सांसदलाई कांग्रेसको आग्रह- विचाराधीन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्नू
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले संसदमा विचाराधीन विधेयकहरूलाई संसदको आउँदो अधिवेशनमा पारित गर्नेगरी काम गर्न पार्टीका सांसदहरूलाई आग्रह गरेको छ ।
बुधवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहेका सांसदहरूलाई यस्तो आग्रह गरेको हो । समितिमा रहेका विधेयकहरूको अवस्था र ती विधेयकहरू पारित हुन नसक्नुका कारण बारेमा पार्टीका सांसदहरूसँग छलफल गरिएको पार्टीका सहमहामन्त्री जीवन परियारले बताए ।
उनले विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसदका अर्थ, शिक्षा, कानुन, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदहरूसँग छलफल गरेको बताए । उनले समितिहरूमा १५ वटा विधेयकहरू विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै संसदको हिउँदे अधिवेशन सुरु हुँदासम्म सबै विधेयक टुंगोमा पुर्याउन सांसदहरूलाई आग्रह गरिएको बताए । सांसदहरूले समितिमा विचाराधीन विधेयकहरू टुङ्गोमा पुर्याउन तदारुकताका साथ काम गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
उनले भने ‘आज हामी संघीय संसदमा विचाराधीन विधेयकहरूको सन्दर्भमा के, कस्तो अवस्था छ । र ती विधेयकहरू समितिमा के कति कारणले पारित हुन सकेका छैनन् रु र आउँदो हिउँदे अधिवेशनमा समितिबाट समेत पारित गर्ने र हिउँदे अधिवेशनबाट विचाराधीन विधेयकहरूलाई अन्तिम टुंगोमा पुर्याउनका लागि नेपाली काँग्रेसले पार्टीका सांसदहरूसँग हामीले छलफल गरेका छौं । आज हामीले दुई चरणमा छलफल गरेका छौं । बिहान ११ बजे अर्थ समिति, शिक्षा समिति र कानुन समितिका माननीय सदस्यहरूसँग छलफल गर्यौँ भने आज दिउँसो २ बजे राज्य व्यवस्था समिति, उद्योग समिति र पूर्वाधार विकास समितिका माननीयज्यूहरूसँग छलफल गर्यौँ । १५ वटा विधेयकहरू यी समितिहरूमा छलफलको क्रममा छन् । कतिपय विधेयकहरू अन्तिम टुंगोमा लाग्न लागेको र कतिपय विधेयकहरू छलफलकै क्रममा रहेको जानकारी प्राप्त भएको छ । हामीलाई के विश्वास छ भने समितिमा जतिसक्दो छिटो यी विधेयकहरूलाई अन्तिम टुंगोमा पु¥याएर संसदको अगाडि अधिवेशनमा यी पन्ध्र वटै विधेयकहरू पारित गर्नको लागि हामीले माननीय सदस्यहरूसँग आग्रह गरेका छौं । उहाँहरुले पनि तदारुकताका साथ विधेयकमाथि समितिमा छलफल गरेर अन्तिम टुंगोमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’
गत बिहीबार सत्तारुढ दुई दल नेकपा ९एमाले० र नेपाली काँग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।