कास्की अदालतमा रवि लामिछानेसहितको थुनछेक बहस जारी
काठमाडौँ । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनाको थुनछेक बहस आज पनि जारी छ ।
कास्की जिल्ला अदालतमा सूर्य दर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी ७ जनाको थुनछेक बहस जारी रहेको हो ।
मङ्गलबार र बुधवार सरकारी वकिलको बहस सकिएपछि बिहीबारदेखि जाहेरवाला सहकारी पीडित पक्षका कानुन व्यवसायीको बहस सुरु भएको हो ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले सूर्य दर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको छ ।
सूर्य दर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।