फागुन १६ र १७ गते सरकारले श्रम तथा रोजगार सम्मेलन गर्दै

काठमाडौँ । सरकारले पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ गर्ने भएको छ ।

बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामी फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।

वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतीहरूको विश्लेषण गरी अगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिनेछ । अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको विश्वास छ ।

उनले श्रम बजारको लागि उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति शृङ्खलाहरूमा समेत रोजगारीको विषयमा छलफल गर्नुपर्ने आजको आवश्यकता भएको बताए । उनले उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानी न्यून हुँदा मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको बताए । समग्र कृषि र उद्योगमा लगानी प्रवर्द्धन, उत्पादन न्यून हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो संकेत नभएको उनको भनाइ छ ।

उनले श्रमिकको माग न्यून हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक रहेको बताए ।

सहसचिव घिमिरेले भने ‘अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन भएको छ । सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूमा समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने अवस्था देखिएको छ । उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति शृङ्खलाहरूमा समेत रोजगारीको विषयलाई हामीले छलफल गर्नुपर्ने देखिएको छ । हाल उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानी न्यून भएको छ । मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको छ । व्यक्तिगत स्वरोजगार भन्दापनि वैदेशिक रोजगारमा जान इच्छुक भएका छन् । उत्पादन र उत्पादकत्व वृद्धि भन्दापनि वस्तुको आयातमा हाम्रो अर्थतन्त्र घुमेको छ । समग्र कृषि र उद्योगमा लगानी प्रवर्द्धन, उत्पादन न्यून हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो मानिँदैन । यसमा रूपान्तरण अनिवार्य देखिएको छ । श्रमिकको माग न्यून हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु समेत चिन्ताको विषय हो । श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक छ । वैदेशिक रोजगारी हाम्रो अर्थतन्त्र र समाजको अभिन्न अंग भएको छ । मुलुकको वैदेशिक मुद्रा आय आर्जनको प्रमुख स्रोत भएको छ । विप्रेषणलाई कसरी मुलुकको रूपान्तरणमा गर्न सकिन्छ भन्ने विषयको बहस गर्न ढिला गर्नु हुँदैन । वैदेशिक रोजगारीलाई मुलुकको अर्थतन्त्रको अल्पकालीन मेरुदण्डकोरुपमा मात्र लिन सकिन्छ । मुलुकको उत्पादन र उत्पादकत्व वृद्धि नै मुलुकको अगामी कार्य इच्छा हुनुपर्दछ ।’

सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता तथा विज्ञ गरी ५ सय जनाको सहभागिता रहने बताइएको छ । मन्त्रालयले यसअघि पनि चार वटा श्रम तथा रोजगार सम्मेलन गरिसकेको भएपनि सम्मेलनबाट आएका निष्कर्षहरू कार्यान्वयन गर्न सकेको छैन । यस सम्मेलनले विगतमा भएका निर्णयहरूलाई कार्यान्वयन गर्न सहज वातावरण सिर्जना गर्ने सरकारको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *