यती एयरलाइन्सको ‘यती ट्राभल कार्ड’ योजना : २५ हजारमा १० वटा टिकट
काठमाडौँ । नयाँ वर्ष सन् २०२५ को अवसरमा निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गरेको छ ।
‘यती ट्राभल कार्ड’ अघि सार्दै यती एयरलाइन्सले यो योजना घोषणा गरेको हो ।
यस योजना अन्तर्गत, ग्राहकहरूले एकमुष्ठ २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन् । उक्त कार्डमार्फत सदस्यले यती एयरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिने यती एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सका अनुसार टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन र नेपाली यात्रुहरूलाई मात्र लागू गरिएको छ ।
यती एयरलाइन्सले धेरै यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकहरूलाई लक्षित गर्दै सो कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।
उक्त योजनाबारे थप जानकारीका लागि यती एयरलाइन्सको आधिकारिक वेबसाइट हेर्न सकिने कम्पनीले जनाएको छ ।