‘देशभर १ लाख ४२ हजार २२३ होटल तथा रेष्टुरेण्ट, ७१.६% को ऋण छैन्’
काठमाडौँ । नेपालमा राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेका छन् ।
बुधवार राष्ट्रिय तथ्याङ्क कार्यालयले काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या देशभर १ लाख ४२ हजार २२३ रहेको जनाएको हो ।
आर्थिक वर्ष २०७९/०८० भित्र तथ्याङ्क कार्यालयले गरेको सर्वेक्षणमा आवास तथा भोजन सेवा प्रदान गर्ने होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेको जानकारी दिएको छ । उक्त संख्यामा रहेका होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूको संख्या ३ लाख ८७ हजार ७४७ रहेको तथ्याङ्क कार्यालयले जनाएको छ ।
सार्वजनिक तथ्यांकअनुसार देशभरका १ लाख ४२ हजार २२३ वटा होटल तथा रेष्टुरेण्टमा काम गर्नेहरूको संख्या एक लाख ६ हजार ४५९ रहेको छ । यस अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले कार्यरत तलबी कामदारहरूको लागि तलब ज्याला र सुविधामा करिब २० अर्ब ६१ करोड ५० लाख खर्च हुने गरेको तथ्यांकले देखाएको छ ।
सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टहरुको करिब २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य लागत गरी करिब ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ । होटल तथा रेस्टुरेन्टले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको छ ।
देशभर सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टको करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको तथ्यांकले देखाएको छ । पत्रकार सम्मेलनमा तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले तथ्याङ्क संकलनमा सकेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरू पूरा गरेको बताए ।
गणकहरूलाई दिने सेवा सुविधाहरूमा कमी रहेको बताए ।
उनले भने ‘तथ्याङ्क संकलनमा जानेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरू पूरा गर्दछौँ । नियतले जाने बुझेसम्म गलत गर्दैनौँ । तैपनि गणकहरूलाई दिने सेवा सुविधाहरू साह्रो कमजोर छ । सीमित पारिश्रमिकमा गणकहरूलाई खटाएका छौँ । फिल्डमा गएर काम गर्न धेरै नै गाह्रो छ ।’
होटल तथा रेष्टुरेण्टमध्ये करिब २८.४ % ले वित्तीय संस्थाहरूसँग ऋण लिएको देखिएको र ७१.६ % प्रतिष्ठानहरूको ऋण नभएको/नलिएको देखिएको उनले बताए ।