देश र जनताको आवश्यकताको आधारमा परियोजनाहरू बनाउनुपर्छ : सांसदहरू
काठमाडौँ । देश र जनताको आवश्यकताको आधारमा विकास निर्माणका योजनाहरू बन्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनीहरूले देशको समृद्धिमा योगदान पुर्याउने परियोजनाहरू ओझेलमा परेको बताएका हुन् ।
बैठकमा बोल्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले लाभ नदिने योजनाहरूमा पूरै तागत लगाएको टिप्पणी गरे । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई मन्त्रालय कतै हराएको त छैन ? भन्दै प्रश्न गरे । उनले निजगढ विमानस्थलको प्रगतिबारे जानकारी गराउन समेत माग गरेका छन् ।
उनले भने ‘जुन परियोजनाले देशको समृद्धिमा योगदान पुर्याउँछ ती परियोजनाहरू ओझेलमा परेको जस्तो देखिन्छ । जुन प्रोजेक्टले खासै लाभ दिएको छैन । त्यस परियोजनामा पूरै तागक लाएको जस्तो देखिन्छ । कतै मन्त्रालय हराएको त छैन ? विषयान्तर भएको त छैन ? आफ्नो बाटो बिराएको त छैन ? अहिले निजगढ एयरपोर्टको बारेमा के भइरहेको छ ? गरेको त केही पनि देखिएन । यदि गर्न सक्नुहुन्न भने यो जिम्मेवारीमा बस्न मिल्छ कि मिल्दैन ?’
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले देश र जनताको आवश्यकताको आधारमा भन्दा कताबाट कमिसन प्राप्त हुन्छ भन्ने कुराबाट योजना जन्मिने गरेको बताए । उनले कमिसनको आधारमा योजना अघि बढाइने प्रवृत्तिको निरुत्साहित गर्न जरुरी रहेको बताए । उनले कानुनको निर्माणमा संविधानको भावनाअनुसार उदासीन समिति र संसादहरु उदासीन भएको भन्दै ग्लानि भइरहेको बताए ।
उनले भने ‘हाम्रो देशका ठूला साना आयोजनाहरू आवश्यकताको आधारमा बन्दैनन् । देश र जनताको आवश्यकताको आधारमा योजनाहरू जन्मिनेभन्दा पनि कताबाट कमिसन प्राप्त हुन्छ भन्ने कुराबाट योजना जन्मिन्छन् । जताबाट अध्ययन गर्दा पनि यो कुरा प्रमाणित नै हुन्छ । यसलाई हामीले निरुत्साहित गर्ने प्रकृतिको प्रणाली बनाउनुपर्छ । ऐन, कानुनको निर्माणमा हामी संविधानको भावनाअनुसार उदासीन जस्तै छौं । हामीलाई ग्लानि भइरहेको छ । संरचनागत सुधारहरू हामीले धेरै गर्नुछ । नयाँ सोच छैन । तर पुरानै सोचले पनि गति लिन सकेको छैन । माननीय ज्युसँग मेरो प्रश्न, पशुपति धर्मशालाको मन्त्रालयले गरेको निर्णय जे आधारमा गरेर गरिएको थियो त्यही आधारमा गर्नुपर्छ भनेर अध्ययन समिति बनाइएको हल्ला छ । त्यो के गरिएको होला ?’
नेकपा (एमाले) की सचेतक सुनिता बरालले दीर्घकालिन र रणनीतिक योजनाहरू सरकारको प्राथमिकतामा पर्नुपर्ने बताइन् । उनले भैरहवा र पोखरा विमानस्थलको प्राविधिक पक्षबारे आम नागरिकलाई जानकारी दिन जरुरी रहेको बताइन् । उनले निर्माण सम्पन्न विमानस्थल सञ्चालनका लागि सरकारले किन पहल नचालेको ? भन्दै प्रश्न गरिन् ।
बैठकमा अधिकांश सांसदहरूले योजना छनोट गर्दा देश र जनताको समृद्धि र आवश्यकताको आधारमा हुनुपर्नेमा जोड दिए ।