गोरु जुधाइ प्रतियोगिता सम्पन्न,प्रथम हुने गोरुधनीलाई १५ हजार प्रदान
सुन्दरबजार । लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ । पुस १५ को अवसरमा देवभूमि युवा क्लब सुन्दरबजार नगरपालिका–२ को आयोजनामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो ।
परेवाडाँडाको खड्कागाउँमा रहेको आहाले खेल मैदानमा गरिएको सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका–७ तार्कुटारका कुमराज परियारको गोरु प्रथम भएको छ । यस्तै सुन्दरबजार–२ परेवाडाँडाका प्रकाश पन्तको गोरु दोस्रो तथा भानु नगरपालिका–१० दुधेकुनाका विष्णु रावलको गोरु तृतिय भएको छ ।
प्रतियोगितामा प्रथम हुने गोरुधनीलाई रु १५ हजार, दोस्रो हुने गोरुधनीलाई रु १० हजार र तृतीय हुने गोरुधनीलाई रु पाँच हजार पुरस्कार वितरण गरिएको आयोजक देवभूमि युवा क्लबका अध्यक्ष महेश परियारले जानकारी दिए ।
लमजुङको परेवाडाँडामा विगत केही वर्षदेखि निरन्तर रुपमा पुस १५ को अवसरमा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिँदै आएको छ । सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगितामा लमजुङ र तनहुँका गरी २० गोरुलाई सहभागी गराइएको थियो ।