प्रचण्डलाई बर्तौलाको सन्देश- समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला (भिडिओ)
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरु राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरुको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको बताए ।
उनले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्न जरुरी रहेको बताए । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै भविष्यमा कतै भेटै नहुनेगरी अभिव्यक्ति नदिन आग्रह गरे । पदहरु अस्थायी रहेकाले सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा नै स्थायी हुने उनले उल्लेख गरे ।
‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौँ । यसो अहिले हेर्दा कहिले लाग्छ, सम्माननीय पूर्वप्रधानमन्त्रीज्यु यहीँ हुनुहुन्छ । हामीलाई यसो लाग्छ, कहिले कहीँ नेताहरुको अभिव्यक्ति, नेताहरुले गरेका व्यवहार, कार्यशैलीहरुले समाजलाई कताकता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो की भन्ने पनि लाग्छ । हामी भुईं पस्ताका युवाहरुको एउटा आग्रह छ,’ उनले भने,’राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्नैपर्छ । त्यो सूचना संप्रेषण गर्ने आज राजनीतिक दल र नेतृत्व पनि हो । त्यो ठाउँबाट हामीले ठिक ढंगको सन्देश संप्रेषण गर्ने प्रक्रिया आरम्भ गर्नुपर्छ । यो बीचमा कताकता त्यो तलवितल भएको हो की भन्ने अनुभुति छ । आजको संसदको गणितले सरकार यस्तै तरिकाले बनिरहने, भत्किने, लोकतन्त्रमा यसलाई स्वभाविक रुपमा लिनुपर्छ । पदहरु भनेको अस्थायी कुराहरु हुन् । स्थायी कुरा भनेको सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा पनि हो । यि कुरामा पनि हामीले ध्यान दिनुपर्छ ।’
प्रमुख सचेतक बर्तौलाले राजनीतिक नेतृत्वबाट देशमा सकारात्मक सन्देश जाने गरीकन अभिव्यक्ति दिनुपर्ने बताए । भविष्यमा भेट हुन्छ भन्ने स्मरण गरेर अघि बढ्न जरुरी रहेको उनले बताएका हुन् ।