सङ्घीय शिक्षा ऐन चाँडै ल्याइने छ : मन्त्री भट्टराई
मोरङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सङ्घीय शिक्षा ऐन चाँडै ल्याइने बताएकी छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित ‘सङ्घीय संरचनामा शिक्षा व्यवस्थापन’ विषयक छलफल एवं सुझाव सङ्कलन कार्यक्रममा मन्त्री भट्टराईले सङ्घीय शिक्षा ऐन संसदीय समितिमा छलफल प्रक्रियामा समेत अघि बढीसकेकाले चाँडै आउने र कार्यान्वयनमा आउने बताइन् ।
मन्त्री भट्टराईले शिक्षा क्षेत्र समस्याग्रस्त भएकाले यसको सुधारका लागि कानुन निर्माण आवश्यक रहेको बताइन् । उनले सरकार कानुन निर्माणका साथै व्यवहारिक पक्षलाई पनि बलियो बनाउने पक्षमा रहेको धारणा राखिन् । सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने उनको भनाइ थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको पहिलो आधार भएकाले यसको विकासका लागि तीन तहका सरकारले समन्वय गरी कार्य गर्नुपर्नेमा जोड दिए ।
उनले सङ्घीय शिक्षा ऐन चाँडै आउनुपर्ने भन्दै सङ्घले कानुन छिटोछरितो ढङ्गले नबनाउँदा शिक्षा क्षेत्र अघि बढ्न नसकेको गुनासो व्यक्त गरे ।
अहिलेको सामुदायिक शिक्षाको अवस्था कमजोर रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसको व्यवस्थापन र सुधार गर्न गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए ।
उनले विद्यालय एकापसमा गाभेर जानुपर्ने आवश्यकतामा जोड दिँदै दुईभन्दा बढी सामुदायिक विद्यालय गाभेमा सवारी साधन र भौतिक पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने जानकारी दिए ।
प्रदेशका सामाजिक विकासमन्त्री पाँच कर्ण राईले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा आकर्षित गर्न बालमैत्री र प्रविधिमैत्री विद्यालय बनाउनुपर्ने सुझाव दिए ।
शिक्षा सचिव डा दीपक काफ्ले र प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले शिक्षाको विकासका लागि तीन तहको सरकारबीच समन्वय आवश्यक रहेको बताए ।