अब कुनै बहादुरले संसद् भंग गर्न सक्दैन : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन् । उनले पाँच वर्ष संसदमात्रै स्थिर रहने नभइ प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेको बताए ।
‘संसद ५ वर्षसम्म अब कुनै बहादुरले भंग गरेर हुँदैन । हामीलाई ५ वर्ष स्थिर रहने संसद मात्रै होइन, अब पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहियो,’उनले भने,‘अबको मेलमिलापको बहस त्यहाँ हुनुपर्छ । संविधान संशोधनको ढोका खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ठूलो कुरा होइन ।’
उनले अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको हुनुपर्ने बताए । उनले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा ठूलो नभएको भन्दै संविधान संशोधनको ढोका खोल्दा स्थिर सरकार र प्रधानमन्त्रीको कुरामा जोड दिनुपर्ने बताए ।
अब समुन्नतिको सन्दर्भमा मेलमिलाप जरुरी रहेको बताउए । महामन्त्री शर्माले सरकारका आगामी नीति तथा प्राथमिकता तीन चरणमा काम गर्नेगरी ल्याउनुपर्ने बताए ।
सबै विकास भइसकेको जसरी राति काम नै नहुने झैँ सूर्य अस्त, नेपाल मस्त हुनु नहुने उनको टिप्पणी थियो ।
उनले जन्ममितिले नयाँ राजनीतिक दलहरु नभइ प्रवृत्तिबाट राजनीतिक दलहरु आवश्यक रहेको बताए । पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको गहन अध्ययन जरुरी रहेको बताए । ‘नयाँ भनिरहँदा जन्ममितिले नयाँ भएर हुँदैन । प्रवृत्तिले नयाँ हो की होइन, प्रवृत्तिको हिसावले नयाँ हो की होइन,’उनले भने‘त्यसैले अबको मेलमिलाप के हो त ? यही पद्धतिभित्र नविनता के हो त ? अब भन्दा यही पद्धतिभित्र संयमतापूर्वक परिपक्वतापूर्वक राजनैतिक संस्कृतिको विकास हो ।’
महामन्त्री शर्माले छिमेकी राष्ट्रहरुले जिम्मा लिएका पूर्वाधार निर्माणका कामहरुलाई गति दिन दृढतापूर्वक छलफल गर्नुपर्ने बताए ।