सचिनले अब कहिल्यै सोध्ने छैनन् ‘के छ हजुरको खबर ?’

काठमाडौं । बिहीबार बिहान बाल गायक सचिन परियारले अन्तिम श्वास फेरी । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सचिन १३ वर्षकै उमेरमा संसारबाट बिदा भए । सचिनको निमोनियाका कारण मृत्यु भएको हो । गुल्मी घर भएका सचिनले सानै उमेरमा धेरै गीतमा आवाज दिएका छन् ।

हँसिलो अनुहार, अनि बोलीमा त्यस्तै मिठास, सबैसँग सजिलै घुलमिल हुन सक्ने स्वभाव थियो सचिनको । यही स्वभावका कारण सचिन सामाजिक संजलामा रुचाइएका थिए । मिठो गीत गाउन थालेपछि सचिन गुल्मीबाट काठमाडौं आएका थिए ।

काठमाडौँ आएको छोटो समयमै उनले ठुला स्टारहरूसँग अभिनय गर्ने र गीत गाउने मौका पाए । गुल्मीकै एक युट्युब च्यानलले सचिनको अन्तर्वार्ता लिएपछि उनी सबैको नजरमा परेका थिए । पछि काठमाडौंमा कृष्ण कँडेलले सञ्चालन गरेको इन्द्रेणीमा समेत गीत गाए सचिनले ।

त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको थिएन । उनी युट्युबमा अन्तर्वार्ता दिन, टेलि शृङ्खला खेल्न, गीत गाउन, नाच्ने जस्ता विभिन्न क्षेत्रमा उनको व्यस्तता थियो । उनले गाएका ओठ खोलेर, रातो रबर, रुमाल खस्छ की, के छ र हजुर, बरको छायाले लगायतका गीत चर्चित छन् ।

तर, पारिवारिक झमेला र परिवारले दिएको यातनाका कारण सचिनको स्वास्थ्य अवस्था भने झनझन बिग्रिँदै गयो । विगत केही समय यता उनी बिरामी भइरहन्थे । सचिन बिरामी भएको बाहानमा उनका बुवा तेजेन्द्र परियारले सहयोग पनि मागिरहन्थे ।

तर, आएको सहयोग उनले सचिनको उपचारमा खर्चिएनन् उल्टै जाँडरक्सीमा सके । तेजेन्द्रले सचिनमाथि व्यापक श्रम शोषण गरे । सचिनलाई भजाएर उनले पैसा उठाउने र रात्रि क्लब र दोहोरीमा गएर पैसा खर्च गरेको सुनिन्छ । सचिनलाई उनकै परिवार र केही व्यक्तिहरूले सहज ढंगले बाँच्न दिएनन् ।

समयमै उपचार नपाएपछि अन्ततः सचिनको १३ वर्षकै उमेरमा निधन भयो । बाल्यकाल पनि राम्रो बाँच्न नपाएका सचिनको निधनले सामाजिक सञ्जालको टाइम लाइन शोकमा डुबेको छ ।

के छ खबर भनेर सोध्दा ठट्यौली शैलीमा ठिक छ हजुर,के छ हजुरको खबर ? भनेर सोध्थे सचिन । अब न सचिनलाई कसैले हाल खबर साध्ने छन् । नत उनले त्यसको जवाफ फर्काउने छन् । बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *