नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ्ग सेवा विस्तार
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले बागमती प्रदेश धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ९, टायलघर (व्यावसायिक प्रतिनिधि सन्जीव खत्री) मा व्यावसायिक प्रतिनिधि मार्फत थप शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा केन्द्रको संख्या ७३ पुगेको बैंकले जनाएको छ ।
शाखारहित बैकिङ्ग सेवा केन्द्रको स्थापना कार्यक्रममा बैंकका प्रतिनिधि, स्थानीय जन–प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट मेगा बैँक लिमिटेड केन्द्रीय कार्यालय, डिजिटल पेमेन्टस् विभागका आर्यन सिग्देलले शाखारहित बैकिङ्ग सेवा तथा सोको प्रयोगका बारेमा जानकारी गराएका थिए ।
बैंकले व्यावसायिक प्रतिनिधिलाई स्थानियस्तरमा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको जनाएको छ । व्यावसायिक प्रतिनिधि मार्फत ग्राहकहरूले बचत खाता खोल्ने, बचत स्वीकार गर्ने, रकम भुक्तानी दिने, खाता मौज्दात तथा खाताको कारोबार विवरण निकाल्ने, एक खाता बाट अर्को खातामा रकमान्तर गर्ने, अन्य बैकको खातामा रकम जम्मा गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्ने, बिजुलीको बिल भुक्तानी, मोबाइल फोनको रिचार्ज सेवा लगायतका बैंकले तोकेका अन्य सेवाहरू प्राप्त गर्न सक्ने जनाएको छ ।
बैंकले स्थापनाकाल देखि नै ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ शाखारहित बैकिङ्ग सेवा केन्द्र सञ्चालन गर्दै आइरहेको जनाएको छ ।