२०२४ लाई फर्केर हेर्दा : राजनीतिक ‘उथलपुथल’,कुटनीतिक सम्बन्ध कमजोर,विपत्तिको सामना
काठमाडौं । आजदेखी अंग्रेजी नयाँ वर्ष २०२५ सुरु भएको छ । नेपालका लागि गएको वर्ष अर्थात् सन् २०२४ सुखद् रहेन । देशले प्राकृतिक विपत्तिको सामना गर्नुपर्यो भने राजनीतिक पक्ष पनि उथलपुथल बन्यो । समस्याकाबीच पनि गत वर्ष नेपालमा विश्वमाझ परिचित गराउने कामहरु भने भए ।
सरकार परिवर्तन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७९ पुष १० गते तेश्रो पटकका लागि मुलकको बागडोर सम्हालेका थिए । नेपाली कांग्रेससंग सहमति हुन नसकेपछि नेकपा एमालेको सहयोगमा उनी प्रधानमन्त्री बनेका थिए ।
कांग्रेस र एमालेलाई विश्वासमा लिएर १८ महिनासम्म मुलुकको प्रधानमन्त्री बनेका प्रचण्ड पछिल्लो पटक २०८० को फागुनमा कांग्रेससंगको गठबन्धन छाडेर एमालेसंग मिलेर सरकार बनाए । उनले गत वर्ष (सन् २०२४) मा नै पछिल्लो पटक सरकार परिवर्तन गरेका थिए ।
फागुनमा बनेको सरकार असारमा नै ढल्न पुग्यो । अर्थात् २०८१ असारमा प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने ।
दश वर्षे जनयुद्ध शान्तीप्रक्रिया हुँदै २०६३ मंसिरबाट खुला राजनीतिमा आएको नेकपा माओवादी केन्द्रले पहिलो पटक सत्ताबाट हात धुनु पर्यो । खुला राजनीतिमा आएपछिको समय कुनै न कुनै रुपमा नेकपा माओवादी केन्द्र सरकारमै रहेको थियो ।
तीन पटकसम्म त अध्यक्ष प्रचण्डले नै मुलुकको बागडोर सम्हाले । पछिल्लो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर सरकार गठन गरेपछि नेकपा माओवादी केन्द्रले सत्ताबाट हात धुनुपर्ने अवस्थाको सिर्जना भएको हो ।
मुख्य प्रतिस्पर्धी दल एक ठाउँमा,निर्णायक शक्ति बाहिरिए
गएको वर्ष (सन् २०२४) मा नेपालमा मुख्य दुई प्रतिस्पर्धी दल एक ठाउँमा आए । मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बन्यो । नेपाली कांग्रेसको समर्थनमा गत असार ३० गते (जुलाई १४) मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भए ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि चौथो कार्यकालका लागि ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
सरकार गठन भएको ६ महिना पुग्नै लाग्दा जनअपेक्षा अनुसार सरकाले काम गर्न नसकेको भन्दै नागरिकमा असन्तुष्टि पैदा भएको छ । सुृशासन,विकास,भ्रष्टाचार नियन्त्रण र समृद्धिलाई प्राथमिकतामा राखेर गठन भएको ओली नेतृत्वको सरकारले काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
मुलुकमा स्थायित्व कायम संगै नागरिकको जीवनस्तर सुधारमा गर्न नसकेको भन्दै जनतामा निराशा छाएको छ । दुई ठूला दल (नेपाली कांग्रेस र नेकपा एमाले) मिलेर सरकार बनेसंगै निर्णायक शक्तिका रुपमा रहेका नेकपा माओवादी केन्द्र (संसदको तेश्रो दल) र राष्ट्रिय स्वतन्त्र पार्टी (संसदको चौथो दल) बाहिरिए ।
१८ महिना सरकारको बागडोर सम्हालेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेसंगै निर्णयक शक्तिका रुपमा स्थापित यी दलहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेसंगै सरकारबाट बाहिरिएका हुन् । तत्कालिकान प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीका रुपमा सहभागि भएका थिए ।
रवि लामिछानेको गृहमन्त्री देखी हिरासतसम्मको यात्रा
पार्टी स्थापनाको छोटो समयमा नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलो पटक २०७९ पुष ११ गते देशको गृहमन्त्री बनेका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुन: प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पुरा नगरेको सर्वोच्च अदालतले ठहर गरेपछि माघ १३ मै उनी पदमुक्त भए ।
त्यसपछि पुन: चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी हाँसिल गर्दै संसद प्रवेश गरेका लामिछाने दोस्रो पटक पनि गृहमन्त्री बन्न सफल भए ।
तर,पछिल्लो पटक गत कार्तिक २ गते (नोभेम्बर १८) मा रास्वपा सभापति रवि लामिछाने पक्राउ परे । सहकारी ठगी प्रकरणमा मुछिएपछि प्रहरीले उनलाई पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाटै पक्राउ गरेको थियो । अहिले उनी प्रहरी हिरासतमा छन् ।
उनीविरुद्ध सहकारी ठगी सहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा अभियोग पत्र दायर गरेको छ । अहिले अदालतमा थुनछेक बहस भइरहेको छ । लामिछाने पक्राउ परेपछि उनको समर्थनमा रास्वपाले आन्दोलन समेत गरेको थियो ।
सन् २०२४ मै संघीय र स्थानीय तहका दुई वटा निर्वाचन सम्पन्न भए । गत बैशाख १५ गते(अप्रिल २७) मा संघीय संसदका लागि इलाममा निर्वाचन भयो । नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि यहाँ उपनिर्वाचन भएको थियो । यस उपनिर्वाचनमा नेम्वाङकै छोरा सुहाङ उम्मेदवार बनेर विजयी हाँसिल गरे । त्यसैगरी गत मंसिर १६ गते (डिसेम्बर १) मा देशभरका ४२ स्थानमा स्थानीय तह उपनिर्वाचन सम्पन्न भएको थियो ।
छानविन समिति गठन माग गर्दै संसद ठप्प
तत्कालिन प्रतिपक्ष दल नेपाली कांग्रेस सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका गर्न माग गर्दै संसद अवरोध गर्दै आएको थियो । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने (तत्कालिन गृहमन्त्री) माथि छानविन गर्न माग गर्दै संसदमा अवरोध सिर्जना गर्दै आएको थियो ।
त्यसपछि गत जेठ १५ (मे २८) मा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेकपा एमालेका सांसद सुर्य थापाको नेतृत्वमा सात सदस्यीय सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानविन विशेष समिति’ गठन गरियो । लामो समयको अध्ययनपछि समितिले गत भदौ ३१ गते संसदलाई प्रतिवेदन बुझायो ।
सो प्रतिवेदनले रवि लामिछाने सहितको नाम नै किटान गरेर कारबाहीका लागि सरकारसमक्ष सिफारिस गरेको थियो । नेपाली कांग्रेसले छानविन समिति गठन नहुन्जेलसम्म संसद अवरोध गर्दै आएको थियो ।
पाँच दशकसम्म पार्टीमा योगदान दिएका भीम रावल बाहिरिए
नेकपा एमालेबाट डा.भीम रावल बाहिरएका छन् । पाँच दशकसम्म पार्टीमा महत्वपूुर्ण योगदान दिएका रावललाई यही पुष १० गते बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले पार्टीको संगठित सदस्यताबाटै हटाएको छ ।
पार्टी हितविपरितका अभिव्यक्ति दिँदै हिँडेपछि पार्टीबाट निकालिएको नेकपा एमालेले जनाएको छ । उनी पार्टीमा रहँदा नेतृत्वको गतिविधि विरुद्ध आवाज उठाउँदै आएका थिए । पछिल्लो पटकको महाधिवेशनमा उनी केपी शर्मा ओलीसंग अध्यक्षमा चुनाव समेत लेडेका थिए ।
कुटनीतिक सम्बन्धमा हलचल,नेपालको अवस्था कमजोर
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार निर्माण भइसकेपछि कुटनीतिक सम्बन्ध कमजोर बनेको राजनीतिक विश्लेषक डा.राजेन्द्र चापाईं बताउँछन् ।
नेपालको कुटनीतिक सम्बन्ध बिग्रिएको उनी बताउँछन् । गत पुष ८ (डिसेम्बर २३) मा दार्चुलाको व्यास गाउँपालिका स्थित मानसरोवर जाने बाटाने व्यापार विन्दु बनाउन बेइजिङमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका परराष्ट्र मन्त्री वाङ वी सहभागि बैठकमा सम्झौता भएको उनी बताउँछन् ।
यद्यपि यस विषयमा नेपालले ‘नोट अफ डिसेन्ट’ पठाइसकेको छ । नेपाललाई जानकारी नदिई भारत र चीनबीच नेपालको भूमि व्यापारिक केन्द्रका रुपमा भारत र चीनले सहमति गरेको उल्लेख गर्दै नेपालको कुटनीतिक सम्बन्ध कहाँ छ भन्दै प्रश्न गरे ।
पुग्नै लाग्दा समेत भारतले नेपाललाई भ्रमणको निम्तो नदिएको बताउँदै नेपालसंग भारत खुसी नभएको बुझ्न सकिने उनी बताउँछन् ।
नेपाल स्वाधीन राष्ट्र भएको बताउँदै जुनसुकै देशको भ्रमण गर्न सक्ने भएपनि नेपालको प्रचलनअन्तर्गत ओलीको चीन भ्रमण नयाँ घटना भएको उनी बताउँछन् ।
राजनीतिक अस्थिरताको नमूनाका रुपमा गत वर्षलाई सम्झिनुपर्ने उनले बताए । नेपालले अन्तर्राष्ट्रिय पकड बलियो बनाउन आवश्यक रहेको उनले बताए । भूराजनीतिकका कारण सरकारमा परिवर्तन आउन सक्ने उनले बताए ।
भारत र चीनसंग नेपालको कुटनीतिक सम्बन्ध राम्रो नभएको राजनीतिक विश्लेषक डा.चापागाईं बताउँछन् । विपत्तीका साथै राजनीतिक रुपमा २०२४ सुखद् नरहेको चापागाईंले बताए ।
उनले नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकार नेपाल जस्तो प्रजातान्त्रिक मुलुकमा विरलै बन्ने गरेको समेत बताए ।
महामारी,सुनामी,भूकम्प,बाहिरी राष्ट्रले आक्रमण गर्ने लगायत विषयमा मात्रै दुई ठूला पार्टीहरु मिल्ने गरेको भएपनि त्यस्तो नभएको अवस्थामा नेपालमा दुई ठूला पार्टी मिलेर सरकार गठन भएको बताए ।
‘दुई ठूला पार्टी मिलेर सरकार निर्माण गर्नु नौलो घटना हो,राजनीतिक विश्लेषक चापागाईंले भने,विरलै घट्ने घटना हो यो ।’
विपत्तिको सामना
गएको वर्ष नेपालले धेरै नै विपत्तिको सामना गर्नुपर्यो । गत असोजमा देशभर आएको बाढी पहिरोका कारण अधिकांश स्थान क्षतिग्रस्त हुँदा धेरैले मृत्युवरण गर्न पुगे ।
काठमाडौं उपत्यका सहित देशभरी नै बाढी पहिरोका कारण संयौँको संख्यामा नागरिकले ज्यान गुमाए । त्यस्तै यसै वर्ष विमान दुर्घटनाका कारण पनि नागरिकहरुले अकालमै ज्यान गुमाउनुपर्यो ।
गत साउन ९ गते (जुलाई २४) त्रिभुृवन विमानस्थल नजिकै सौर्य एयर विमान दुर्घटना भयो । सो दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । त्यस्तै साउन २४ गते (अगस्ट ८) मा नुवाकोटको शिवपुरी गाउँपालिका ७ मा काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर आइनेष्टिको नाइन एन एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा पर्यो । सो दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो ।
के भयो उपलब्धी ?
गएको वर्ष सन् २०२४ मा नेपालमा अप्रिय घटना घटेपनि विश्वमाझ परिचित गराउने काम समेत नभएका भने होइनन् । पेरिस पारा ओलम्पिक २०२४ मा नेपालकी पलेशा गोवर्द्धनले ऐतिहासिक काँस्य पदक दिलाउन सफल भइन् ।
यस्तै कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा ३० औँ पटक आरोहण गर्न सफल भए । नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८ हजार मिटरमाथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र निमा रिञ्जी शेर्पाले ८ हजार मिटर उचाइका हिमाल चढेर कीर्तिमान बनाउन सफल भए । त्यस्तै आरोही निर्मल पूर्जा र मिङमा जी शेर्पाले बिना अक्सिजन विश्वका १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान बनाए ।
यसैबीच पहिलो पटक नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग(एनपिएल)को आयोजना गर्न सफल भयो । क्यानले कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा गत मंसिर १५ देखी पुष ६ सम्म एनपिएलको पहिलो संस्करणको आयोजना गर्यो ।
यसका साथै विद्युत् व्यापारमा उपलब्धीमूलक कार्य भएका छन् । नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्रीसम्बिन्धी सम्झौता हस्ताक्षर भएको छ ।
सन् २०२५ मा अपेक्षा
दुई ठूला पार्टी (नेपाली कांग्रेस र नेकपा एमाले)ले आम जनताका समस्यालाई सम्बोधन गर्न सक्नुपर्ने उनले बताए ।
‘स्थिर सरकारले जनतालाई डेलिभरी दिन सक्नुपर्छ,देश,जनता र माटोका बारेमा र जनजिविकालाई सम्बोधन गरेर विकासका कामहरु गर्न आवश्यक छ,’राजनीतिक विश्लेषक डा.चापागाईंले मकालुखबरसंग भने । अहिलेको सरकार स्थिर सरकार भएकाले जनतालाई केन्द्रमा राखेर अग्रगामी कदम चाल्नुपर्नेमा उनले जोड दिए ।