वन्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भुमिका उल्लेखनीय : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले प्रकृतिको संरक्षण गर्ने जिम्मा लिएर काम गरिरहेको दाबी गरेका छन् ।

आईतवार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले यस्तो दाबी गरेका हुन् ।

उनले जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनिकरण गर्ने काममा सरकार सक्रिय रहेको बताएका हुन् । उनले सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन र संरक्षणमा उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा गरे ।

उनले चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण, वन्यजन्तु अस्पताल र वन्यजन्तुको लागि पोषणयुक्त दानापानीको समेत व्यवस्था गर्न सफल भएको दाबी गरे ।

कोषको अध्यक्ष समेत रहेका उनले वन्यजन्तु संरक्षणका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताए । ‘२९ वर्षमा सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन, संरक्षण, र आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्न उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको पाइएको छ । सदर चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण गरिएको छ भने एम्बुलेन्सको व्यवस्था,दक्ष जनशक्तिसहितको अस्पताल समेत सञ्चालनमा आएको छ,’उनले भने‘वन्यजन्तुहरुहरुलाई उपयुक्त पोषण र पोषणयुक्त दानापानीको समेत व्यवस्था हुँदै आएको छ । अहिले हामी प्रकृतिको संरक्षण गर्ने जिम्माका साथै जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनिकरण गर्ने लगायतका कामहरु समेत गरिरहेका छौं ।’

उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरण गर्नको लागि चिडियाखानाहरुको महतवपूर्ण भुमिका रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *