‘देशको वर्तमान परिस्थिति जटिल र पेचिलो बनेको छ’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले देशको वर्तमान परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताएका छन् ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले देशको वर्तमान परिस्थिति झनै जटिल र पेचिलो बनिरहेको बताएका हुन् ।
बैठकका निर्णयबारेमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै बैठकमा अध्यक्षले राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीको बैठकमा पेश गर्ने निर्णय भएको बताए ।
उनले बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिका बारेमा पनि आफ्ना धारणा राख्नुभएको र देशको परिस्थिति झनै जटिल बनिरहेको बताउनुभएको जानकारी दिए ।
प्रवक्ता सापकोटाले अहिलेको सरकारले आफ्नो नेतृत्वको सरकारले गरेका कामहरु उल्ट्याउने, भ्रष्टाचारी जोगाउने काम गरिरहेको आरोप लगाए ।
उनले विद्युत महशुल नतिर्नेहरुको महशुल मिनाह गर्नुपर्ने दबाब प्रधानमन्त्री र उर्जा, जलश्रोत तथा सिंचाईमन्त्रीले दिइरहनुभएको पनि बताए । उनले आफ्नालाइ जोगाउने र बिरोधीहरु खोजिखोजि कारबाही गर्ने काम भइरहेको बताए ।
उनले काँग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समिति सभापति ऋषिकेस पोखरेलकी श्रीमतीलाई उन्मुक्ति दिइएको आरोप लगाउनु भयो । उनले राष्ट्रिय जीवनका हरेक क्षेत्रमा हस्तक्षेपले सीमा नाघेको बताए ।
उनले भने,‘आजको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसेको थियो । मुख्य गरी एजेण्डा भनेको पुस २१ गतेदेखि केन्द्रिय समितिको बैठक बस्दैछ । त्यो बैठकका एजेण्डाहरुको बारेमा आज छलफल भयो । अध्यक्षले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभयो । सबै प्रदेशका अध्यक्षले प्रदेशको रिपोर्टिङ गर्नुभयो । अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्नुहुन्छ । आगामी कार्ययोजना, समसामयिक प्रश्तावहरु हुनेछन् । अहिलेको देशको वर्तमान परिस्थिति असाध्यै जटिल र पेचिलो बन्दै गएको छ । हाम्रो पार्टीको नेतृत्वको सरकारले गरेका कामहरुको सवालमा उल्ट्याउने काम गरिरहेको छ । भ्रष्टाचार नियन्त्रण होइन, भ्रष्टाचारीलाई संरक्षण गर्ने काम गरिरहेको छ । जस्तै प्राधिकरणले राम्रो काम गरिरहेको छ । विद्युत महशुल नतिर्नेहरुको महशुल मिनाह गर्नुपर्छ भन्ने खालको प्रधानमन्त्रीको निरन्तर दबाब छ । उर्जामन्त्रीले प्राधिकरणमै इतिहासमै नभएको प्राधिकरणमै कार्यालय खोलेर दबाब दिइरहनुभएको छ । भूटानी शरणार्थी, सुन काण्ड, गिरिबन्धु टिस्टेट,एम्नी र यतिका कुरा हुन् सबै चिजलाई ढाकछोप गरिएको छ । अरु बिरोधीहरुको खोजिखोजि बिरोधीहरुलाई खोजिखोजि कारबाही गर्ने र आफ्नालाई संरक्षण गर्ने गरिएको छ । दुई वटा उदाहरण नै काफी छ । एउटा नेपाली काँग्रेसको उपसभापति धनराज गुरुङको, सहकारी संसदीय समितिको प्रतिवेदनमा नै उल्लेख छ । उहाँलाई केही गरिएको छैन । त्यस्तै लेखा समितिको सभापतिको श्रीमतीलाई पनि वास्तवमा उनी घरमै छन्, फरार भनिएको छ । यसरी आफ्नलाई संरक्षण गर्ने र अरुलाई काम गर्न नदिने काम भइरहेको छ । राष्ट्रिय जीवनका हरेक क्षेत्रमा हस्तक्षेपले सीमा नाघेको छ ।’
उपाध्यक्ष सापकोटाले त्रिभूवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल मंसिर २६ गतेदेखि नै विश्वविद्यालय नगएको बताए । उनले त्रिभूवन विश्वविद्यालयमा पनि दबाब दिने काम हुँदा यो परिस्थिति सिर्जना भएको उनको दाबी छ । उनले विश्वविद्यालयको सिनेट बैठक सिंहदरबार बोलाएर कार्यपालिकामा बस्नु गलत भएको बताए ।
उनले भने,‘त्रिभूवन विश्वविद्यालयको उपकुलपति केशरजंग बराल मैले सुन्दैछु, उहाँ मंसिरको २६ गतेदेखि कार्यालयमा जानुभएको छैन । आज हामी १८ मा कुरा गर्दैछौँ । २३/२४ दिन भनेको सानो कुरा होइन । इतिहासकै कहिल्यै थिएन, त्रिभूवन विश्वविद्यालयको सिनेटको बैठक सिंहदरबारमा भएको छ । कार्यपालिकामा आएर विश्वविद्यालयको बैठक सर्वथा गलत कुरा हो । यस्ता केही उदाहरणले मात्रै पनि सरकार अधोगतितिर छ भन्ने देखाउँछ । सेवा प्रवाह, सुशासन कायम गर्ने कुरामा उल्टो दिशामा गइरहेको छ ।’
उनले सरकार निरन्तर अधोगतितर्फ उन्मुख भएको बताए । उनले नेपालीहरुले एक स्वरले नेपाल नेपालीहरुको हो र नेपालीहरुले चलाउनुपर्छ भन्ने आवाज उठाउन जरुरी रहेको बताए । सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे ।