खबर दिनभर : रावलले मातृभूमि जागरण अभियान चलाउने,गौतम छिट्टै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने

मातृभूमि जागरण अभियान चलाउने भीम रावलको घोषणा

नेकपा (एमाले) बाट निष्कासित नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोाषणा गरेका हुन् ।

उनले मातृभूमि जागरण अभियानबाट देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका छन् ।

‘देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ,’ उनले भनेका छन् ।

देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

डीआइजी कडायत र केसी एआइजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआइजी कुवेर कडायत र रवीन्द्र केसीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा र केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। एआइजी किरण बज्राचार्य र भरत बोहरा अवकाशमा गएसँगै उनीहरुको स्थानमा समितिले बढुवा सिफारिस गरेको हो।

वसन्तपुरमा मनाइयो १२ औँ नेपाली टोपी दिवस

१२ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा बुधवार काठमाडौंको वसन्तुपुरमा एक कार्यक्रम गरी मनाइएको हो । ‘नेपाली टोपी लगाऔँः पहिचान जागाऔँ’ भन्ने नारासहित यस वर्ष १२ औंैं नेपाली टोपी दिवस मनाइएको हो ।

दौरा शुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

उनीहरुले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग माग समेत गरेका छन् । उनीहरुले नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ, हाम्रो राष्ट्रिय पहिचान खै, विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान, तपाईं हाम्रो अभियान जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर बिआरआईमा प्रस्ताव लैजानुपर्छ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर बिआरआईमा प्रस्ताव लैजानुपर्ने बताएका छन् ।

काठमाडौंमा बुत्रवार नीति अनुसन्धान संस्थाको आयोजनामा भएको नेपालमा बिआरआई परियोजना कार्यान्वयनको सम्भावना विषयक अन्तरक्रियामा नेता खनालले बिआरआई नेपालको हितमा रहेको प्रष्ट पारे ।

बिआरआईले विश्व उत्साहित भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आवश्यकताका आधारमा बिआरआईका परियोजना अघि बढाउनुपर्ने बताए । उनले भने,“ऋण लिन हुँदैन भन्नु पुराना अवधारणा हुन्, आवश्यकताका आधारमा परियोजना अघि बढाउन सकिन्छ ।”

उनले बिआरआईका विषयमा नेपाली जनताले गहिराइमा पुगेर बुझ्न जरूरी रहेको बताए । दुई छिमेकीमुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्न जरूरी रहेको औँल्याउँदै उहाँले बिआरआईलाई विवादको विषय नबनाउन अनुरोध गरे ।

हाल विश्वको ७५ प्रतिशत जनसङ्ख्या बिआरआईभित्र परेको जानकारी गराउँदै उनले हालसम्म तीन हजार परियोजनामा सम्झौता भइसकेको जानकारी दिए ।

एक सय ५० भन्दा बढी मूलुक यसमा जोडिइसकेको उल्लेख गर्दै उनले विश्वव्यापी रूपमा भइरहेको विकासले बिआरआई महत्वपूर्ण परियोजना हो भनेर पुष्टी भएको दाबी गरे ।

शिक्षाको सुधारका लागि राजनीति सही हुनुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँको माइतिघर मण्डलामा आज शैक्षिक अभियन्ता नेत्र चापागाईँको शिक्षा क्षेत्रको सुधारको आन्दोलनलाई ऐक्यबद्धता दिन आइपुगेका पूर्व प्रधानमन्त्री डा.भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि सही राजनीतिक हुनुपर्नेमा जोड दिए ।

सीमित साधन स्रोतकाबीच पनि प्राथमिकीकरण गरेर शिक्षा क्षेत्रको विकास गर्न जरूरी रहेको औँल्याउँदै उहाँले यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पूर्व शिक्षामन्त्री शिशिर खनालले शिक्षालाई बलियो र प्रभावकारी नबनाएसम्म देश विकास नहुने बताए । उनले पछिल्लो समयमा सार्वजनकि विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेको भन्दै चिन्ता प्रकट गरे ।

उनले पैसा हुने र नहुनेबीच दु्ईवटा समाज निर्माण भएको दाबी गर्दै सार्वजनिक स्कुलमा पढ्ने विद्यार्थीले राम्रो शिक्षा आर्जन गर्न सक्छन् भन्ने ग्यारेन्टी सरकारले गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विवेकशील साझा पार्टीका रञ्जु दर्शना, शिक्षक महासङ्घका पुष्पराज कुँवरलगायतले शैक्षिक गुणस्तर सुधारका लागि आमूल परिवर्तनको खाँचो रहेको औँल्याएका थिए ।

पार्टीलाई समुदाय केन्द्रित बनाउनुपर्नेमा महामन्त्री थापाको जोड

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रा।डा।यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्रा.डा.यज्ञप्रसाद अधिकारी” नामक पुस्तकको आज यहाँ विमोचनपछि सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताएका हुन् ।

उनले भने,“जीवनभर कांग्रेसमा काम गरेका नेताहरूको आशिर्वाद लिँदै सामाजिक क्षेत्रमा लाग्नुपर्ने समय आएको छ ।” कांग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा युवापुस्ताको आकर्षण बढ्ने उनले बताए । उनले थपे,“पार्टी संरचनालाई सत्तासँग जसरी जोडेका छौँ त्यसरी नै समाजमा फर्काउन आवश्यक छ ।”

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरूराज घिमिरेले प्रा.डा.अधिकारीले जीवनमा देश र पार्टीका लागि पुर्‍याएको योगदानको चर्चा गरे । सो अवसरमा अधिकारीका भाइ प्रकाश अधिकारीले आफ्नो दाजुले लोकतान्त्रिक समाजवादका लागि प्राज्ञिक क्षेत्रबाट पुर्‍याउनु भएको योगदान र उनको जीवनीका बारेमा जानकारी गराए ।

प्रजातन्त्र संवर्द्धन केन्द्रका अध्यक्ष डा जगदीश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, समीक्षक रामबाबु घिमिरे, डा।गोपाल शिवाकोटी, भुवन थपलिया अधिकारीले पुस्तक र प्रा.डा.अधिकारीका बारेमा आफ्नो धारणा राखेका थिए । पलियाले पुस्तकको संयोजन गर्नुभएको हो भने प्रा डा नारायणप्रसाद खनालले सम्पादन गरेका हुन् ।

पुस्तक प्रजातन्त्र सम्वर्द्धन केन्द्रले प्रकाशन गरेको हो । ६७ वटा लेख एवं कविता पुस्तकमा समावेश छन् । ती सबै प्रा.डा.अधिकारी र लोकतन्त्रसँग सम्बन्धित छन् ।

पाँच सय २८ पृष्ठको पुस्तकको मूल्य रू ७०५ राखिएको छ । वि.सं. २००९ चैत २३ गते पर्वतमा जन्मिनुभएका अधिकारीले नेपाली कांग्रेसको विदेश नीतिमा विद्यावारीधि गरेका छन् । उनका १० वटा पुस्तक प्रकाशित छन् ।

नेकपा एससँग सैद्धान्तिक सहमति भयो, अब धेरै समय कुर्न नपर्ला : वामदेव गौतम

नेकपा (एकीकृत समाजवादी) र नेता वामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानबीच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेको छ । बुधवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारी र एकता अभियानका संयोजक गौतमबीच भएको छलफलपछि गौतमले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले समझदारी विकास गर्नेबारेमा छलफल भएको र एकता हुन धेरै समय कुर्न नपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘समझदारी विकास गर्नेबारेमा छलफल भयो । अब धेरै समय कुर्न नपर्ला पार्टी प्रवेशका लागि ।’

छलफलपछि बोल्दै एकता अभियानका संयोजक गौतम र पार्टीका पदाधिकारीबीच छलफल भएको र छलफल सकारात्मक रहेको बताउनु भयो । उहाँले राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा समेत छलफल भएको बताउनु भयो । उहाँले एकतावद्ध भइ अघि बढ्नेबारे सैद्धान्तिक सहमति जुटेको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकता अभियानका संयोजक वामदेव गौतमसँग हाम्रो पार्टीका पदाधिकारीहरु बसेर छलफल गर्‍यौँ । छलफल धेरै विषयमा भयो, राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा छलफल भयो । एतावद्ध भएर अघि बढ्ने सन्दर्भमा छलफल भयो । वामदेव कमरेड र हाम्रो बीचमा छिटै एकतावद्ध भइ सँगसँगै अघि बढ्ने एक खालको सैद्धान्तिक समझदारी भएको छ । एकता अभियानमा रहेका वामदेव कमरेडसँगै धेरै योगदान गर्नुभएका नेताहरुको व्यवस्थापनका कुराहरु भएको छ । हामी यि विषयहरु छिटै टुंग्याउँछौँ ।’

उहाँले नेता भीम रावललाई पार्टीमा प्रवेश गराउनेबारेमा पनि छलफल भइरहेको बताउनु भयो । भीम रावललाई पार्टीमा स्वागत गर्न आफूहरु तयार रहेको बताउनु भयो । उहाँले भीम रावलसँगको छलफल पनि सकारात्मक रुपमा अघि बढिरहेको दाबी गर्नुभयो ।

धेरै जातजाति, भाषाभाषीहरु नेपालको सम्पती : अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले नेपालमा धेरै जातजाति, भाषाभाषीहरु हुनु कमजोरी नभएको बताउनुभएको छ ।

बुधवार माईतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पती भएको उल्लेख गर्नुभयो । उहाँले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताउनु भयो ।

उहाँले सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नोआफ्नो पोशाक लगाइ पोशाक दिवस मनाउनुपर्ने बताउनु भयो । उहाँले अरुलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल विविधतापूर्ण देश हो । यहाँ अनेकौँ, जातजातिहरु, भाषाभाषीहरु, भेषभुषा भएका मानिसहरु छन् । हाम्रो लागि त्यो कमजोरी होइन । यो हाम्रो लागि सम्पती हो । यो सबैलाई हामीले सम्मान गर्नुपर्छ । त्यही आशयले हामी आज राष्ट्रिय पोशाक दिवस मनाउँदै छौँ । नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्ठा गरियो । लामै संघर्ष ग¥यौँ । त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ । त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ । आज कुनै एकल जाजातिको मात्रै भेषभुषा मनाउने दिवस होइन । सबैले आफ्नो मौलिक भेषभुषा लगाउने हो ।’

राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरु धोती लगाएर माईतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए । उनीहरुले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आगामी फागुनमा

उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने उद्देश्यसहित सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आगामी फागुन १६ र १७ गते काठमाडौँमा आयोजना गर्ने भएको हो ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता डन्डुराज घिमिरेले उक्त दुई दिने सम्मेलनको तयारीबारे जानकारी दिए । मुख्यतः श्रम कानुन र नीतिको समसामयिक सुधारमा केन्द्रीत श्रम तथा रोजगार सम्मेलनका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको प्रवक्ता घिमिरेले बताए ।

त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशकको संयोजकत्वमा तयारी समिति र मन्त्रालयका महाशाखा प्रमुख एवं मातहत कार्यालयका प्रमुखको संयोजकत्वमा सात वटा उपसमिति गठन गरी सम्मेलन तयारी अगाडि बढिरहेको जानकारी दिइएको छ ।

आन्तरिक र वैदेशिक रोजगारका क्षेत्रमा देखा परेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको उद्देश्य रहेको सचिव मुकुन्द्रप्रसाद निरौलाले जानकारी दिए ।

वैदेशिक रोजगारीलाई मुलुकले आर्थिक समृद्धिको अल्पकालीन रणनीतिको रूपमा मात्र लिएको र आन्तरिक उत्पादन तथा उत्पादकत्व अभिवृद्धि नै आगामी कार्यदिशा हुनुपर्नेतर्फ मन्त्रालयले जोड रहेको उनकोे भनाइ छ ।

उक्त सम्मेलनले श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर–तह एवं अन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने बताइएको छ । “सम्मेलनमार्फत श्रमिक, रोजगारदाता, अनुसन्धानकर्तालगायत यस क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाबाट सरकारलाई प्राप्त हुने सुझावलाई मन्त्रालयले अवलम्बन गर्ने आगामी नीतिगत र कानुनी सुधारमा पृष्ठपोषणको रूपमा आन्तरिकीकरण गर्नेछ”, सचिव निरौलाले भने ।

दुई दिने सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्तार विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी झण्डै पाँच सय जनाको सहभागिता रहने छ । सम्मेलनमा ‘भर्चुअल’ माध्यमबाट पनि सहभागी गराउने मन्त्रालयको तयारी छ ।

सम्मेलनस्थलमा मन्त्रालय, निजी क्षेत्र तथा अन्य विकास साझेदारको स्टलमार्फत् श्रम तथा रोजगार सम्मेलनसम्बन्धी सूचना तथा जानकारी दिइने जनाइएको छ । मन्त्रालयले २०५४ सालदेखि चार पटक श्रम तथा रोजगार सम्मेलन आयोजना गरिसकेको छ । चौथो सम्मेलन २०७६ मा सम्पन्न गरेको थियो ।

१ लाख ४२ हजार २२३ होटल तथा रेष्टुरेण्टमा ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख लगानी

नेपालमा राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेका छन् । बुधवार राष्ट्रिय तथ्यांक कार्यालयले काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या देशभर १ लाख ४२ हजार २२३ रहेको जनाएको हो ।

आर्थिक वर्ष २०७९/०८० भित्र तथ्यांक कार्यालयले गरेको सर्वेक्षणमा आवास तथा भोजन सेवा प्रदान गर्ने होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेको जानकारी दिएको छ । उक्त संख्यामा रहेका होटल तथा रेष्टुरेण्ट सञ्चालकहरुको संख्या ३ लाख ८७ हजार ७४७ रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

सार्वजनिक तथ्यांकअनुसार देशभरका १ लाख ४२ हजार २२३ वटा होटल तथा रेष्टुरेण्टमा काम गर्नेहरुको संख्या एक लाख ६ हजार ४५९ रहेको छ । यस अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुले कार्यरत तलवी कामदारहरुको लागि तलव ज्याला र सुविधामा करिव २० अर्ब ६१ करोड ५० लाख खर्च हुने गरेको तथ्यांकले देखाएको छ ।

सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टहरुको करिव २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य लागत गरी करिव ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ ।

होटल तथा रेष्टुरेण्टले नेपालको अर्थतन्त्रमा करिव १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको छ । देशभर सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टको करिव ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पती रहेको तथ्यांकले देखाएको छ ।

पत्रकार सम्मेलनमा तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले तथ्यांक संकलनमा सकेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरु पूरा ग्रेको बताउनु भयो । गणकहरुलाई दिने सेवा सुविधाहरुमा कमी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तथ्यांक संकलनमा जानेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरु पूरा गर्दछौँ । नियतले जाने बुझेसम्म गलत गर्दैनौँ । तैपनि गणकहरुलाई दिने सेवा सुविधाहरु साह्रो कमजोर छ । सिमित पारिश्रमीकमा गणकहरुलाई खटाएका छौँ । फिल्डमा गएर काम गर्न धेरै नै गाह्रो छ ।’

होटल तथा रेष्टुरेण्टमध्ये करिव २८.४% ले वित्तीय संस्थाहरुसँग ऋण लिएको देखिएको र ७१.६% प्रतिष्ठानहरुको ऋण नभएको÷नलिएको देखिएको उहाँले बताउनु भयो ।

उज्वेकिस्तानद्वारा २०२५ लाई वातावरण संरक्षण, हरित अर्थतन्त्रको वर्ष घोषणा

नयाँ वर्षको आगमनमा उज्वेकका राष्ट्रपति शावकत मिर्जियोयेभले २०२५ लाई देशको लागि वातावरण संरक्षण र हरित अर्थतन्त्रको वर्ष घोषणा गर्नुभएको छ । देशको मुख्य लक्ष्य आर्थिक प्रणाली र वातावरण बीचको दिगो सन्तुलनका साथै व्यवसायका लागि थप अवसरहरू सिर्जना गर्नु हो ।

उज्वेक नेताले निजी सम्पतीको संरक्षण र विदेशी लगानीलाई सक्रिय रूपमा आकर्षित गर्न देशले निर्णायक रूपमा काम गरिरहने बताउनु भयो । मिर्जियोयेभले सन् २०२४ लाई समृद्ध र नयाँ उज्वेकिस्तानको विचार वास्तविकतामा परिणत हुने वर्षका रुपमा मनाइएको बतउनु भयो ।

सन् २०२४ लाई उज्वेकिस्तानमा युवा र व्यवसायका लागि सहयोगको वर्ष घोषणा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *