हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई, संस्कृति र पर्यटन नीति बनाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतिनिधिसभा मातहतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले विभिन्न धर्मावलम्बीको आस्थासँग जोडिएका मठ, मन्दिर, गुम्बा, चैत्य र चर्च निर्माणमा केकति सहयोग गर्ने भन्नेबारे तीन तहका सरकारबीच समन्वय र मापदण्ड तर्जुमाको खाँचो औँल्याए ।

बैठकमा नेपाल पर्यटन बोर्डको कार्यसम्पादन, विद्यमान समस्या र समाधानका उपायबारे छलफल भएको थियो । मन्त्री पाण्डेले भने, “पर्यटन बोर्ड पर्यटन क्षेत्रको थिङ्कट्याङक हो । पूर्वाधारभन्दा पर्यटन प्रवद्र्धनमा यो केन्द्रित छ । अरु क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि ‘हुन्छ भन्ने तर चित्त बुझाउन नसक्ने’ प्रवृत्तिले काममा बाधा पुर्‍याइरहेको छ ।”

बोर्डले आफूलाई गतिशील तुल्याउने र प्रतिफलको मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकतामा जोड दिँदै तीन तहका सरकारको सहयोग र समन्वयमा आफ्नो कार्य जिम्मेवारीको प्राथमिकतासम्बन्धी प्राथमिकीकरण गर्न मन्त्री पाण्डेले सुझाव दिए ।

मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेयले मुलुकको पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने गाउँ तहदेखि केन्द्रीय सरकारसम्मका प्रतिनिधिले जवाफदेही भएर अतिथिको सेवा र सत्कारमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने,“पर्यटकको सङ्ख्याभन्दा दिगो र गुणस्तरीय पर्यटक भित्र्याउन लगानी बढाउनुपर्छ । काठमाडौँ, पोखरा र चितवनमा सीमित पर्यटकलाई अरु स्थानमा पुर्‍याउन यातायात, होटललगायत भौतिक पूर्वाधार तथा अध्यागमन र गुणस्तरीय खानपिनमा सुधारको खाँचो छ ।”

पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशीले देशको पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्य जिम्मेवारी रहेको बोर्डको रहेको भन्दै कोभिड–१९ पछि खस्किएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटन आगमनका हिसाबले ९६ प्रतिशत पुनप्र्राप्ति भएको दाबी गरे ।

उनले भारतको अयोध्यासहित विभिन्न स्थानमा नेपालको पर्यटन प्रवद्र्धनका लागि सूचना केन्द्र स्थापना, सहासिक पर्यटन गन्तव्यको पहिचान गर्दै गुणस्तरीय पर्यटन भित्र्याउन विभिन्न कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिए ।

यसअघि बैठकमा सदस्यहरूले नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्ने वैदेशिक रोजगारी र अध्ययन गर्न जानेलाई बोर्डले प्रचारप्रसारका लागि प्रशिक्षित गराउनुपर्ने, भारत र चीनलाई लक्षित गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले देशको आम्दानीको ठूलो स्रोत पर्यटन भएकाले बोर्डलाई परम्परागत ढङ्गबाट नभई गुणात्मक पर्यटक भित्र्याउन नयाँ गन्तव्यको खोजी र रणनीति बनाउन सुझाव दिए ।

सदस्यहरूले तराई मधेसका गढीमाई र सिम्रौनगढ केचनाकवलबाट शुल्लाफाँटासम्मका क्षेत्र पर्यटकीय गन्तव्य रहेकाले गुरुयोजना बनाएर प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा काम गरिएको खण्डमा नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको धारणा राखे ।

सभापति राजकिशोर यादवले अर्थतन्त्रको मुख्य हिस्सा ओगटेको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाउन ढिलाइ गर्न नहुने विचार प्रकट गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *