महिला लिगको फाइनल राउण्डमा आर्मीको सुखद् शुरुवात

काठमाडौं ।  त्रिभूवन आर्मी क्लवले एन्फा महिला लिग फुटबलको फाइनल राउन्डमा सुखद् शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीवारदेखि शुरु भएको महिला लिगको फाइनल चरणको खेलमा आर्मीले वागमती युथ क्लवमाथि २–० को जित निकाल्दै सुखद् शुरुवात गरेको हो ।

एन्फा महिला लिगको पहिलो चरणमा १० टोलीले प्रतिष्पर्धा गरेका थिए । उक्त पहिलो चरण (४५ खेलपछि) मा शीर्ष पाँच टोलीले फाइनल चरणमा स्थान बनाएका हुन् ।

पाँचौं स्थानको कोशी प्रदेश फुटबल संघले आर्थिक समस्या देखाउँदै दोस्रो चरणको लिग खेल्ने भएपछि वागमती छैटौं स्थानमा रहे पनि फाइनल राउन्ड खेल्न पाएको हो । तर घरेलु फुटबलका स्टार र विदेशी खेलाडीबिना खेलेको वागमतीको फाइनल राउण्डको शुरुवात राम्रो हुन सकेन ।

विभागीय टोलीविरुद्ध कमजोर प्रदर्शन ग¥यो र २–० ले नतिजा सुम्पिन पुग्यो । आर्मीका लागि विमला चौधरीले दुई गोल गरिन् । आर्मीले दुवै हाफमा समान एक गोल गरेको हो । विमलाले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाइन् ।

डिफेन्स लाइनबाट विमला विकले दिएको लामो क्रस सदुपयोग गर्दै उनले गोल गरेकी हुन् । विमलाले ३८औं मिनेटमा गोल गर्ने अर्को अवसर खेर फालिन् ।

वागमतीका डिफेन्स लाइनले क्लियर गर्न नसकेको बललाई विमलाले प्रहार गरे पनि गोलकिपर सुजता तामाङले रोकिन् । लगत्तै रिबाउन्ड बल नियन्त्रणमा लिँदै विमलाले अर्को प्रहार गरिन् । तर यसपल्ट भने उनले पोस्टको दिशा लिन सकिनन् ।

यससँगै पहिलो हाफ बागमती १–० ले पछि रह्यो । दोस्रो हाफको शुरुमै वागमतीकी अस्मिता खवासले गोल गर्ने अवसर गुमाइन् । पेनाल्टी बक्सनजिकैबाट अस्मिताले फितलो प्रहार गरिन् । ५५औं मिनेटमा आर्मीकी कप्तान पुनम जर्घामगरको हेडर गोलमा परिणत हुन सकेन । कर्नरबाट आएको बललाई पुनमले नजिकैबाट हेड गरे पनि पहिलो बारमा लागेर फर्किन पुग्यो । ६२औं मिनेटमा पनि आर्मीकी सपना लामाले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार वागमतीकी गोलकिपर सुजता तामाङका लागि चुनौती भएन ।

तीन मिनेटपछि नै पुनमले दोस्रो बार च्याप्दै गरेको उत्कृष्ट प्रहार वागमतीकी गोलकिपर सुजताले पन्चै गर्दै संकट टारिन् । ७१औं मिनेटमा नै विमला चौधरीले नै दोस्रो गोल गरिन् ।

सपना लामाले कर्नरबाट दिएको बललाई विमलाले हेडमार्फत गोल गरेकी हुन् । चार मिनेटपछि नै बागमतिकी सेमिहाङ्मा लिम्बूले करिव २५ यार्डबाट गरेको फ्रिकिक आर्मीकी गोलकिपर अञ्जना रानामगरले नियन्त्रणमा लिइन् । ८० औं मिनेटमा आर्मीकी कप्तान पुनमको फ्रिकिक वागमतिकी गोलकिपर सुजताले मुस्किलले बचाइन् ।

त्यसपछि पनि आर्मीले गोलका केही राम्रा अवसर सिर्जना गर्‍यो । तर गोल निस्किएन र आर्मीले वागमतीमाथि २–० को जित निकाल्यो । फाइनल राउण्डमा तीन विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लव र आर्मीसँगै वालिङ नगरपालिका र वागमतीले खेल्नेछन् ।

यीमध्ये आर्मीले सुखद् शुरुवात गरेको हो । विभागीय तीनसहित १० टोलीले गत भाद्र र असोजमा एन्फा कम्प्लेक्सको मैदानमा राउण्ड रोबिनको आधारमा सञ्चालित लिगको पहिलो चरणमा प्रतिस्पर्धा गरेका थिए ।

पहिलो चरणमा एपिएफ (२५ अंक) पहिलो, आर्मी (२२) दोस्रो, पुलिस (२१) तेस्रो, वालिङ (१५) चौथो र कोसी (१४) पाँचौं स्थानमा थिए । त्यस्तै वागमती (१०) छैटौं, संकटा फुटबल क्लब (आठ) सातौं, चन्द्रपुर नगरपालिका (आठ) आठौं, कर्णाली प्रदेश (चार) नवौं र सबै खेल हारेको सुदूरपश्चिम प्रदेश अन्तिम तथा दशौं स्थानमा रहेका थिए ।

फाइनल लिगमा पाँच टोलीले एकअर्काविरुद्ध समान २/२ खेल खेल्नेछन् । यहाँबाट एक टोली बाहिरिइनेछ भने शीर्ष चार टोली प्लेअफ पुग्नेछन्। त्यसमा शीर्ष दुई टोली पहिलो क्वालिफायरमा पुग्नेछन् । तेस्रो र चौथो स्थान हासिल गर्ने टोली इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ ।

पहिलो क्वालिफायर विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछ । दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेताको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *