतृत्वमा छ, अब डेढ वर्ष बाँकी छ । डेढ वर्षपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार आउँछ । चुनावमा हामी होमिन्छौँ । यो हप्तादेखि नेपाली काँग्रेस र एमाले अलिअलि चलायमान भएको मैले पाएँ । त्यो राम्रो कुरा हो । अब संविधान जस्तो कुरा अन्य दलहरूसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरू गर्नुपर्ने हुन्छ । माओवादी, मधेसका दलहरू, रास्वपा अन्य दलहरूसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ । नेपाली काँग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ ।’
नेता कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताए । उनले अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने बताए । देश अराजकतातिर जान नदिन सबै गम्भीर रहेको नेता कोइरालाको भनाई छ ।