दक्षिण कोरिया विमान दुर्घटना : दिइएको थियो चरा ठोक्किन सक्ने चेतावनी
सियोल । दक्षिण कोरियाको दक्षिणपश्चिमी प्रान्त मुआनमा दुर्घटनाग्रस्त जेजु एयरको यात्रुवाहक विमान दुर्घटना हुनुभन्दा छ मिनेटअघि विमानस्थलको कन्ट्रोल टावरले चरा ठोक्किन सक्ने चेतावनी दिएको थियो ।
सियोलबाट २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जिओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर आइतबार बिहान दुर्घटना भएको थियोे ।
हवाई सुरक्षाको रेखदेख गर्ने भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको प्रेस ब्रिफिङ अनुसार कन्ट्रोल टावरले बिहान ८ः५७ बजे चेतावनी जारी गरेको हो । विमान चालकले चेतावनीपछि सङ्कटकालीन अवस्थाको घोषणा बिहान ८ः५९ मा गरेको मन्त्रालयले जनाएको छ । त्यसपछि चालकले बिहान ९ बजे अवतरणको प्रयास गरेपनि तीन मिनेटपछि बिहान ९ बजेर ३ मिनेटमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो ।
“धावनमार्ग नम्बर १ मा अवतरण गर्ने क्रममा कन्ट्रोल टावरले चरा ठोक्किनसक्ने अवस्थाको (बर्ड स्ट्राइक) को चेतावनी जारी गरेको थियो र त्यसको केही समयपछि चालकले आपतकालीन अवस्था (मे डे) को घोषणा गरेका थिए,” मन्त्रालयले भनेको छ ।
अधिकारीहरुका अनुसार कन्ट्रोल टावरले धावन मार्गमा विपरीत दिशामा अवतरणका लागि अनुमति दिएको थियो, त्यसपछि पाइलटले रनवेमा ठोक्किएर भित्तामा नठोक्किँदासम्म अवतरणलाई सुरक्षित गर्ने प्रयास गरेका थिए ।
मन्त्रालयले मुआन विमानस्थलको धावनमार्ग तुलनात्मक रुपमा छोटो भएका कारण दुर्घटना भएको भन्ने धारणालाई अस्वीकार गरेको छ । धावनमार्ग दुई हजार ८०० मिटर लामो भए पनि निर्माण कार्य जारी रहेकाले अहिले वास्तविक लम्बाइ करिब दुई हजार ५०० मिटर रहेको छ ।
“आज दुर्घटनाग्रस्त भएको बोइङ ७३७–८०० विमान एक हजा् ५०० मिटरदेखि एक हजार ६०० मिटर लामो धावनमार्गमा अवतरण गर्न सक्छ,” मन्त्रालयका एक अधिकारीले भने । उनले भने, “धावनमार्गको लम्बाइका कारण दुर्घटना भएको भन्न गाह्रो छ किनभने अन्य विमानहरू कुनै समस्या बिना अवतरण गरिरहेका छन्।”
कोरिया एयरपोर्ट कर्पोरेशन (क्याक) को तथ्याङ्कअनुसार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ देखि यस वर्षको अगष्टसम्म १० वटा चरा ठोक्किएका घटना (बर्ड स्ट्राइक) भएका छन् ।क्याकका अनुसार विमानस्थलहरूले चराहरूलाई टाढा राख्न ध्वनिक निवारक र अन्य उपायहरू प्रयोग गरेका छन् ।
यातायात मन्त्रालयले आफ्नो ‘एभिएसन एन्ड रेलवे एक्सिडेन्ट इन्भेस्टिगेसन बोर्ड’का सदस्यहरूलाई आइतबार दिउँसो मुआन विमानस्थलमा पठाएको छ । उनीहरूले विमानबाट फ्लाइट डाटा रेकर्डर (ब्लाक बक्स) निकालेका छन् भने ककपिट भ्वाइस रेकर्डर सुरक्षित गरिरहेका छन् ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन लामो समय लाग्ने अधिकारीहरूले बताएका छन् । विमानमा सवार १७५ यात्रु र चालक दलका छ सदस्यगरी १८१ जनामध्ये १७६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका थिए । चालक दलका दुई सदस्यलाई जीवितै उद्धार गरिएको छ ।
मुआन दुर्घटना दक्षिण कोरियामा अहिलेसम्मकै तेस्रो सबैभन्दा घातक हवाई दुर्घटना हो । सन् १९८३ मा सोभियत लडाकु विमानले रूसी आकाशमा उडेको कोरिययन एयरको विमान खसाल्दा विमानमा सवार सबै २६९ जनाको मृत्यु भएको थियो भने सन् १९९७ मा गुआममा कोरियन एयरको विमान दुर्घटना हुँदा २२५ जनाको मृत्यु भएको थियो ।