सहकारी ठगी प्रकरण : पूर्व सांसद गुरुङ सहित तीन जनाको बयान सकियो
पोखरा । सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेका तीन जना प्रतिवादीको बयान सकिएको छ । आइतबार प्रतिवादीहरु रामबहादुर खनाल, पूर्व सांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङको बयान सकिएको हो ।
नेकपा एमालेबाट गण्डकी प्रदेशकी पूर्वसांसद रहेकी गुरूङलाई सहकारी ठगी प्रकरणमा गत पुष ९ गते मंगलबार निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।
कास्की जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेसंगै अदालतमा बयान लिने काम भइरहेको हो । न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीहरुको बयान लिने क्रम जारी छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने,गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईको बयान लिई सकिएको छ ।
आगामी मंगलबारपछि थुनछेक बहस सुरु हुने बताइएको छ । जिल्ला अदालत कास्कीमा रवि लामिछाने लगायत विरुद्ध सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपारधको कसुरमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेको थियो ।
सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट रास्वपा सभापति लामिछाने पक्राउ परेका थिए ।