धेरै जातजाति, भाषाभाषीहरु नेपालको सम्पती : सिके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले नेपालमा धेरै जातजाति, भाषाभाषीहरु हुनु कमजोरी नभएको बताएका छन् ।
बुधवार माइतीघर मण्डलामा राष्ट्रिय पोसाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पत्ति भएको उल्लेख गरे । उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताए । उनले सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नोआफ्नो पोसाक लगाइ पोसाक दिवस मनाउनुपर्ने बताए ।
उनले अरूलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताए ।
उनले भने ‘नेपाल विविधतापूर्ण देश हो । यहाँ अनेकौँ, जातजातिहरू, भाषाभाषीहरु, भेषभुषा भएका मानिसहरु छन् । हाम्रो लागि त्यो कमजोरी होइन । यो हाम्रो लागि सम्पत्ति हो । यो सबैलाई हामीले सम्मान गर्नुपर्छ । त्यही आशयले हामी आज राष्ट्रिय पोसाक दिवस मनाउँदै छौँ । नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्ठा गरियो । लामै सङ्घर्ष ग¥यौँ । त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ । त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ । आज कुनै एकल जातजातिको मात्रै भेषभुषा मनाउने दिवस होइन । सबैले आफ्नो मौलिक भेषभुषा लगाउने हो ।’
राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरू धोती लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए । उनीहरुले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोसाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।