नेपाली गीत संगितहरू गुणस्तरीय बन्दै गइरहेका छन् : संस्कृतिमन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली गीत, सङ्गीतहरू गुणस्तरीय बन्दै गइरहेका बताएका छन् ।
सोमवार सुदूरपश्चिम कलाकार समाजले पुस पन्ध्रको अवसरमा काठमाडौं आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
उनले नेपाली गीतहरू गुणस्तरीय बन्दै गएका कारण विदेशी गीतहरू विस्थापित हुँदै गइरहेका उल्लेख गरे । उनले सबै समुदायको भाषाको विकास गर्दै लैजानुपर्नेमा जोड दिए । उनले सुदूरपश्चिमको भाषा राष्ट्रियकरण हुँदै गएको समेत बताए । भाषा, साहित्य, संस्कृति र भेषभुषाको विकासमा कलाकारहरूको महत्वपूर्ण भुमिका हुने उनको भनाइ छ ।
उनले भने ‘सुदूरपीश्चमको भाषालाई सिङ्गो नेपालले सुन्न थालेको छ । यो भाषा मिठो लाग्न थालेको छ । त्यो दूरदराजबाट आज हामीले भाषा, साहित्य, संस्कृति भेसभुसालाई विकास गरी यहाँसम्म ल्याइपुर्याएका छौं । यसको अझै विकास गर्नुपर्ने छ । भाषाको विकासमा कलाकार साथीहरूको महत्वपूर्ण सहयोग हुन्छ । कुनैबेला हामीले हिन्दी गीतहरू सुन्नुपर्थ्यो । आज गुणस्तरीय बनाउन सकेकै कारणले नेपाली गीतहरू सुन्न थालेका छन् । त्यसैले गुणस्तरको सबै ठाउँमा महत्त्व छ । यहाँहरूको लगन र मेहनतले गुणस्तरीय समग्रीहरु प्रस्तुत गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।’
कार्यक्रममा सुदूरपश्चिमका स्थानीय कलाकारदेखि राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिएका थिए ।