मैनादेवी फाउण्डेशन र कुमारी जब बीच काठमाडौँ ‘ट्रयास कलेक्सन रेस’ को लागि सहकार्य

काठमाडौँ । वातावरणीय अभियानहरूमा क्रियाशील गैरनाफामूलक संस्था मैनादेवी फाउण्डेशन (एमडीएफ) र नेपालको रोजगारी पोर्टल तथा मानव संसाधन परामर्शदाता कुमारी जब प्रा.लि.बीच काठमाडौँ ट्रयास कलेक्सन रेस (केटीसीआर) २०२५को लागि मुख्य प्रायोजकको रूपमा सहकार्य भएको छ ।

पुस २७ गते आयोजना हुने काठमाडौँ ट्रयास कलेक्सन रेस २०२५ केवल दौड मात्र नभएर परिवर्तनका लागि एक अभियान भएको कम्पनीले जनाएको छ । तीनकुनेबाट सुरु हुने यस कार्यक्रममा सहभागीहरूले जोडी बनाएर प्रतिस्पर्धा गर्नेछन् र ५ किलोमिटरसम्म फोहोर सङ्कलन गर्नेछन् । यस अभियानले स्वास्थ्य, समूहगत कार्यको भावना र वातावरणीय जिम्मेवारीलाई एकसाथ जोड्दै हरियालीको महत्त्व र जलवायु परिवर्तनविरुद्ध सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

यस सहकार्यबारे बोल्दै कुमारी जब प्रा.लि.का प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने ‘हामी केवल रोजगारीका अवसरहरू मात्र सिर्जना गर्ने नभई एक असल संसार निर्माण गर्ने अवसर पनि सिर्जना गर्नुपर्दछ भन्ने मान्यता राख्छौँ । यसै मान्यता अनुरूप हामीले यस काठमाडौँ ट्रयास कलेक्सन रेसको लागि मैनादेवी फाउन्डेसनसँग सहकार्य गरेका छौँ । हाम्रो यस सहकार्यले नागरिक सचेतना बढाउँदै भावी पुस्ताको लागि सुरक्षित वातावरण तयार गर्नेछ भन्ने हामीलाई विश्वास छ ।’

त्यसैगरी मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने ‘काठमाडौँ ट्रयास कलेक्सन रेस नेपालमा आशा र वास्तविक कामको प्रतीकका रूपमा विकसित हुँदै गएको छ । कुमारी जबसँगको यो सहकार्यले सफा, हराभरा र दिगो समुदाय निर्माणको हाम्रो प्रयासलाई थप बलियो बनाएको छ । हाम्रो यस सहकार्यमार्फत मानिसहरूलाई सकारात्मक परिवर्तन गर्न प्रेरित गर्दैछौँ ।’

यो वर्षको ट्रयास कलेक्सन रेसमा ३०० भन्दा बढी स्वयंसेवकहरू परिचालन हुने भएका छन् भने ३,००० भन्दा बढी नागरिकहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

मैनादेवी फाउन्डेसनले विगत ३ वर्षदेखि यस अभियान सञ्चालन गर्दै आएको छ । तीनकुनेबाट बिहान ७ बजे सुरु भएर माइतीघरमा समापन हुने यस अभियानमा सहभागीहरूले दौडँदै फोहोर सङ्कलन गर्ने गरेका छन् । यसरी सङ्कलन गरिएको फोहोर काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर व्यवस्थापन गर्ने गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *