खबर दिनभर : यी हुन् आजका प्रमुख समाचार
ओलीतिर सुई सोझिएपछि प्रधानमन्त्रीबाट हटाइयो : प्रचण्ड
झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् ।
सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ मा नेकपा ९माओवादी केन्द्र० को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् ।
उनले ओलीमाथि आफूले गिरिबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न सुरु गरेसँगै र नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै सरकार ढालिएको बताए ।
उनले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको बताए । उनले गिरिबन्धु टिस्टेटमा प्रधानमन्त्री ओलीले बदमासी गर्नुभएको आरोप लगाउँदै बदमासीको पर्दाफास गरेरै छोड्ने घोषणा गरे । उनले प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी, बेइमानी भएको आरोप लगाए ।
उनले भने ‘म तपाईंहरुलाई भन्न चाहन्छु, आज यो ठाउँ, सम्भवतः यो ठाउँ अहिलेको प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी मेरो लागि त यत्ति धेरै जाली, यति धेरै झेली मान्छे, उनको ठाउँमा सायद म बोल्दै छु । म भन्न चाहन्छु, उहाँको दिमागमा जालझेल बाहेक अरु भएको देखिँदैन । उहाँले जालझेल नै गरिराख्नु हुन्छ । तर म गिरिबन्धु टिस्टेटमा उहाँले गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्नेछु । गिरिबन्धुको, ओम्नीको, वाइडबडीका तमाम समस्या छन् । मलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको छ । किनभने भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर नै हो । मेरो सुई अब गिरिबन्धुतिर जाँदै थियो । गिरिबन्धुतिर भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर जाँदै थियो । त्यसपछि एउटा आतंक भएको हो । मैले सदनमा पनि भनेको छु, तपाईँहरूको अगाडि पनि भन्न चाहन्छु, चुनौतीका साथ कुनैपनि हालतमा नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न दिइने छैन । त्यसलाई हर हालतमा बचाइनेछ । र संविधान संशोधन जनताको अधिकार थप्नका लागि आदिवासी जनजातिलाई अझ अधिकार सम्पन्न बनाउनको लागि, महिलालाई अझ विशेष अधिकार दिलाउन, मधेसी, सबैसबै आदिवासी जनजातिलाई पनि अधिकार थप्नका लागि संविधान संशोधन हुन्छ । संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई नै छ । किनकि संविधान सभामा माओवादी केन्द्रले नै भिन्न मत राखेको छ ।’
अध्यक्ष दाहालले नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न नदिने प्रतिबद्धता जनाए । संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई रहेको बताए ।
नेकपा एमालेबाट निस्कासित भएपछि डा.भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका रावलले सुदूरपश्चिमका विभिन्न पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन् ।
मल्ल र जोशीसँग भीम रावलको भेटवार्ता, नयाँ पार्टी खोल्ने तयारी
जस अन्तर्गत नेता रावलले डडेलधुराका दुई प्रभावशाली नेताहरूसँग भेटवार्ता गरेका छन् ।
पूर्व सांसद कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा तारा जोशीसँग रावलले छलफल गरेका हुन् । मल्ल पूर्व काँग्रेसी हुन् भने जोशी पूर्व एमाले हुन् ।
सुदूरपश्चिम प्रदेशमा राम्रो पकड भएका भनिएका मल्ल र जोशीले सोमबार नेता रावललाई भेट्न रावल निवास टोखा पुगेका थिए । उनीहरू दुवै जनाले रावलको भावी राजनैतिक कदमबारे चासो राखेका थिए ।
रावल भेट्न पुगेका मल्ल र जोशी दुवैले आगामी यात्रामा साथ दिन सक्ने संकेत गरेको स्रोतले जनाएको छ ।
प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक होऔँ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ । सोमवार टुँडिखेलमा तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले प्राप्त अधिकार र उपलब्धि सहजै प्राप्त नगरेको भन्दै यसलाई संस्थागत गर्न जरुरी रहेको बताउनु भयो । लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा सबै मिलेर गर्नुपर्ने बताउनु भयो ।
उहाँले आम नेपाली जनताहरु राष्ट्र र समाजलाई उन्नत र सम्पन्न राष्ट्र बनाउनुपर्ने बताउनु भयो । उहाँले पहिचानको सुरक्षा र संवद्र्धन गर्दै अघि बढ्न जरुरी रहेको बताउनु भयो । प्राप्त अधिकारको सुरक्षा र संवद्र्धनका लागि जिम्मेवारीपूर्ण ढंगले काम गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी सबैले प्राप्त गरेको यो अधिकार सजिलैसँग प्राप्त गरेको होइन । धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई यसलाई सुरक्षित राख्दै, संस्थागत गर्दै हामीले यसै अधिकारलाई सुरक्षित र संस्थागत गर्दै आउँदै गरेको दिनमा आम नेपाली जनता, राष्ट्र र समाजलाई उन्नतिको एउटा उन्नत, सम्पन्न राष्ट्र बनाउन लाग्नुपर्छ ।’
उपप्रधानमन्त्री सिंहले पुर्खाले छोडेका रितिथिति र परम्परा जोगाउन सबै सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो । पुर्खाले छोडेर गएका संस्कार र संस्कृतिको जगेर्ना गर्न जरुरी रहेको बताउनु भयो ।
नेकपा एसमा आउने सम्भावना छँदैछ : वामदेव गौतम
पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ ।
सोमवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो । भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताउनु भयो । उहाँले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पुराना पुराना संस्मरणहरु पुनःजीवित गरियो । नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो । र आजलाई स्थगित भयो । पार्टीमा आउने सम्भावना छँदैछ ।’
नेता गौतमले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताउनु भयो ।
ऊर्जा क्षेत्रको विकासबाट नै मुलुकमा आर्थिक विकास हुन्छ, जनतामा समृद्धि आउँछ : ऊर्जामन्त्री खड्का
ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गर्नुभएको छ ।
ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गर्नुभएको हो । मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास गरेर मुलुकमा आर्थिक समृद्धि ल्याउन सम्भव रहेको उल्लेख गर्नुभयो ।
उहाँले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादन गर्ने र आन्तरिक खपतको लागि जोड दिँदै बाँकी रहेको विद्युत निर्यात गर्ने लक्ष्य राखेको बताउनु भयो । उक्त लक्ष्य पूरा गर्न नीतिगत र संरचनामा सुधार गर्नुपर्ने बताउनु भयो ।
संरचना र नीतिगत परिवर्तनका लागि सरकार तयार रहेको बताउनु भयो । उहाँले जलविद्युत क्षेत्रमा देखिएका वनका समस्या,जग्गा प्राप्ति जस्ता समस्याहरुलाई समेत समेटेर छिटो छरितो गर्ने,हिउँदको समयमा विद्युत अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको जानकारी दिनुभयो ।
उहाँले भारतसँग विद्युत विक्री गर्ने सम्झौता गरेसँगै यो वर्ष साढे ९ सय मेगावटसम्म विक्री गर्न सफल भएको बताउनु भयो । उहाँले भारतमा विद्युत व्यापार वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम भएको बताउनु भयो ।
उहाँले विगतमा विद्युत निर्यातमा १३ अर्ब जति रकम भारतलाई तिर्ने गरेको भएपनि यो वर्ष १० अर्ब बढी नाफामा रहेको बताउनु भयो । उहाँले बंलादेशमा विद्युत विक्री गर्ने विषयमा मूर्त रुपमा दिएर अन्तरदेशिय विद्युत व्यापारकोे ढोका खोलेको बताउनु भयो ।
उहाँले विद्युत उत्पादन गरेर विदेशमा बेच्नु भनेको खोला नाला विक्री गर्न नभएको बताउनु भयो । उहाँले विद्युत विक्री नगरी मुलुक धनी र समृद्ध हुन नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउन सकिन्छ । यो सम्भव छ । जलविद्युत क्षेत्र अहिलेको लागि सबैभन्दा ठूलो क्षेत्र रहेको छ । त्यसै अन्तर्गत रहेर सरकारले एउटा लक्ष्य हुनुपर्छ भन्ने दृष्टिकोणका साथ २८ हजार ५ सय मेगावट उत्पादन गर्ने र आन्तरिक खपतको लागि जोड दिने र बाँकी रहेको विद्युत निर्यात गर्ने लक्ष्य राखेको छ । त्यो लक्ष्य पूरा गर्नको लागि नीतिगत र संरचनागत के परिवर्तन गर्नुपर्छ भन्दा वनका समस्या,जग्गा प्राप्ति जस्ता समस्याहरुलाई समेत समेटेर छिटो छरितो गर्ने,हिउँदको समयमा विद्युत अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको अवस्था छ । भारतसँग विद्युत विक्री गर्ने सम्झौता भएको थियो । यो वर्ष साढे ९ सय मेगावटसम्म विक्री गर्यौँ । व्यापार घाटा समान्तर भयो । अझ १० करोडसम्म प्लसमा नै छौं । विद्युत निर्यातमा १३ अर्ब जति रकम भारतलाई तिर्ने गरेका थियौं । बंलादेशमा विद्युत विक्री गर्ने विषयमा मूर्त रुपमा दिन सकिएको थिएन । निरन्तर भारत र बंलादेशसँग छलफल गरी भारतको सहयोगमा अन्तरदेशिय विद्युत व्यापारकोे ढोका खोलियो । नीतिगत कुरा स्रोत र उत्पादन हो । विद्युत उत्पादन गरेर विदेशमा बेच्नु भनेको खोला नाला विक्री गर्नु होइन । विद्युत विक्री नगरी मुलुक धनी भएर समृद्ध हुन सक्दैन । यो भाष्यलाई परिवर्तन गर्न जरुरी छ । जलविद्युत उत्पादन गर्दा १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रलाई दिने विषय कार्यान्वयन भएको तर शेयर किन्ने बेलामा पैसा हुनेले मात्रै प्राप्त गर्ने अवस्था थियो । तर सरकारले समृद्धिका कुरा गरिरहेका छौं । बलियो सरकार छ । समान अधिकार जनतालाई भएन । पैसा नहुने मानिसहरुले स्रोत माथिको अधिकार प्राप्त गर्न सकेनन् भन्ने लागेर राज्यको दायित्व पनि हो । प्रत्येक घरधुरीमा एक आयोजनामा २ देखि ५ लाखको शेयर दिनुपर्छ । त्यति शेयर पायो भने गरिबीको रेखाबाट माथि उठ्ने हिसावले व्यवस्था गरिएको छ । त्यसको लागि सरकारले त्यसको रकम उपलब्ध गराउनुपर्छ । लगानी सुनिश्चिता बनाएर स्रोत माथिको अधिकारको स्वामित्व जनतालाई दिनुपर्छ ।’
उहाँले जलविद्युत उत्पादन गर्दा १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रलाई दिने विषय कार्यान्वयन भएको तर शेयर किन्ने बेलामा पैसा हुनेले मात्रै प्राप्त गर्ने अवस्था रहेको बताउनु भयो ।
उहाँले पैसा नहुने मानिसहरुले स्रोत माथिको अधिकार प्राप्त गर्न नसक्ने अवस्था रहेकाले त्यसको दायित्व राज्यले दिनेगरी प्रत्येक घरधुरीमा एक आयोजनामा २ देखि ५ लाखको सहुलियतमा ऋण दिएर शेयर पाउने व्यवस्था गर्न लागेको बताउनु भयो ।
ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु
काठमाडौंको ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको छ । सोमवारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको हो । प्रदशर्नी आगामी एक हप्तासम्म चल्नेछ ।
कलाकार विभूषण नविन ताम्राकारले पुराना संग्रहालयहरुको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरिएको बताउनु भयो । उहाँले यो प्रदशर्नी आगामी २० गतेसम्म चल्ने बताउनु भयो । उहाँले सिसीका कलाहरु प्रदर्शनीमा ४५ वटा राखिएको बताउनु भयो ।
उहाँले मेलामा पाँचतले मन्दिर,पशुपति,जानकी मन्दिर,तलेजु भवानी र काष्ठमण्डपको कला प्रदशर्नीमा राखिएको बताउनु भयो । उहाँले मुलुकभित्र नै नयाँ सिर्जना र कला भएको मानिसले केही गर्नसक्ने वातावरण रहेको बताउनु भयो । उहाँले कलाकारहरुलाई समाजले हेर्दा नराम्रो दृष्टिकोणले हर्ने गरिएको बताउनु भयो ।
पुरस्कारले युवाहरू खेलप्रति आकर्षित हुन्छन् : दीपेन्द्रसिंह ऐरी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेलाडीलाई प्रोत्साहन गर्ने पुरस्कारका कारण खेलप्रति युवाहरू आकर्षित हुने बताउनुभएको छ ।
सोमवार क्रिकेटर दीपेन्द्रले खेलबाट पनि केही गर्नसक्छौं भन्ने खेलाडीमा आशा र भरोसा बढेको बताउनुभएको हो । कार्यक्रममा एसपिजी अटोमोबाइल्स प्राली (ओमोडा एण्ड जेइकोको लागि नेपालका अधिकारी वितरक) ले सोमवार पत्रकार सम्मेलनमार्पmत दीपेन्द्रलाई ब्राण्ड एम्बासडर घोषणा गरेको थियो ।
सोही अवसर केही हप्ता अगाडि सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअर अफ दी टुर्नामेण्ट भएबापत प्राप्त ओमोडा इ फाइभ गाडी पनि हस्तान्तरण गरिएको थियो ।
एनपिएलको सुदूरपश्चिम रोयल्सका कप्तान समेत रहेका दीपेन्द्रले यस किसिमको पुरस्कारले खेलाडीहरूको आत्मविश्वास बढेको बताउनु भयो । साथै स पुरस्कार व्यवस्था गरेकोमा कम्पनीलाई धन्यवाद दिँदै खेलाडीलाई प्रोत्साहन हुने र लिगले पनि खेलाडीलाई खेलमा केही गर्न सक्छु भन्ने भरोसा मिलेको बताउनु भयो । उहाँले शारदा ग्रुप र नेपाली क्रिकेटबीचको यात्रा लामो होस् भन्ने शुभकामना पनि दिनुभयो । उहाँले यसअघि लिगमा बाइक दिने प्रचलन भएपनि गाडी पाउने भएपछि खेलाडीका लागि सुखद् पक्ष रहेको बताउनु भयो ।
कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदा, प्रवन्ध निर्देशक सन्दीपकुमार शारदा र एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले क्रिकेटर दीपेन्द्रलाई उत्कृष्ट खेलाडीबापतको पुरस्कार पनि हस्तान्तरण गरेका थिए । सोही अवसरमा ब्राण्ड एम्बेसडर घोषणा पनि गरिएको थियो । उनीहरूबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भयो । कार्यक्रममा दीपेन्द्रका आमाबुबाको पनि उपस्थिति रहेको थियो ।
भारतमाथि अस्ट्रेलियाको शानदार जित
बोर्डर गवास्कर ट्रफी टेस्ट सिरिजको चौथो टेस्टमा भारतमाथि अस्ट्रेलियाले शानदार जित दर्ता गरेको छ । चौथो टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ५५ रनमा अल आउट गर्दै १ सय ८४ रनको फराकिलो जित निकालेको हो ।
३ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ७९।१ ओभरमा अल आउट हुँदै १ सय ५५ रन मात्रै बनाउन सक्यो । भारतका लागि यशस्वी जैसवालले ८४ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।
ऋषभ पन्तले ३० रन बनाए भने अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित शर्माले ९ रनको योगदान दिए । केएल राहुल शून्य रनमा आउट हुँदा विराट कोहलीले ५ रन जोडे ।
रविन्द्र जडेजाले २, नितिश कुमार रड्डेले १, वासिङ्टन सुन्दरले ५, आकाश दिपले ७ रन बनाएर । जसप्रित बुमराह र मोहम्मद सिराज शुन्य रनमा आउट भए ।
अष्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले समान ३–३ विकेट लिए । नेथन ल्योनले २ विकेट झारे । ट्रेविस हेड र मिचेल स्टार्कले समान १–१ विकेट लिए ।
बोर्डर गवास्कर ट्रफी टेस्ट सिरिजमा अस्ट्रेलियाले २–१ को अग्रता बनाएको छ । अब अन्तिम टेस्ट जनवरी ३ देखि सिड्नीमा हुनेछ ।
२०२४ मा पाकिस्तानमा ३८३ सुरक्षाकर्मी, ९२५ आतंकवादी मारिए
सन् २०२४ मा पाकिस्तानमा ३८३ सुरक्षाकर्मी र ९२५ आतंककारीहरू मारिएका छन् । पाकिस्तानभर सञ्चालन गरिएका ५९ हजार ७७५ अभियानहरूमा ३८३ सुरक्षाकर्मी, ९२५ आतंकवादी मारिएको पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बताउनु भयो ।
कारबाहीका क्रममा प्रतिवन्धित तेहरिक–ए–तालिबान पाकिस्तान र अन्य आतंकवादी समूहका ७३ उच्च मूल्यवान लक्ष्यहरू मारिएका थिए । इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का महानिर्देशक अहमद सरिफ चौधरीले यस वर्ष विगत पाँच वर्ष यताकै सबैभन्दा धेरै आतंककारीहरूलाई निष्प्रभावी बनाइएको बताउनु भयो । एक वर्षमा पाकिस्तानी सेना, कानून प्रवर्तन र गुप्तचर एजेन्सीहरू र पाकिस्तानी पुलिसले दैनिक आधारमा १७९ भन्दा बढी अपरेशनहरू सञ्चालन गरेका थिए ।
पाकिस्तानी सेनाले आतंकवाद विरोधी प्रयास र सीमा सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण प्रगति गरेको चौधरीले बताउनु भयो । पाकिस्तानी सेनाले तस्करी, लागुपदार्थको तस्करी, बिजुली चोरी, र होर्डिङ विरुद्ध लड्न आफ्नो अभियान विस्तार गरेको बताउनु भयो ।
अमेरिकामा आँधीबाट २ जनाको मृत्यु
अमेरिकाको दक्षिणी भागमा आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ग्रेटर ह्युस्टन मेट्रोपोलिटन क्षेत्र, टेक्सास वरपर कम्तीमा पाँचवटा आँधी आएको बताइएको छ ।
६ जना घाइते भएको बताइएको छ । एल्विन, ब्राजोरिया काउन्टीमा जो ह्युस्टनबाट करिव ४५ माईल दक्षिणमा छ । आँधीले वाल्ट डिज्नी इलिमेन्टरी स्कुलमा ठूलो क्षति पुगेको छ । विद्यालयमा करिव ४३९ विद्यार्थी छन् । ११ लाख भन्दा बढी घरहरू र व्यवसायहरू दक्षिणभर विद्युतविहीन छन् ।