युवा पंक्तिलाई प्रधानमन्त्रीको आग्रह : गलत व्यक्तिको संगतमा नपर्नुस्

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा पंक्तिलाई गलत व्यक्तिको संगतमा नपर्न आग्रह गरेका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति चिनेर मात्र संगत गर्न युवा पंक्तिलाई आग्रह गरेका हुन् ।

उनले पछिल्लो समय समाजमा युवाहरुलाई भड्काउन अनेक क्रियाकलाप भइरहेका उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताए । गलत मान्छेको संगतमा परेर समय खेर फाल्नुभन्दा सयमको सदुपयोग गर्न जरुरी रहेको उनको भनाइ छ ।

उनले भने,‘युवाहरुलाई मेरो आग्रह के छ भने गलत संगतमा नपर्नुस् । मान्छे आफैँ बिग्रिदैन संगतले बिगारेको हुन्छ । कोही ड्रगिस आफैं भएको हुँदैन । संगतले नै बिगारेको हुन्छ । कोही मान्छे अत्यन्त राम्रो भएर निस्किएको हुन्छ, त्यसमा अरुको गुण आएको हुन्छ । आमाबाट गुण आएको हुन्छ, बाउबाट आएको हुन्छ । साथीभाईबाट गुण आएको हुन्छ । त्यसकारणले गलत व्यक्तिको संगत नगर्नुस्, संगत गर्नुभन्दा अगाडि राम्रो व्यक्ति छानेर गर्नुस् भन्छु मैले । मौरीको संगतमा लाग्नुभयो भने फूलबारीमा पुगिन्छ, झिंगाको पछिपछि लाग्नुभयो भने फोहोरको डंगुरमा पुगिन्छ । झिंगाले कहिल्लै फूलको रस चुस्दैन पनि फूलमा बस्दैन पनि । मौरी फूलबारीतिरै जान्छ । अहिले युवाहरुलाई भड्काउने अनेक क्रियाकलापहरु भइरहेका छन् । दुई दिनको जिन्दगीमा मरिलानु के छ र ? भन्छन् । यो त्यही समयलाई सदुपयोग गर्नुपर्छ । त्यस समयलाई खेर फाल्नु हुँदैन ।’

नेकपा (एमाले) देश बनाउने अभियानमा हिँडेको उनको दाबी छ । अन्य राजनीतिक दलहरुले आफूलाई राम्रो भन्न नसकेका कारणले एमालेलाई नराम्रो भन्दै हिँडेको उनको टिप्पणी छ । कार्यक्रममा सन् २०२४ को मिसेस हेरिटेज इन्टरनेशलको उपाधि जितेकी विभा बस्नेत लगायत पार्टी प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *