आज दिनभर देश विदेशमा के-के भयो ?

मौरीको पछि लागेमा फूलबारी,झिँगाको पछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए ।

“एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईंहरुको एमालेमा आउने छनोट सही छ । तपाईंहरु नमूना हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्नपर्ने नभई कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवनयापन गर्न आग्रह गरे । कार्यक्रममा नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गरेका थिए ।

सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत एमालेमा प्रवेश गरेका थिए । पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरु सारथि बन्ने उल्लेख गरे ।

कार्यक्रममा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थित थिए ।

युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न सक्दैनन् : देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न नसक्ने बताएका छन् ।

आइतवार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रिय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कुनैपनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताए । उनले खेलकुदमा युवाहरु बढी हुने भएकाले काँग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताए ।

‘नेपालमा खेलकुद जगतमा बढी ब्यस्त लागेका साथीहरुले हाम्रो पार्टीलाई पनि मजबुत बनाउनसक्छ । कुनैपनि पार्टीमा युवा पुस्ता जबसम्म हुँदैन, तबसम्म त्यो पार्टी अघि बढ्न सक्दैन,’ उनले भने ‘खेलकुदमा युवाहरु बढी हुने भएकाले हामीले जोड दिनुपर्छ । सबै साथीहरु लागेर खेलकुद जगतलाई बढाउनुपर्छ । हाम्रो पार्टीबाट पूरा सहयोग छ ।’

उनले खेलकुद स्वस्थ शरीरका लागि महत्वपूर्ण रहेको बताए । ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्मसमशेर राणाहरु मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने बताए ।

सभापति देउवाले खेलकुद जगतलाई नेपाली काँग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्छ : डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस तीनै तहमा एक्लै चुनाव लड्ने बताएका छन् । कांग्रेसको लक्ष्य तीनै तहमा चुनाव एक्लै लडेर जित्ने रहेको उनले बताए ।
जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने बताए ।

दुई÷दुई महिनामा सरकार परिवर्तन हुने र राजनीतिक स्थायित्व नहुने भएपछि एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यता आइपरेको उनले बताए ।

सरकारले विलम्ब नगरी संविधानमा रहेका त्रुटि परिवर्तन गर्न अन्य दलसँग मिलेर अगाडि बढ्नुपर्ने समय आएको नेता कोइरालाको भनाइ थियो । पार्टीको महाधिवेशन समयमै गर्न पनि उनले जोड दिए ।

राष्ट्रपति पौडेलबाट सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् ।

“राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले उक्त अध्यादेश ल्याएको हो ।

वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन् । नयाँ र वैकल्पिक वित्तीय स्रोत खोज्नका लागि नीतिगत व्यवस्था गर्न सरकारले विधेयक ल्याउने तयारी गरिरहेको पनि उनले बताए ।

‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकाङ्क्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ’, अर्थमन्त्री पौडेलले भने, ‘त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई सम्बोधन गर्नेगरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयारी गरेका छौँ र यसलाई छिट्टै कानुनी प्रक्रियामा प्रवेश गराउँदै छौँ ।’

अर्थ मन्त्रालयको आन्तरिक छलफलका क्रममा अर्थमन्त्री पौडेलले नेपालको तीव्र विकासका लागि नयाँ सोच र दृष्टिकोणका साथ अघि बढ्न आवश्यक रहेको र वैकल्पिक विकास वित्तबाट थप स्रोत जुटाउन तथा लगानी गर्न महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन् । ‘आर्थिक समृद्धिका लागि पूर्वाधारमा मात्र नभए र दक्ष जनशक्तिको विकास र सफ्टपावरमा पनि ठूलो लगानी गर्न जरुरी छ’, अर्थमन्त्री पौडेलले भने, ‘वैकल्पिक वित्तले सार्वजनिक विकासका धेरै क्षेत्रमा सिर्जनशील र नयाँनयाँ दृष्टिकोणका लागि ढोका खोल्नेछ ।’

अर्थमन्त्री पौडेलले नेपालमा भएका विकासका धेरै कामप्रति अपनत्व लिँदै अघि बढ्न, थप स्रोत व्यवस्थापन तथा त्यसको परिचालनका लागि स्पष्ट योजनाका साथ खुला हृदयले अघि बढ्नुपर्नेसमेत धारणा राखे । ‘विकास र आर्थिक समृद्धिका लागि राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरूले पनि विगतको आ–आफ्नो भूमिकालाई नयाँ ढङ्गले अघि बढाउनुपर्छ । सरकार पनि त्यसका लागि तयार छ’, उनले भने ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार वैकल्पिक विकास वित्तले पूर्वाधार क्षेत्रको प्राथमिकीकरण, पूर्वाधार लगानीका लागि स्वदेशी तथा विदेशी स्रोत लगानीको व्यवस्था, विभिन्न वित्तीय उपकरणको सही प्रयोग लगायतमा सहयोग गर्छ ।

यसैगरी सार्वजनिक निजी साझेदारी, पूर्वाधार बोन्ड, पूर्वाधार कोषलगायतले निजी क्षेत्र पनि अघि बढ्ने अझ फराकिलो अवसर सिर्जना गर्ने जनाइएको छ ।

नेपालको दीर्घकालीन आर्थिक र सामाजिक विकासको प्रमुख आधार भनेको पूर्वाधार तथा उत्पादनशील क्षेत्रको विकास तथा प्रवद्र्धन भएको उनको भनाइ थियो । ‘नेपालमा ऊर्जा, यातायात, स्वास्थ्य, शिक्षा, जलस्रोत, उत्पादनशील उद्योग र कृषियोग्य भूमिको उपयोगलगायत क्षेत्रमा ठूला परियोजना आवश्यक छन्, जुन राष्ट्रिय विकासका लागि अत्यन्त महत्त्वपूर्ण छन् । पारम्परिक सरकारी बजेट र वित्तीय स्रोतहरू यी ठूला र दीर्घकालीन परियोजनाहरूका लागि पर्याप्त नहुन सक्छन्’, उनले भने ‘यस सन्दर्भमा वैकल्पिक वित्तीय स्रोतहरूको प्रयोग गरेर नेपालका महत्वपूर्ण पूर्वाधार तथा उत्पादनशील परियोजनाहरूलाई गति दिन आवश्यक देखिएको छ ।’

वैकल्पिक वित्तीय स्रोतअन्तर्गत विभिन्न प्रकारका लगानी संरचनाहरू जस्तै भेञ्चर क्यापिटल, म्युचुअल फन्ड, परियोजना विशेष ऋणपत्र, रेमिट कोष, पूर्वाधार कोष, परियोजना इन्कुबेशन कोष तथा अन्य वित्तीय साधन प्रयोग हुनेछन् ।

त्यसैगरी यसका लागि सरकारी योगदानका अतिरिक्त अन्तर्राष्ट्रिय बहुपक्षीय तथा द्विपक्षीय संस्थाहरूको लगानी, निजी क्षेत्रको लगानी, आप्रवासी नेपालीहरूको लगानी, संस्थागत लगानी, ग्रीन बण्ड, जलवायु कोष लगायतबाट स्रोत व्यवस्थापन गरिने जनाइएको छ ।

नागार्जुनका मेयर बस्नेतमाथि भ्रष्टाचार र शुद्धीकरणको मुद्दा दायर,२२ करोड बढी बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगर प्रमुख (मेयर) मोहनबहादुर बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसबाट निर्वाचित बस्नेत सहित पत्नी उर्मिला बस्नेत र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेमेयर बस्नेतमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।

राष्ट्रिय किताबखानाका शाखा अधिकृत तीन लाख घुससहित पक्राउ

राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीमार्ग तहाचल, काठमाडौंका शाखा अधिकृत तीन लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार साँझ शाखा अधिकृत धनेश्वर प्रसाईंलाई सेवाग्राहीसंग तीन लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

पक्राउ परेका प्रसाईमाथि थप अनुसन्धान भइरहेको छ । सेवाग्राहीको पेन्सनपट्टा बनाईदिने भन्दै उनले घुस मागेको आरोप छ ।

ब्रोइलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु, तीन जना अस्पताल भर्ना

कुखुराको मासु खाँदा अछाममा एक जनाको मृत्यु भएको छ भने तीन जना बिरामी परेका छन् ।

कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए । बयलास्थित तुलासिंह विकको घरमा ल्याएको ब्रोइलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।

मासु खाँदा विकको घरमा थप तीनजना बिरामी भएका छन् । बिरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ । के कती कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

दक्षिण कोरिया विमान दुर्घटना : ‘ब्ल्याक बक्स’ भेटियो

दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित निकालेको जनाएको छ । ‘ब्ल्याक बक्स’ विमान उडानका समय भएका गतिविधिहरूको रेकर्ड गर्ने उपकरण हो ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले स्थानीय टेलिभिजनलाई दिएको जानकारीमा ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडानसम्बन्धी तथ्याङ्क (डाटा) र भ्वाइस रेकर्डर दुवै भेटिएका’ बताएका छन् ।

विमानमा १७३ दक्षिण कोरियाली र दुई थाइल्याण्डका नागरिकसहित १७५ यात्रु रहेका थिए भने छ जना चालक दलका सदस्य थिए । दुर्घटनाग्रस्त विमान राजधानी सियोलबाट करिब २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयअनुसार आइतबार बिहान ९ः०७ बजे दुर्घटनाग्रस्त भएको थियो ।

थाइल्याण्डको बैङ्ककबाट उडेको जेजु एयरको विमान ७सी२२१६ रनवेबाट चिप्लिँदा धावनमार्गको बाहिरी भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा सवार १८१ जनामध्ये ३३ र २५ वर्षका दुई जना चालक दलका सदस्यबाहेक अधिकांशको मृत्यु भएको अनुमान गरिएको छ । हराइरहेका शवको खोजी कार्य जारी छ । अग्नि नियन्त्रक अधिकारीहरूले चराको आक्रमणका कारण विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् ।

पहिलो अवतरण प्रयासपछि, विमान अवतरण गियरको अनुमानित खराबीको कारण विमानले पुनः आकाशमा फर्किएकोे र दोस्रो अवतरण प्रयास ‘बेली–ल्यान्डिंग’को साथ गरिएको थियो ।

स्थानीय टेलीभिजनले प्रशारण गरेको एउटा फुटेजमा बोइङ ७३७–८०० विमानबाट कालो धुवाँको मुस्लो निस्केको देखिएको छ । अर्को फुटेजमा विमानको दायाँ पखेटामा रहेको इन्जिनमा अवतरण गर्नुअघि आगोको ज्वालासहितको धुवाँ निस्किरहेको देखिएको छ ।

यातायात मन्त्रालयले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएको छ ।

खेलकुद संघलाई कारवाही गर्दैछु, हस्तक्षेप नहोस् : खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्नुपर्ने बताएका छन् ।

आइतवार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रिय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पहिला खेलकदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राखेको भएपनि केह िवर्ष यता नराखेकोप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले खेलकुदलाई सामाजिक उत्तरदायित्वमा राख्नसके रोजगारी सिर्जनादेखि अन्य धेरै फाइदा हुने बताए । आगामी वर्षको बजेटमा खेलकदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्न पहल गर्ने बताए ।

कानून नमान्ने खेलकुद संघलाई कारबाही गर्ने चेतावनी समेत दिए । खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको मन्त्री चौधरीको भनाइ छ ।

अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन स्थगित गर्न पत्राचार गरे पनि कमिटीले त्यसलाई अटेर गरेको बताए ।

मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरूलाई पत्रचार गरेपनि नमानेको भन्दै स्पष्टीकरण पठाएको समेत बताएका हुन् ।

केही दिनभित्र खेलकुद संघलाई कारवाही गर्ने भन्दै उनले त्यसमा हस्तक्षेप नगर्न शिर्ष नेताहरुलाई आग्रह गरे ।

मन्त्री चौधरीले खेलकुद क्षेत्रको बजेट बढाउन आवश्यक रहेको बताए । उनले नीतिअनुसार स्पष्ट बजेट आउन नसकेको गुनासो गरे । उनले विद्यालय स्तरमा बजेट सबैभन्दा बढी हुनुपर्नेमा नरहेको गुनासो गरे ।

अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपाललाई

भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गरेको हो ।

नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीले पाँच रजत र दुई कास्य पदक समेत प्राप्त गरेका छन् । प्रतियोगितामा नेपालका खेलाडी रिमा कुमालले ६८ किलो तौल समूहमा भारत र श्रीलङ्काका प्रतिस्पर्धीलाई हराउँदै स्वर्णपदक हात पार्न सफल भएकी थिइन् ।

यस्तै बिपीन रानाले ५० किलो तौल समूहमा र शाहिल गुरुङले ५५ किलोमा स्वर्ण पदक प्राप्त गरे । यस्तै नेपालका बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवश आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्त्याल, समीक्षा दर्लामी, आदित्य गुरुङ, प्रविन भट्टराई र आकृति छन्त्यालले समेत स्वर्ण पदक जित्न सफल भए ।

प्रतियोगितामा भारत १६ स्वर्ण, २९ रजत र ६१ कास्य पदक प्राप्त गरी द्वितीय तथा श्रीलङ्का ६ स्वर्ण, पाँच रजत र १५ कास्य पदक प्राप्त गरी तृतीय भयो ।यसअघि नेपालको तर्फबाट उत्कृष्ट काता प्रदर्शन गरेका १० वर्षमुनि समूहका सिद्वार्थ रानाले स्वर्ण पदक प्राप्त गरेका थिए । यस्तै समूहगत कातातर्फ पनि नेपालका ६ खेलाडीले स्वर्ण पदक जिते ।

विजयी खेलाडीलाई भारतीय राष्ट्रिय कराते सङ्घका महासचिव राजु थापाले शिल्ड तथा प्रमाणपत्र वितरण गरे । भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काक विभिन्न उमेर समूहका एक सयभन्दा बढी खेलाडी सहभागी थिए ।

प्रतियोगितामा जापान गोजुरियो कराते डो मिसन सङ्घ, नेपालका तर्फबाट विभिन्न तौल र उमेर समूहका १८ महिला तथा पुरूष खेलाडी सहभागी रहेका संस्थाका अध्यक्ष केवी रानाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *