खबर दिनभर : यी हुन् आजका प्रमुख समाचार
भरतपुरमा सन्तुलित विकास भएको छ : अध्यक्ष प्रचण्ड
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरको सबै क्षेत्रमा सन्तुलित विकास भएको बताएका छन् ।
भरतपुरस्थित मेघौलीमा आज आयोजना भएको भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थाबाट उठेर भरतपुर महानगरपालिकाले सबै क्षेत्रमा विकास गरेको बताए ।
अध्यक्ष प्रचण्डले भने,“नेत्तृत्वले इमान्दारीताका साथ गर्न चाह्यो भने जनताको सेवाप्रति, जनताको विकासको आवश्यकता र आकाङ्क्षाप्रति इमान्दर भएर गर्न चाह्यो भने धेरै काम गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण भरतपुरमा प्रस्तुत भएको छ ।” उनले भरतपुरको सिको देशभरिका सबै तहले तहले गर्नुपर्ने बताए ।
अध्यक्ष प्रचण्डले भने,“प्रकृतिले दिएको जल, जमिन, जडीबुटी, हिमाल, पहाड र तराई सबै पर्यटकीयस्थल हो । त्यसको निम्ति भौतिक पूर्वाधार जनचेतना र रचनात्मक कार्यक्रमको विकास भने नेत्तृवले गर्नुपर्ने हुन्छ । यो सबै चितवन तथा भरतपुरमा रहेको छ ।”
भरतपुर महानगर प्रमुख रेनु दाहाले भरतपुर तथा मेघौलीलाई पर्यटनबाट विकास गर्नका लागि सुरक्षित सहरको रूपमा विकास गर्दै आइएको बताए ।
उनले यहाँ आउनको लागि भौतिक बाटोघाटोको काम सकिएको भन्दै अहिले आधा घण्टामा भरतपुरको जुनसुकै स्थानमा पुग्न सकिने बताए । प्रमुख दाहालले अहिले मेघौलीे विमानस्थल सञ्चालनको कामभन्दा पनि यहाँको गोलाघाटमा पुल निर्माणको आवश्यकता बढी रहेको उल्लेख गरे ।
नेपाल पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष कमलप्रसाद सापकोटाले भरतपुरसँग समन्वय गरी यहाँ विभिन्न पर्यटकीय गतिविधि सञ्चालन हुँदै आएको बताए ।
उनले खर्च गर्नसक्ने पर्यटक अहिले मेघौलीका होटलमा आउने गरेको भन्दै यस्तै अन्य स्थानमा पनि नयाँ थप गन्तव्यको पहिचान र प्रचारप्रसार गरिनुपर्ने औँल्याए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठ, बागमती प्रदेशका पूर्वसांसद तथा रैथाने खाना महोत्सवका सल्लाहकार कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, इच्छाकामना गाउँपापिलका अध्यक्ष दानबहादुर गुरूङ, उद्योग वाणिज्य सङ्घ चितवनमा अध्यक्ष सुमनकुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए भने भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता : देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्ने बताउनु भयो । उहाँले अहिले राष्ट्रिय मेलमिलापको नीतिबाट एकतावद्ध रुपमा अघि बढिरहेको भन्दै सम्पूर्ण नेपालीलाई एक सूत्रमा एकतावद्ध गर्नुपर्ने बताउनु भयो । सभापति देउवाले सम्पूर्ण नेपालीहरुको बीचमा एकता गर्नु आजको आवश्यकता भएको बतउनु भयो । सबै नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाँध्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको यो जुन गणतन्त्र छ, यसलाई सफल पार्न अझ विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ । मलाई लाग्छ, यो गणतन्त्र स्थायी रहन्छ, अझै सुदृढ बनाउनु पर्छ । अझै प्रभावकारी बनाउनु पर्छ । राष्ट्रिय मेलमिलापको नीतिबाट एकतावद्ध रुपमा हामी अघि बढिरहेका छौँ, यसलाई अझ अघि बढाउनु पर्छ । सम्पूर्ण नेपालीहरु चाहे मधेसमा, चाहे पहाडमा र चाहे हिमालमा हुन्, सम्पूर्ण नेपालीहरुको एकता र मेलमिलाप हुनुपर्छ । सम्पूर्ण नेपालीहरुको बीचमा एकता गर्न आजको आवश्यकता हो । पूर्वका हुन् वा पश्चिमका हुन्, उनीहरुका विभिन्न चाहनाहरु होलान् तर त्यसको समन्वय गरेर एकतावद्ध भइ एक सूत्रमा बाँकी राष्ट्रिय सूत्रमा बाँधिनुपर्छ ।’
सभापति देउवाले काँग्रेसका लागि मात्रै नभइ देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको बताए ।
भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाइ र लगानी आकर्षित गर्न सरकारले नयाँ भन्सार ऐन ल्याएको हो : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुरानो भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन धेरै संशोधन गर्नुपरेकाले सरकारले नयाँ भन्सार ऐन ल्याउनुपरेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँले वर्तमान भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन विगतको ऐन धरै संशोधन गर्नुपर्ने भएकाले नयाँ भन्सार ऐन आवश्यक महशुस गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्सार महशुल सम्बन्धमा छुट्टै भन्सार ऐन, २०८१ पारित भएर कार्यान्वयनमा आएको बताउनु भयो । उहाँले भन्सार महशुल सम्बन्धमा छुट्टै भन्सार ऐन, २०८१ मा ऐनमा व्यवस्था भएर दोहोरो रुपमा रहेका कतिपय दफाहरु झिक्ने वा परिमार्जन गर्नुपर्ने आवश्यकताहरु रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘वर्तमान भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन विगतको ऐन धरै संशोधन गर्नुपर्ने भएकाले नयाँ भन्सार ऐन आवश्यक महशुस गरिएको हो । २०७७ जेठ २२ गते मन्त्रीपरिषद्को निर्णयअनुसार २०७७ असार ४ गते भन्सार विधेयक, २०७७ संघीय संसदमा पेश गर्न संसद सचिवालयमा पठाएको थियो । संसदमा छलफल र संवाद गर्न सम्भव भएन । फेरी संसदमा छलफलको लागि समितिमा आएको छ । भन्सार महशुल सम्बन्धमा छुट्टै भन्सार ऐन २०८१ पारित भएर कार्यान्वयनमा आएको छ । प्रश्तुत ऐनमा परिसकेका समितिमा विचारधिन रहेको विधेयकमा दोहोरो रुपमा रहेका कतिपय दफाहरु झिक्ने वा परिमार्जन गर्नुपर्ने आवश्यकताहरु छन् ।’
उहाँले नयाँ भन्सार विधेयक समग्र भन्सार प्रणालीलाई प्रविधिमैत्री र लगानी आकर्षित गर्ने किसिमले अगाडि सारिएको बताउनु भयो । उहाँले नयाँ भन्सार ऐन आएसँगै भन्सार प्रणाली व्यवस्थित बन्ने विश्वास रहेको उल्लेख गर्नुभयो ।
नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन जरूरी : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकास सुरक्षित रहेको बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भौगोलिक अवस्थितिले नेपालको आकास नागरिक उड्डयनको क्षेत्रमा यसको स्कोप कहिले नघट्ने बताए ।
उनले भने,“नेपाली आकास सुरक्षित छ, कुनै समस्या छैन । भौगोलिक अवस्थितिले पनि नेपाली आकास सुरक्षित र गतिशील छ । चलायमान भनेर हामीले विश्वभर सन्देश फैलाउन जरूरी छ ।”
मन्त्री पाण्डेले नेपालमा भौगोलिक अवस्था विकट भए पनि यहाँ असङ्ख्य पर्यटन क्षेत्र तथा विभिन्न धार्मिकस्थल भएका कारण अन्य देशको तुलनामा पर्यटक बढी आउन खोज्ने गरेका बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरूणकुमार चौधरीले नेपाल नागरिक उड्डयन प्राधिकरणको काम गर्ने तौरतरिका चित्तबुझ्दो रहेको बताए । उनले भने,“प्राधिकरणको काम गर्ने तरिका ठिक छ, सबैको साथ र सहयोगले प्राधिकरणले सफलता पाएको छ ।”
मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले नेपालका दुर्गम क्षेत्रमा अहिले पनि यातायातका साधन सञ्चालन हुन नसकेका कारण दुर्गम तथा हिमाली क्षेत्रमा जहाज सञ्चालन गर्न तत्काल आवश्यक रहेको बताए । उनले भने,“नागरिकलाई सेवा दिन जहाज चलाउन आवश्यक छ, त्यसका लागि मन्त्रालयले के सहयोग गर्नुपर्छ हामी गर्न तयार छौँ ।”
प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले हवाई सुरक्षाको दृष्टीकोणमा नेपालको आकास निकै सुरक्षित रहेको र प्राधिकरणले उक्त क्षेत्रमा गरेका तथा अबका दिनमा गरिने कार्यका विषयमा जानकारी दिए ।
कार्यक्रममा प्राधिकरणको विशेषाङ्क विमोचन गरिनुका साथै प्राधिकरणको सफलताको क्षेत्रमा उल्लेख्य कलम चलाउने पत्रकार तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।
नेकपा एकीकृत समाजवादीले देशभर ‘जागरण अभियान’ सञ्चालन गर्ने
नेकपा (एकीकृत समाजवादी) ले मुलुकमा सुशासन र समृद्धिका लागि आगामी माघमा देशभर ‘जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले ‘मिसन ८४’ मा केन्द्रित भएर पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वदेशी उद्योगको प्रवद्र्धनका लागि स्वदेशी वस्तु प्रयोग प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको बैठकले महँगी एवं भ्रष्टाचार अन्त गरी रोजगारी, समृद्धि कायम गर्न सुशासनका पक्षमा जनमत सिर्जना गर्ने निर्णय गरेको हो ।
देशभर एक पालिका, एक उद्योग ग्राम कार्यक्रम सञ्चालन गरी स्थानीय कच्चा पदार्थको प्रयोग गर्नेगरी घरेलु, साना तथा ग्रामीण उद्योग स्थापना गर्न बैठकले माग गरेको छ ।
अभियानअन्तर्गत पार्टीका एजेण्डा तथा आर्थिक समृद्धिका लागि कृषि क्रान्ति, औद्योगिक विकासलगायत समाजवादका कार्यक्रम जनतालाई सुनाउने सभा सम्मेलन गर्ने कार्यक्रम रहेको पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
आत्मनिभर अर्थतन्त्र बनाउन सन्देश प्रवाह गरिने सो अभियान सफल बनाउन सम्बन्धित जिल्ला तथा प्रदेशले ठाउँठाउँमा साना ठूला सभाको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।
नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक अभ्यास
नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ संस्करण आजदेखि सुरु भएको छ ।
रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको उक्त अभ्यासको मध्यपश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुनले एक कार्यक्रमकाबीच शुभारम्भ गरे ।
नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवालको नेतृत्वमा र भारतीय सेनाबाट कर्णेल जपेन्दरपाल सिंहको नेतृत्वमा कूल ६ सय ६८ सैनिक सहभागी भई सञ्चालन भएको उक्त संयुक्त अभ्यास यही पुस २९ गते सम्पन्न हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको सत्रौँ संस्करण मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा सम्पन्न भएको थियो ।
वि.सं. २०६७ देखि नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको उक्त संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १७ पटक सफलतापूर्वक सञ्चालन भइसकेको छ ।
सो अभ्यासमा मुख्यगरी विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला, मानवीय सहयोगलगायतका विषयमा दुई देशका सैनिकले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदानप्रदान गर्नेछन् ।
उक्त सैनिक अभ्यासले दुई देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा पेसागत सीपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।
सहकारी ठगीमा जो सुकै संलग्न भएपनि कानूनी प्रक्रियामा लैजानुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैलाई बराबर हुने भएकाले सहकारी ठगीमा जो संलग्न भए पनि कानुनी प्रक्रियामा लैजानुपर्ने बताएका छन् ।
कांग्रेस मकवानपुरले मंगलबार हेटौँडामा आयोजना गरेको ४९ औँ राष्ट्रिय एकता एवं मेलमिलाप दिवस २०८१ लाई सम्बोधन गर्दै उनले गल्ती गरेको भए आफूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
बिपी कोइरालाले मेलमिलापको प्रस्ताव लिएर भारतबाट आएको दिनलाई स्मरण गर्दै महामन्त्री थापाले पार्टीभित्र त्यसलाई साँघुरो बनाउन नहुने बताए । उहाँले पार्टीभित्रको मेलमिलाप र एकतालाई मात्रै लिएर बिपीलाई सम्झिने हो भने अन्याय हुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य मोहन आचार्यले मेलमेलाप दिवसको अवसरमा सबै नेता तथा कार्यकर्तालाई पार्टीलाई बलियो बनाउन सङ्गठित भएर अघि बढ्न निर्देशन दिए ।
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसमा आबद्ध भएर विभिन्न कालखण्डमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
अपाङ्गता भएका व्यक्तिलाई घरैमा नागरिकता
जिल्ला प्रशासन कार्यालय खोटाङले ऐसेलुखर्क गाउँपालिकाका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरमै लगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । गाउँपालिकाको पहल तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले पूर्णरूपमा शारीरिक अपाङ्गता भएका सातजना व्यक्तिलाई उनीहरूको घरैमा लगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको टोलीले तीन दिन लगाएर शारीरिकरूपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता उपलब्ध गराएको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिए । “शारीरिक अपाङ्गता भएका कारण प्रशासनसम्म पुग्न नसक्दा हाम्रो गाउँपालिकामा अपाङ्गता भएका सातजना व्यक्ति नागरिकता पाउनबाट वञ्चित हुनुहुन्थ्यो । नागरिकता अभावका कारण उहाँहरूले राज्यबाट प्राप्त हुने सेवासुविधासमेत प्राप्त गर्नुभएको थिएन”, उनले भने,“शारीरिकरूपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई राज्यले दिने सेवासुविधा उपलब्ध गराउन गाउँपालिकाको पहलमा घरैमा पुगेर नागरिकता उपलब्ध गराएका छौँ । अब उनीहरूलाई अपाङ्गता परिचयपत्र समेत उपलब्ध गराएर राज्यले दिने सबै सेवासुविधा उपलब्ध गराउँछौँ ।”
गाउँपालिकाका जनप्रतिनिधिको सिफारिसको आधारमा पहिलो दिन (पुस १४ गते शनिबार) वडा नं २ राखाबाङ्देलका २१ वर्षीय सलिना राई र ४१ वर्षीय दीपक राईलाई नागरिकता प्रदान गरिएको छ । अभियानको दोस्रो दिन (पुस–१५ गते आइतबार) सबैभन्दा बढी वडा नं ४ जलेश्वरीका चारजना व्यक्तिलाई नागरिकता प्रदान गरिएको प्रशासनका कायममुकायम शाखा अधिकृत लीलाबहादुर विश्वकर्माले जानकारी दिए ।
जलेश्वरीका २१ वर्षीय कमलप्रसाद अधिकारी, १९ वर्षीय सुजन पुरी, ५० वर्षीया जुनमाँया राई र २५ वर्षीय भक्त तामाङलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको जनाइएको छ । यस्तै, आज (सोमबार) वडा नं १ राखाबाङ्देलका २० वर्षीय भानुभक्त राई र ५० वर्षीया कालीमाँय राईलाई पनि नागरिकता प्रदान गरिएको जनाइएको छ ।
ऐसेलुखर्क गाउँपालिकाका विभिन्न ठाउँमा बसोबास गरिरहेका शारीरिकरूपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको घरैमा लगेर नागरिकता प्रदान गर्न प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतका टोली उनीहरूको घरमै पुगेका थिए । नेपाली नागरिकताको प्रमाणपत्र पाएका उनीहरूलाई अपाङ्गता परिचयपत्र समेत घरैमा लगेर वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए ।
शारीरिकरूपमा पूर्ण अपाङ्गता भएका जिल्लाका अन्य व्यक्तिलाई उनीहरूको घरैमा पुगेर नागरिकता उपलब्ध गराउने अभियान थालिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार दश स्थानीय तह रहेको जिल्लामा चार हजार ९२२ जना विभिन्न प्रकृतिका शारीरिक अपाङ्गता भएका व्यक्ति रहेका छन् । जसमध्ये ५३२ जना श्रवण शक्ति कम भएका (बहिरा) व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिमध्ये श्रवण शक्ति नभएका तथा कम भएका व्यक्तिका लागि खोटाङमा दोभाषे सेवा सुरू गरिएको छ । राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेशले उपलब्ध गराएको एकजना कर्मचारीमार्फत दोभाषे सेवा सुरू गरिएको हो ।
श्रवण शक्ति कम भएका व्यक्तिलाई जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयबाट प्रवाह हुने सेवा लिन कठिनाइ भएकाले उनीहरूलाई दोभाषेको सहयोगमा सहजरूपले सेवा उपलब्ध गराउन दोभाषेको व्यवस्था गरिएको अपाङ्ग सेवा सङ्घ खोटाङका अध्यक्ष उमेशचन्द्र आचार्यले जानकारी दिए । दोभाषे सेवाका लागि तत्काललाई अपाङ्ग सेवा सङ्घ खोटाङ र करूणा फाउण्डेसनमार्फत सेवाग्राहीसँग सम्पर्क गरेर सेवा लिने/दिन व्यवस्था मिलाइको जनाइएको छ ।
बैतडीमा भूकम्पको धक्का
बैतडीमा भूकम्पको धक्का गएको छ । आज (मंगलबार) बिहान ७ बजेर ५४ मिनेट जाँदा ४।६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हुम्लाको सर्केगाडका तत्कालीन अध्यक्ष रोकाया भ्रष्टाचार मुद्दामा दोषी ठहर
हुम्लाको सार्केगाड गाउँपालिका तत्कालीन अध्यक्ष कृष्ण रोकायलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । स्वार्थ बाझिने गरी कृषि अनुदान लिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले उनलाई दोषी ठहर गरेको हो ।
अख्तियारले २३ असार, २०८१ मा ढुंगाको पर्खाल बनाउन मात्रै १९ लाख ५० हजार रुपैयाँ दुरुपयोग भएको भनी अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले उनलाई २ वर्ष कैद र ९ लाख ७५ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ । परिवारका सदस्यको नाममा फर्म स्थापना गरी कृषि अनुदान दुरुपयोग गरेको आरोपमा उनी दोषी ठहर भएका हुन् ।
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले मंगलबार यस्तो फैसला सुनाएको हो । विशेष अदालतले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई पनि भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।
उनलाई एक वर्ष कैद र गाउँपालिका तत्कालीन अध्यक्ष बराबर बिगो र जरिवानाको फैसला गरेको छ ।
बढ्यो पेट्रोलको मूल्य,हवाई इन्धनको घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको छ ।
निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटल रु एक र डिजेलको मूल्यमा प्रतिलिटर रु दुई बढाएको हो ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु दुई र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाएको छ । पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य यथावत् राखिएको छ ।
मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६३ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २६ र काठमाडौँको हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर नौ सय ६० कायम गरिएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु १.०९ र डिजेलमा रु २.२२ बढेको तथा तथा हवाई इन्धनमा प्रतिलिटर रु १.७१ घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
४२ औँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई
४२ औँ इजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले रु तीन लाख तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र ‘फेयर प्ले टोली’ले रु १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गरे ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उपाधि विजेता तथा उपविजेतालाई पदक, प्रमाण–पत्र, रनिङ शिल्ड र नगद पुरस्कार प्रदान गरे । प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालयका विवेक गुरूङ सर्वोत्कृष्ट खेलाडी, केशर बराम सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड, जीवन सिंह ठकुरी उत्कृष्ट गोलकिपर, सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका मनोज बस्नेत उत्कृष्ट मिडफिल्डर तथा धनबहादुर आले उत्कृष्ट डिफेण्डर र फेयर प्ले टोली कोशी प्रदेश प्रहरी कार्यालय घोषित भए ।
यही पुस ७ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालय सहभागी थिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस्ता प्रतियोगिताले खेलकुदको विकासको साथै प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताए । आगामी दिनमा नेपाल प्रहरीको फुटबल टोलीलाई अझ बढी क्षमतावान्, कुशल, दक्ष र सफल बनाउनेतर्फ पहल गर्न नेपाल प्रहरी खेलकुद समितिका पदाधिकारीलाई निर्देशन दिए ।
सुडानद्वारा भोकमरीसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदन अस्वीकार
सुडानले देशमा अनिकाल फैलिएको सङ्केत गर्ने अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनलाई अस्वीकार गरेको छ । सुडानी सरकारले हालसालै जारी गरेको इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी), विश्वव्यापी भोकमरी मनिटर, गलत मापदण्ड र अनुमानित नतिजाहरूमा आधारित रहेको प्रतिवेदन अस्वीकार गरेको हो ।
सुडानको अवस्था यस युद्ध अन्तर्गत फरक रहेको र प्रीतवेदनको निस्कर्ष वास्तविकतामा आधारित नरहेको बताएको छ । सुडानले स्थलगत रिपोर्ट बिनै तयार पारिएकाले प्रतिवेदन अस्वीकार गर्नुपरेको सुडानका कृषिमन्त्री अबु बकर अल बुशराले बताउनु भयो ।
प्रतिवेदन पुरानो सूचना, दूर सञ्चार र माध्यमिक स्रोतहरूमा निर्भर रहेको बताइएको छ । यस हप्ताको शुरुमा जारी गरिएको प्रतिवेदनमा आईपीसीले सुडानको कम्तीमा पाँच क्षेत्रमा अनिकाल रहेको बताएको छ । जसमा उत्तरी दारफुरको जम्जाम बिस्थापन शिविर र पश्चिमी नुबा पर्वतका केही भागहरू छन् । प्रतिवेदनले सुडानका अन्य १७ क्षेत्र भोकमरीको जोखिममा रहेको पनि उल्लेख गरेको छ ।
सुडान अप्रिल २०२३ को मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सहरू बीचको विनाशकारी द्वन्द्वले आक्रान्त छ । जसले २९ हजार ६८० भन्दा बढीको ज्यान लियो र सुडान भित्र वा बाहिर १४ मिलियन भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको थियो ।