स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
सिरहा । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा स्थिरता एवम् स्थायित्व कायम गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार गठन भएको बताएका छन् ।
सिरहाको लहानस्थित नगरपालिकाको सभाहलमा आज आयोजित १६ औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरतासहित देशलाई विकासको गतिमा अघि बढाउने सङ्कल्पसहित वर्तमान सरकार गठन भएको बताए ।
“सत्तामा पुग्नमात्र वर्तमान सरकार गठन भएको होइन । २०४६ सालपछि छोटो समयमा सरकार परिवर्तन हुँदा जनताको इच्छा र कामना पूरा हुन सकेन । साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो, सोचेअनुरूपको विकास भएन । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसार नै वर्तमान सरकार बनेको हो”, उपप्रधानमन्त्री सिंहले भने, “त्यसैले यो सरकारले पूरा अवधिसम्म अगाडिको सरकारले गर्न नसकेको र अधुरा काम गर्नेछ ।”
उपप्रधानमन्त्री सिंहले ठूलो सङ्घर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै प्राप्त अधिकारलाई जिम्मेवारपूर्ण तरिकाले संस्थागत गरी जनता र राष्ट्रको चाहनालाई केन्द्रविन्दुमा राखी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले बिगिँ्रदै गएको अर्थतन्त्रलाई वर्तमान सरकारले लयमा ल्याउने प्रयास गरिरहेको पनि बताए ।
कार्यक्रममा संविधानसभा सदस्य तथा कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले तराई मधेसको जीवनरेखाका रूपमा रहेको १३ वर्षदेखि निर्माणाधीन अधुुरो कमला पुल निर्धारित समयमै सम्पन्नताका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी मधेस प्रदेशसभा सदस्य ललितादास विद्रोहीले विकास निर्माणका काममा सबै पार्टी र जनप्रतिनिधि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि १४औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा तथा संशोधित आय र व्ययको अनुमानका आधार योजना प्रस्तुत गरेका थिए ।