सुशासनका लागि राजनीतिक नेतृत्वको नियत स्पष्ट हुनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन् ।

‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर व्यवहारमा कसले के गर्छ भन्ने महत्वपूर्ण हुन्छ । यसमा नियत र निष्ठा बढी महत्वपूर्ण हुने रहेछ,’ अध्यक्ष प्रचण्डले भने, ‘के हामी भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो गएका छौं त ? नेपाली समाजले राजनीतिक दलहरु र सरकारबाट त्यो महसुस गरेको छ त ? यो गम्भीर प्रश्नको जवाफ दिनैपर्छ ।’

आफूले पछिल्लो पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारिताका साथ काम गरेको स्मरण गराउँदै उनले भने, ‘मैले सरकारमा रहँदा जे बोल्थे र गर्थें, अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब विस्तारै जनताले बुझ्दै गएका छन् ।’

जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशंका गरेका छन् र सदनमा गम्भीर प्रश्न उठेका छन्, त्यहाँ राजनीतिक नेतृत्वको इमान्दारिता जनताले जाँच्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु । मैले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लिएको संकल्पमा अहिले पनि दृढ छु, यसमा पत्रकारिता क्षेत्रको पनि साथ सहयोग चाहिएको छ ।’

नेपालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट गर्दै उनले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए । विश्वव्यापी रुपमा गलत र भ्रामक सूचनाको सञ्जाल विस्तार भइरहेको बेलामा यसले सिर्जना गर्ने चुनौती सामना गर्ने दायित्व पत्रकार महासंघको काँधमा पनि रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *