शिक्षा क्षेत्रको विकाशका लागि सही राजनीति हुनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल विश्वमै आईक्युमा सबैभन्दा पछाडि रहेको उल्लेख गर्दै दिमागको गरिबी खतरनाक हुने बताए । उनले शिक्षा क्षेत्रको विकासका लागि पनि सही राजनीति हुनुपर्ने बताए ।

उनले साधन र स्रोतको सीमितता सबैमा ठाउँमा भएपनि त्यो सीमित स्रोतमा कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेमा भर पर्ने बताए । उनले शिक्षाको विकास र मुलुकको आर्थिक तथा सामाजिक विकासका नीति नियमहरू बुझ्नका लागि सही राजनीति नै आवश्यक पर्ने बताए ।

उनले भने ‘हामी गरिब छौं, सबै छौं तर दिमागको गरिबी सबैभन्दा खतरनाक कुरा हो । त्यसलाई सच्याउने र सुधार्ने भनेको शिक्षाबाटै हो । फेरि सबैको केन्द्रमा राजनीति नै हुन्छ । हामी शिक्षाका लागि बजेट र प्राथमिकिकरणका कुराहरू गर्नुपर्ने हुन्छ । गर्नुपर्ने त एकैचोटि धेरै छ । सत्तामा नगएका साथीहरूलाई त्यो लाग्दो हो । म त गएर पनि फर्किएको हुनाले के भन्छु भने साधन र स्रोतको सीमितता सबैमा हुन्छ । त्यो त अमेरिकालाई पनि आफ्नो बजेट पुगेको छैन । त्यो सीमित स्रोतको पहिलो प्राथमिकता केमा दिने भन्ने हो । यसलाई बुझ्नको लागि, विकासका नीति र नियमहरू बुझ्नको लागि सही राजनीति नै हुनुपर्छ । हिजो सही थिएन भन्दिन ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालमा सार्वजनिक शिक्षा लिनेको संख्या निरन्तर ओरालो लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले सहरीकरण बढेसँगै सार्वजनिक शिक्षा लिने विद्यार्थीको संख्यामा निरन्तर गिरावट आइरहेको बताए । उनले पछिल्लो पैसा भएकोले मात्र शिक्षा किन्नसक्ने स्थिति सिर्जना भएको उल्लेख गर्दै यसप्रति सबै सचेत हुन आवश्यक रहेको बताए ।

उनले भने ‘पछिल्लो समय नेपालमा सार्वजनिक शिक्षा लिनेहरूको संख्या निरन्तर घटेर ७५ प्रतिशतभन्दा तल पुगेको छ । नेपाल जति अर्गनाइज हुँदैछ, जति सहरीकरण हुँदैछ त्यति सार्वजनिक विद्यालयहरू र विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घटेको देखिन्छ । सहरीकरणसँगै नेपालको सार्वजनिक विद्यालय अथवा सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दो छ । त्यसको अर्थ हामी दुईटा समाज निर्माण गर्दैछौं । एउटा जो पैसा खर्च गरेर राम्रो शिक्षा किन्न सक्छ त्यसको परिवारले पाउने शिक्षा अर्को आर्थिक रुपमा विपन्न र सामाजिक रुपमा पछाडि परेको वर्गले नेपालको सरकारी विद्यालयमा मात्र जान्छ । सामुदायिक विद्यालयमा गएको विद्यार्थीले राम्रो शिक्षा आर्जन गर्नसक्छ भन्ने ग्यारेन्टि यो राज्यले गर्न सक्दैन ।’

उनले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले शिक्षा आर्जन गर्नसक्छ भन्ने ग्यारेन्टी राज्यले दिन नसकेको बताए । उनले शिक्षामा सबैको पहुँच पुर्याउन सरकारले निजी शैक्षिक संस्थाहरूलाई निरुत्साहित गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *