नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने काम गर्छु : पूर्णबहादुर नेपाली
काठमाडौं । श्रीलंकाका लागि प्रश्तावित राजदुत पूर्णबहादुर नेपालीले आफू राजदुत बनेसँगै नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने गरी जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन् ।
आईतवार सिंहदरबारमा बसेको समिति बैठकमा आफ्ना कार्ययोजना प्रश्ततु गर्दै नेपालीले यस्तो बताएका हुन् । बैठकमा संसदीय सुनुवाइको क्रममा प्रश्तावित राजदुत नेपालीले विश्व समुदायमा नेपालको प्रतिष्ठा तथा गौरवमय छवि रहेको बताउँदै आफू जिम्मेवार भएर राष्ट्रको हित हुने काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउँदै आर्थिक समृद्धिको ढोका खोल्न लागिपर्ने बताए । उनले नेपालको संविधान परराष्ट्र नीतिलाई पूर्ण रुपमा पालना गर्ने बताए ।
उनले भने–‘विश्व समुदायमा नेपालको मान, सम्मान र प्रतिष्ठा तथा गौरवमय छवि जुन बनाउँदै आइरहेको छ त्यसप्रति म जिम्मेवार भएर राष्ट्रको हितका निम्ति काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । नेपाल र श्रीलंकाबीचको लामो कुटनीतिक सम्बन्ध बिस्तार, सम्मान र सहयोगलाई निरन्तरता दिनेछौं । असंलग्नको सम्बन्ध, क्षेत्रीय फोरमहरुमा समेत कुटनीति बलियो हुने अवधारणाहरु राख्न उपयुक्त ठानेको छु । बिमस्टेक र सार्कको सम्बन्धमा दुवै देशहरुले प्राप्त गरेका जुन उपलब्धीहरु छन् ति उपलब्धीहरु म आफ्नो मार्गदर्शनको रुपमा लिएर अघि बढ्नेछु । नेपालको संविधान २०७२, नेपालको परराष्ट्र नीति, २०७७ र सन्तुलित तथा पारस्परिक सम्बन्धका कुराहरुलाई महत्वपुर्ण रुपमा अवलम्वन गर्ने प्रयास गर्नेछु । विश्व शान्ती अभियानमा नेपाल सधैं पक्षधर थियो । यो भविष्यमा पनि रहने नै छ ।’
उनले बौद्ध दर्शनको बिस्तारका लगि आफू लागिपर्ने बताए । नेपालमा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी रहेको उल्लेख गर्दै प्रचुर अवसर र सम्भावना रहेको बताए ।
उनले आफू लुम्बिनीलाई ध्यान तथा मेडिटेसनको केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि बुद्धका योगदानहरुबारे जानकारी गराउँदै सुझबुझका साथ काम गर्ने बताए ।
नेपालीको नाम गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदुतमा समेत अनुमोदन भएको छ ।