पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै
कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘युद्ध सङ्ग्रहालय’ निर्माण गर्न थालिएको छ । भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध सङ्ग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो ।
कालीकोट १० वर्षे सशस्त्र द्वन्द्वकालको समयमा अत्यन्त्यै प्रभावित जिल्ला भएकाले सो समयमा जिल्लावासीले कयौँ सास्ती भोग्नुपरेको थियो । द्वन्द्वकालमा भएका ठूला युद्धमध्येको कालीकोटको पिलीमा पनि भएको थियो । सोही स्थानमा कर्णाली प्रदेश सरकारको लगानीमा तीव्र गतिमा युद्ध सङ्ग्रहालय निर्माण भइरहेको छ ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि बर्सेनि बजेट विनियोजन गरेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालय कालीकोटले युद्ध सङ्ग्रहालय निर्माणलाई निरन्तरता दिइरहेको खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ सङ्ग्रहालय निर्माण थालिएको उनले उल्लेख गरे ।
“नगरपालिकाले पनि सङ्ग्रहालय निर्माणमा सहयोग गरिरहेको छ”, नगरप्रमुख शाहीले भने,“प्रदेश सरकारको लगानीमा सङ्ग्रहालय बनिरहेको छ, यसले आन्तरिक आम्दानी वृद्धि हुने, युद्ध भएको स्थानबारे प्रचारप्रसार भई पर्यटक आगमन बढ्ने र द्धन्द्धकालका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हुने विश्वास लिएका छौँ ।”
द्वन्द्वको बेला तत्कालीन शाही सेना र माओवादी सेनाको अन्तिम भिडन्त भएको ठाउँ पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय, स्थानीय सरकार र प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाइ छ ।
“विसं २०६२ साउन २३ गते विद्रोही र तत्कालीन शाहीबीच दोहोरो भिडन्त हुँदा एक सय तीन जनाको ज्यान गएको पिली गाउँलाई युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य गाउँले लिएको छ”, स्थानीय मानबहादुर मल्लले भने । सो समयमा सबैभन्दा बढी मानवीय क्षति भएकाले यसलाई युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न खोजिएको उनले उल्लेख गरे ।
कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल जाने बीच बाटोमा पर्ने भएकाले यहाँ पर्यटकको आगमन बढाउन सकिने भन्दै यो ठाउँ द्धन्द्धकालका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि महत्वपूर्ण हुनसक्ने स्थानीय रामबहादुर कार्कीले विचार राखे ।
“द्धन्द्धका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चामा रहेको पिलीलाई सधैँभर जीवन्त राख्ने, युद्धको अवशेषहरू देखाउने र पर्यटनका माध्यमबाट स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँका रूपमा विकास गर्न थालेकान हौँ”, उनले भने,“युद्ध पर्यटकीयस्थल र लडाइँ भएका ठाउँमा भग्नाअवशेष र लडाइँमा प्रयोग भएका बङ्करको संरक्षण गर्ने तयारी थालिएको छ । लडाइँ प्रयोग भएका हतियारसमेत सङ्कलन गर्ने तयारी छ ।”
आर्थिक वर्ष २०७६/७७ मा रु एक करोड ५० लाख बजेट विनियोजन भएकामा सो रकमबाट घरबास (होमस्टे) सहित तीन वटा भवन, करिब सात सय मिटर रेलिङसहितको सिँढी निर्माण भएका खाँडाचक्र नगरपालिकाका प्रमुख शाहीले जानकारी दिए ।
“त्यसअघि र पछि गरेर रु तीन करोड खर्च भइसके पनि नयाँ बन्ने संरचनाको काम सुरु भएको छैन । पिलीका लागि सङ्घीय संरचना नबन्दै तत्कालीन दाँहा गाविस, जिल्ला विकास समिति कालीकोट, नागरिक तथा पर्यटन उड्डयन मन्त्रालयलगायत निकायको समन्वयमा ती संरचना निर्माण भएका हुन् । कोभिड–१९ पछि भने बजेट विनियोजन भएको थिएन”, उनले भने ।
भ्युटावरसहित अन्य संरचना बन्दै
डिभिजन वन कार्यालय कालीकोटमार्फत पिलीमा युद्ध पर्यटकीय क्षेत्र बनाउन विभिन्न पूर्वाधारका काम भइरहेका छन् । यहाँ युद्ध सङ्ग्र्रहालय, रेलिङसहित करिब एक हजार नौ सय मिटर पैदलमार्ग, पौडी पोखरी, सवारीस्थाल, प्रवेशद्वार, भ्यटावर, टिकट काउन्टर, बुट्यानसहितका दुई वटा चौतारा, शौचालय र गेट निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईले जानकारी दिए ।
सङ्ग्रहालय निर्माण अन्तिम चरणमा पुगेको बताउँदै ८५ प्रतिशत भौतिक प्रगति र ५७ प्रतिशत वित्तीय प्रगति भएको उहाँले जानकारी दिनुभयो । अहिले बाहिरी आवरण र रङ्गरोगनको काम भइरहेको छ ।
वि.सं. २०८४ असार २२ गतेसम्म काम सम्पन्न गर्नेगरी विसं २०७९ असार २३ गते रु छ करोड ८९ लाख ९९ हजारमा ठेक्का सम्झौता भएको थियो । डिभिजन वन कार्यालयका प्रमुख कुमाईले अहिले तीव्र रूपमा निर्माण अघि बढेको जानकारी दिए ।
युद्धस्थलका रूपमा चिनिएको पिलीलाई पर्यटकीय गन्तव्यमा रुपान्तरण गर्न सके स्थानीयको आयआर्जन वृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने प्रमुख कुमाईले बताए ।
“यहाँ उत्पादन हुने स्थानीय वस्तु र व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नेछ”, उनले भने,“घटनासँग सम्बन्धित विषय र सामग्री सङ्ग्रहालयमा राखेपछि अवलोकन, अनुसन्धान गर्ने आन्तरिक र बाह्य पर्यटक पनि बढ्नेछन् । अब यो पिलीको डाँडा मात्र नभई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन जरुरी छ ।”
आन्तरिक पर्यटकको रोजाइमा पिली
पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पिली पर्न थालेको छ । यहाँ बनेका संरचना र कर्णाली राजमार्गको सिरानमा पर्यटकीय क्षेत्र विस्तार भएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।
पिली द्धन्द्धसम्बन्धी अध्ययन र अनुसन्धान गर्नेका लागि आकर्षण केन्द्र बनेको भन्दै प्रमुख पर्यटकीय गन्तव्य राराताल र जुम्ला पुग्ने पर्यटकलाई यहाँ रोकिराख्न पनि यो स्थान महत्वपूर्ण हुने कर्णाली प्रदेशसभाका सांसद दुर्गबहादुर रावतले बताए ।
“पिली रारा तथा जुम्ला जाने सडक नजिकपर्ने भएकाले पनि आन्तरिक पर्यटकको रोजाइ पर्ने गरेको छ”, उनले भने,“अहिले यो पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ ।” उहाँले यस क्षेत्रको प्रचारप्रसार, थप पूर्वाधार निर्माणलगायत काममार्फत पर्यटन प्रवद्र्धनमा प्रदेश र सङ्घीय सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
युद्धमा प्रयोग भएका हातहतियार र अन्तिम युद्ध भएको ठाउँको इतिहासलाई महसुस गर्ने सामग्री राख्ने गरेर संरचना तयार गरिएको खाँडाचक्र नगरपालिकाले जनाएको छ । युद्धका बेला दुवै पक्षले प्रयोग गरेका बङ्कर हातहतियारसमेत संरक्षण गर्नु आवश्यक देखिएकाले ती संरचना संरक्षण गर्न थालिएको पूर्ववडाध्यक्ष रजबहादुर मल्लले बताए ।
“सशस्त्र द्वन्द्वको अन्तिम युद्धस्थल पिलीमा बनेका भौतिक संरचनाको संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्ने योजना बनाउनुपर्छ”, उनले भने,“स्थानीय अर्गानिक उत्पादनलाई जोड दिएर यहाँको पर्यटन क्षेत्रको विकासका लागि ध्यान दिएका छौँ ।”