अहिलेको सरकार नेपाली काँग्रेसको बलमा छ : नेता सिटौला
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार नेपाली काँग्रेसको बलमा रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसको बलमा सरकारमा रहेको बताए । उनले काँग्रेसको सहारामा प्रधानमन्त्री बनेकाले काँग्रेस बेगर एक्लै अगाडि बढ्न नसक्ने बताए ।
उनले अहिलेको सरकार विशेष परिस्थितिबाट निर्माण भएकाले यसलाई जोगाएर लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले बनिसकेको सरकारलाई बीचमा भत्किन दिनु नहुने बताए । सरकार जोगाउनका लागि जोगाउने नभई सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्ने बताए ।
नेता सिटौलाले भने ‘आखिर यो सरकार हाम्रो बलमा छ । केपी ओलीजी प्रधानमन्त्री हाम्रो बलमा हुनुहुन्छ । हाम्रो सहारामा हुनुहुन्छ । हामी बेगर उहाँ अगाडि एक्लै जान सक्नुहुन्छ भनेर हामी कोही पनि कल्पना गर्न सक्दैनौँ । एउटा विशेष परिस्थितिबाट निर्माण भएको सरकार हो यो । यसलाई हामीले जोगाएर लैजानु पनि छ । बनिसकेपछि यसलाई बीचमा भत्किन दिनु पनि भएको छैन हामीले । यसलाई जोगाएर लिएर जानु पनि छ र यो सरकार जोगाउनका लागि जोगाउने होइन, यो सरकारले गर्ने नीतिहरूबाट, यो सरकारले गर्ने व्यवहारबाट राज्य सञ्चालनबाट जनताका बीचमा व्यापक काम गर्न सक्नुपर्छ । कुनै प्रेसले कसैका बारेमा भन्यो भन्दै, प्रहरीले कसैलाई पक्राउ गर्याे भन्दैमा त्यसैलाई विश्वास गरेर काँग्रेस विचलित हुँदैन ।’
नेता सिटौलाले नेपाली काँग्रेस पार्टीले सिङ्गो समाजलाई नेतृत्व दिनसक्नुपर्ने बताए । अहिलेदेखि नै महाधिवेशनको तयारी गर्न आवश्यक नरहेको बताए ।