भीम रावलसंगको भेटपछि कर्ण मल्लले भने, ‘संगै जान सकिने विषयमा छलफल भयो’
काठमाडौं । नेकपा एमालेबाट निष्काशित नेता भीम रावल र कांग्रेसबाट निष्काशित कर्ण मल्लबीच भेटवार्ता भएको छ । उनी रावललाई भेट्न रावल निवास टोखा पुगेका थिए ।
त्यसक्रममा उनीहरुबीच आगामी राजनीतिक यात्रा नयाँ ढंगले संगै जान सकिने विषयमा छलफल भएको छ । मल संगै सुदुरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा.तारा जोशी पनि सहभागि थिए ।
सुदुरपश्चिम प्रदेश सभाका पूर्व सांसद मल्लले मकालुखबरसंग भने,‘एकै ठाउँको मान्छे,एउटा उचाई भएको नेता,पार्टीले साधारण सदस्यताबाट निकालेपछि के कस्तो अवस्था छ भनेर हामी भेट्न गएका हौँ,मेरो व्यक्तिगत र राजनीतिक रुपमा पनि दायित्व हो । उहाँलाई ओली बाले निकाल्यो मलाई शेर बहादुर दाइले निकालेको मान्छे,आगामी राजनीतिक यात्रा नयाँ ढंगले संगै जान सकिने विषयमा प्रारम्भिक छलफल भएको छ ।’
रावलले बुधवार पत्रकार सम्मलेन गरेर आगाी राजनीतिक यात्राबारे जानकारी दिने बताइएको छ । भेटका क्रममा उनीहरू दुवै जनाले रावलको भावी राजनैतिक कदमबारे चासो राखेका थिए । रावलाई उनीहरुले साथ दिनसक्ने बताइएको छ ।
मल्ल हाल नेपाली कांग्रेस बीपीका उपसभापति हुन् । जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य थिए । उनी त्यसअघि एमालेमा आवद्ध थिए । एकीकृत समाजवादीले प्रदेश सभा सदस्यको टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
पुस १० गते बसेको नेकपा (एमाले) को सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई पार्टीको संगठित सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो। पार्टीबाट निकालिएपछि रावलले नयाँ पार्टी खोल्नेबारे छलफल गरिरहेका छन्।