नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन जरूरी : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकास सुरक्षित रहेको बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भौगोलिक अवस्थितिले नेपालको आकास नागरिक उड्डयनको क्षेत्रमा यसको स्कोप कहिले नघट्ने बताए ।

उनले भने,“नेपाली आकास सुरक्षित छ, कुनै समस्या छैन । भौगोलिक अवस्थितिले पनि नेपाली आकास सुरक्षित र गतिशील छ । चलायमान भनेर हामीले विश्वभर सन्देश फैलाउन जरूरी छ ।”

मन्त्री पाण्डेले नेपालमा भौगोलिक अवस्था विकट भए पनि यहाँ असङ्ख्य पर्यटन क्षेत्र तथा विभिन्न धार्मिकस्थल भएका कारण अन्य देशको तुलनामा पर्यटक बढी आउन खोज्ने गरेका बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरूणकुमार चौधरीले नेपाल नागरिक उड्डयन प्राधिकरणको काम गर्ने तौरतरिका चित्तबुझ्दो रहेको बताए । उनले भने,“प्राधिकरणको काम गर्ने तरिका ठिक छ, सबैको साथ र सहयोगले प्राधिकरणले सफलता पाएको छ ।”

मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले नेपालका दुर्गम क्षेत्रमा अहिले पनि यातायातका साधन सञ्चालन हुन नसकेका कारण दुर्गम तथा हिमाली क्षेत्रमा जहाज सञ्चालन गर्न तत्काल आवश्यक रहेको बताए । उनले भने,“नागरिकलाई सेवा दिन जहाज चलाउन आवश्यक छ, त्यसका लागि मन्त्रालयले के सहयोग गर्नुपर्छ हामी गर्न तयार छौँ ।”

प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले हवाई सुरक्षाको दृष्टीकोणमा नेपालको आकास निकै सुरक्षित रहेको र प्राधिकरणले उक्त क्षेत्रमा गरेका तथा अबका दिनमा गरिने कार्यका विषयमा जानकारी दिए ।

कार्यक्रममा प्राधिकरणको विशेषाङ्क विमोचन गरिनुका साथै प्राधिकरणको सफलताको क्षेत्रमा उल्लेख्य कलम चलाउने पत्रकार तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

One thought on “नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन जरूरी : मन्त्री पाण्डे

  1. ठीक हो, आकाश​ त​ सुर​क्षित​ नै छ​ । फेरि दुनियाँले चाहिँ किन​ नपत्याएको होला । य​त्तिका दुर्घ​ट​ना हुँदा प​नि आज​स​म्म​ हाम्रो आकाश​मा केही त​ भ​एको छैन​ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *