ओलीतिर सुई सोझिएपछि प्रधानमन्त्रीबाट हटाइयो : प्रचण्ड
झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् ।
सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् ।
उनले ओलीमाथि आफूले गिरिबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न सुरु गरेसँगै र नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै सरकार ढालिएको बताए ।
उनले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको बताए । उनले गिरिबन्धु टिस्टेटमा प्रधानमन्त्री ओलीले बदमासी गर्नुभएको आरोप लगाउँदै बदमासीको पर्दाफास गरेरै छोड्ने घोषणा गरे । उनले प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी, बेइमानी भएको आरोप लगाए ।
उनले भने ‘म तपाईंहरुलाई भन्न चाहन्छु, आज यो ठाउँ, सम्भवतः यो ठाउँ अहिलेको प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी मेरो लागि त यत्ति धेरै जाली, यति धेरै झेली मान्छे, उनको ठाउँमा सायद म बोल्दै छु । म भन्न चाहन्छु, उहाँको दिमागमा जालझेल बाहेक अरु भएको देखिँदैन । उहाँले जालझेल नै गरिराख्नु हुन्छ । तर म गिरिबन्धु टिस्टेटमा उहाँले गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्नेछु । गिरिबन्धुको, ओम्नीको, वाइडबडीका तमाम समस्या छन् । मलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको छ । किनभने भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर नै हो । मेरो सुई अब गिरिबन्धुतिर जाँदै थियो । गिरिबन्धुतिर भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर जाँदै थियो । त्यसपछि एउटा आतंक भएको हो । मैले सदनमा पनि भनेको छु, तपाईँहरूको अगाडि पनि भन्न चाहन्छु, चुनौतीका साथ कुनैपनि हालतमा नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न दिइने छैन । त्यसलाई हर हालतमा बचाइनेछ । र संविधान संशोधन जनताको अधिकार थप्नका लागि आदिवासी जनजातिलाई अझ अधिकार सम्पन्न बनाउनको लागि, महिलालाई अझ विशेष अधिकार दिलाउन, मधेसी, सबैसबै आदिवासी जनजातिलाई पनि अधिकार थप्नका लागि संविधान संशोधन हुन्छ । संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई नै छ । किनकि संविधान सभामा माओवादी केन्द्रले नै भिन्न मत राखेको छ ।’
अध्यक्ष दाहालले नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न नदिने प्रतिबद्धता जनाए । संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई रहेको बताए ।