‘कार्साङ’ मा आफूले कहिल्यै नगरेको अनौठो अनुभव गर्न पाए : दयाहाङ राई

काठमाडौँ । चलचित्र ‘कार्साङ’का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन् । कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको भनाइ छ ।

आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’मा रहेको बताउँदै दयाहाङले झाँक्री सिनेमामा हुँदाको स्मरण गरे ।

‘झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो । आगोमा नाच्नु पर्ने थियो । सिनेमा हो चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ । तर उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो,’ काठमाडौंमा सोमबार दयाहाङले पत्रकारसँगको अन्तरक्रियामा भने, ‘डिरेक्टर पनि खासै केही हुँदैन भन्नुहुन्छ । मलाई के गर्नु–गर्नु भयो । ट्राइ चाहिँ गर्छु भन्ने भयो । आगोमा पसेँ सफल भएँ । उहाँहरुसँग ज्ञान रहेछ ।’

लामो अनुभव र प्रयासले झाँक्री विद्या विद्यमान रहेको उनले बताए । झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शक्ति भने यसमा रहेको उनको भनाइ छ ।

त्यसैले ‘कार्साङ’मा आफूले कहिल्यै नगरेको अनौठो अनुभव गर्न पाए ।’

निर्देशक यम शेर्पाले भने, ‘चलचित्रको कथा आफैँमा राम्रो छ । सिनेमाले दर्शकको मन छुन्छ । भावुक बनाउँछ र हसाउँछ पनि,’ राम्रो कथामा दयाहाङ राई, दिया मास्के, जितु नेपाल, सिर्जना निङलेखुजस्ता कलाकारको अभिनयनले चलचित्रलाई थप सशक्त बनाएको छ ।’

चलचित्रलाई लिएर आम दर्शकमा चासो रहेकाले हलमा पुगेपछि विषय र प्रस्तुतिलाई आम अडियन्सले मन पराउने उनको भनाइ छ ।

‘म जहाँ गए पनि दयाहाङको कार्साङ आउँदैछ रे भनेको सुन्छु र टिजर र गीतको कुरा गरेको सुन्छु,’ उनले भने, ‘सायद यस्तै खोजी हुने र चासो भयो भने नै चलचित्र हेरिने होला ।’

कलाकार जितु नेपालले चलचित्र विषय, प्रस्तुति र अभिनय सबै हिसाबले राम्रो बनेको बताए । आफू विदेशमा हुँदा धेरैले यो चलचित्रको विषय र भूमिकालाई लिएर धेरैले सोधेको उनले बताए ।

पोस्टर निस्किएपछि चासो बढेको उनको भनाइ छ । तपाईँको रोल कस्तो हो भनेर धेरैले सोध्ने गरेको जितुको भनाइ छ ।

‘म केन्द्रीय चरित्रमा छु वा सहायक त्यसले केही अर्थ राख्दैन । सिनेमा कस्तो छ र अभिनय कस्तो छ भन्ने कुरा हो,’ जितु अगाडि भन्छन्, ‘म केन्द्रीय चरित्र हुँदा पनि काम गर्छु । सहायक चरित्र हुँदा पनि गर्छु ।’

कलाकारका लागि चरित्र कुन भन्दा पनि काम कस्तो गरेँ भन्ने कुराले चलचित्रमा अर्थ राख्ने उनको भनाइ छ ।

नायिका सिर्जना निङलेखुले ‘कार्साङ’ आफ्नो पहिलो चलचित्र भएको बताइन् । ‘मेरो काम कस्तो छ भनेर हेर्न पनि यो चलचित्र हेर्नुपर्छ,’ उनले भनिन्, ‘मलाई प्रतिक्रिया दिन पनि यो चलचित्र हेरिदिनुहुन्छ भन्ने लागेको छ । समग्रमा चलचित्र राम्रो बनेको छ । मैले पनि राम्रो काम गर्ने प्रयास गरेको छु ।’

पुस २६ गते रिलिज हुने चलचित्र यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ ।

चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यद्यपि, सबैलाई रिलेट गर्ने कलाकार र निर्देशकको दाबी छ ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ, सिर्जना, जितु र दीयासँगै बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।

सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *